भर्खरै :

‘राजनीतिमा गलत मान्छे परे देश बर्बाद हुन्छ’

भक्तपुर, ९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा शैक्षिक वर्ष २०७८÷७९ मा ख्वप कलेजमा एमबीएस तहमा भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष रोहितले सरकारको भरमा मात्र केही नहुने, जनता आफै सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै भक्तपुरका सचेत जनताको अगुवाइमा ख्वप कलेजहरू स्थापना भएको बताउनुभयो ।
भक्तपुरप्रति हेर्ने विगतदेखिको पक्षपातपूर्र्ण दृष्टिकोण अहिले पनि कायम रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।
“हामीमा श्रमलाई माया र सम्मान गर्नुपर्ने भावना हुनुपर्छ । पेशाले मान्छेको स्वभाव र विचार निर्धारण गर्न मद्दत गर्छ”, उहाँले भन्नुभयो ।
जुनसुकै विषय अध्ययन गरे पनि राजनीतिक विषयमा जानकार हुनुपर्नेमा जोड दिँदै अध्यक्ष रोहितले भन्नुभयो, “गलत व्यक्ति राजनीतिमा आए देश बर्बादको स्थितिमा पुग्ने खतरा भएकोले देश र जनताप्रति इमानदार एवम् असल भावना भएका व्यक्तिहरू राजनीतिमा आउनु आवश्यक छ ।”
उहाबँले भन्नुभयो, “हामीमा राजनीतिक सचेतता हुनुपर्छ । राजनीतिक सचेतताको अभावमा सही र गलत छुट्याउने क्षमताको अभाव हुन्छ ।
असल शिक्षा र सही नेतृत्वको कारण चीन विश्वको महाशक्ति बन्न सफल भएको र गरिबी निवारणमा चीनले आश्चर्यजनक प्रगति गरेको धारणा अध्यक्ष रोहितले व्यक्त गर्नुभयो ।
“विद्यार्थीहरू अनुशासित हुनुपर्छ । विद्यार्थीमा देशभक्तिको भावना हुनुपर्छ । जहाँ गए पनि, जुनसुकै पेशा रोजे पनि इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने भावना हुनुपर्छ । देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावना भएका मानिसमा कहिल्यै निराश हुनुपर्ने स्थिति आउने छैन”, उहाँले भन्नुभयो ।
ठूला पार्टीका बुद्धिजीवी र नेताहरूमा संरा अमेरिकाप्रतिको दृष्टिकोण गलत रहेको धारणा राख्दै उहाँले एमसीसीले नेपालको हित नगर्ने दाबी गर्नुभयो ।
“ख्वप विश्वविद्यालय स्वीकृति भएमा रु. १५ लाखमा एमबीबीएस पढाउन सकिन्छ । आफ्नो नाफा गुम्ने खतराको कारण निजी लगानीकर्ताहरूको दबाबमा सरकारले ख्वप विश्वविद्यालय स्वीकृति नदिएको हो”, उहाँले स्पष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यसाथ भक्तपुर नगरपालिका अगाडि बढिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा दिने उद्देश्यका साथ अगाडि बढिरहेका छौँ । हाम्रा विद्यार्थीहरू २१ औँ शताब्दीका चुनौती सामना गर्न सक्षम हुनेछन् ।”
प्रमुख प्रजापतिले ख्वप कलेजले व्यवहारिक शिक्षामा जोड दिई देश र जनतामा समर्पित नागरिक बनाउन सहयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ख्वप कलेज नाफाको लागि सञ्चालित कलेज होइन । भक्तपुर नगरवासीले तिरेको करबाट ख्वप कलेजहरू सञ्चालित छन् । कलेजका हरेक गतिविधिको नगरवासीले सूक्ष्म तरिकाले अध्ययन गरिराखेको हुन्छ ।”
आर्थिक अभावको कारण उच्च शिक्षाबाट बन्चित हुननपरोस् भनेर नै भनपाले रु. ५ लाखसम्मको सस्तो ब्याज दरमा शैक्षिक ऋणको व्यवस्था गरेको र गत आर्थिक वर्षमा ११९ जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराएको प्रमुख प्रजापतिले जानकारी गराउनुभयो ।
“नेमकिपाका अग्रजहरूले विद्यालयहरू स्थापना गर्नमा जोड दिएकै कारण आज भक्तपुर शिक्षाको गन्तव्यस्थल बन्दै गइरहेको छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
एमसीसी सम्झौताले देशको सार्वभौमिकतालाई अङ्कुश लगाउने र उपनिवेश बनाउने भएकोले नै नेमकिपाले देशभर एमसीसीको विरोधमा जुलुस र विरोधसभा भइरहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले स्पष्ट पार्दै भन्नुभयो, “जनताको भावनालाई ठेस पुग्ने काम भनपाका जनप्रतिनिधिले गर्नेछैनन् । सर्तसहितको अनुदान हामीलाई स्वीकार्य हुनेछैन ।”
“संविधानको भावना, संवैधानिक मूल्य मान्यता तथा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्ति गर्नु गलत छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपमेयर एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाउने उद्देश्यअनुसार भक्तपुर नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा विद्यार्थी अनुशासित होऊन्, गर्व गर्नलायक होऊन् ।”
ख्वप मा.वि.का प्राचार्य प्रकाशकुमार श्रेष्ठले कलेजको प्रगतिमा विद्यार्थी र संस्थाको उत्तिकै भूमिका हुने धारणा राख्दै विद्यार्थीमा ऊर्जाशील भावना हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य एवम् एमबीएस कार्यक्रमका इन्चार्ज रूपक जोशी र बीबीएम कार्यक्रमका इन्चार्ज सुनिल सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *