भर्खरै :

विश्व पर्यटन दिवसमा सांस्कृतिक गुरूहरूको सम्मान

भक्तपुर, ११ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले सांस्कृतिक धरोहरहरूको सीप, कला र अनुभवको कदर गर्नु नै गुरुहरूको सम्मान हो भन्नुभएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सोमबार आयोजित सांस्कृतिक गुरुहरूको सम्मान तथा स्थानीय पथ प्रदर्शकहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरूको अनुभव, ज्ञान, कला र सीप नयाँ पुस्तामाझ पु¥याउन लिपिबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विदेशी शक्ति राष्ट्रहरूले अरू देश या ठाउँको भित्री रहस्य या गूढ कुरा थाहा पाएरै आक्रमण गर्ने हुँदा पथप्रदर्शकहरूले बाह्य पर्यटकहरूलाई देशको सेना, ब्यारेक, हातहतियार तथा आन्तरिक विवादबारे भन्न नहुनेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष रोहितले यहाँको कला, सीप विदेशीलाई सिकाएर हाम्रो मौलिक सम्पदा नजोगिने पनि प्रस्ट पार्नुभयो ।
राजनीतिशास्त्र अध्ययन नगर्ने सांसद, मन्त्री र नेताहरूले आफ्नो काम, कर्तव्य र जिम्मेवारी थाहा नभएर देशमा राजनीतिक सङ्कट र अन्योल देखिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेताहरूले राजनीतिक सिद्धान्त र विचारभन्दा लोभलालच र पैसा बाँडेर कार्यकर्ता जिताउने कार्यले देशमा समस्या थपिएको हो ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले लामो समयसम्म सांस्कृतिक क्षेत्रमा निरन्तर सेवा गरिरहेका गुरुको कदर जनता र नपाबाट हुनु स्वागतयोग्य छ भन्नुभयो ।
कला, संस्कृति, भाषा र साहित्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने गुरुहरूको सीप, कला, अनुभव र ज्ञान देश र समाजकै सम्पत्ति हो, यसको आवश्यकता र महत्वबारे सुसूचित पार्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु समयको माग हो, उहाँले भन्नुभयो ।
प्रदेश सांसद गोसाईले भन्नुभयो, “नृत्य, नाचगान र सङ्गीतको कलालाई लिपिबद्ध गर्न सके कला–संस्कृतिले जीवन्तता पाउँछ र नयाँ पुस्ताले सिक्न पाउँछ ।”
इतिहासकार एवं संस्कृतिविद् पुरूषोत्तमलोचन श्रेष्ठले वैदिककालदेखि गुरु–शिष्य परम्परा रहेको चर्चा गर्दै सङ्गीत, नाचगान, वाद्यवादनका गुरुहरू कलेजका प्राध्यापकहरूसरहका गुरुहरू हुन् भन्नुभयो ।
भक्तपुर प्राचीन सम्पदाको खुला सङ्ग्रहालय हो, यहाँको सांस्कृतिक सम्पदा कायम गर्न भनपा लागिपरेको छ, यहाँका मूर्तिहरू जुनसुकै देशको सङ्ग्रहालयमा पुगे पनि फिर्ता ल्याउन सकिन्छ, उहाँले भन्नुभयो ।
सम्पदास्थल जगनाथ क्षेत्रको अध्ययन, अनुसन्धान र अन्वेषण भइरहेको उल्लेख गर्दै उहाँले ख्वप कलेजमा संस्कृति विषयको अध्ययन गर्ने वातावरण मिलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले सांस्कृतिक नगरको सम्पदा संरक्षण र जीवन्ततामा सांस्कृतिक गुरुहरूको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।
सम्पदा र संस्कृतिमा धनी पर्यटकीय नगर भक्तपुरलाई आर्थिकरूपले सबल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उपप्रमुख जोशीले सभ्य र सुरक्षित नगर बनाउन नपा प्रयासरत छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवं भनपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक गुरुहरूकै कारण यहाँ नाचगान र वाद्यवादनले जीवन्तता पाएको हो भन्नुभयो ।
उहाँले पढाइको प्रमाणपत्र नभए पनि सीप, ज्ञान, अनुभवको आधारमा सांस्कृतिक गुरुहरू विश्वविद्यालयस्तरका गुरुहरू हुन् भन्नुभयो ।
नपाले पुराना सम्पदाहरू जीर्णोद्धार र पुनःनिर्माण गरी संरक्षण गरिरहेको उल्लेख गर्दै उहाँले मौलिक सम्पदालाई जीवन्तता दिन सांस्कृतिक गुरुहरूको योगदान उल्लेख्य छ भन्नुभयो ।
सम्पदा संरक्षणमा स्थानीय जनताको सहयोग महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “जनताकै सहयोग र श्रमदानबाट बनेको सम्पदा बलियो र भरपर्दो हुन्छ, आफ्नो ज्ञान, सीप, अनुभव आफ्नै देश र जन्मभूमिको निम्ति प्रयोग गर्नुपर्छ ।”
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रमको आवश्यकताबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले सांस्कृतिक गुरुहरूलाई सम्मान गर्नुभएको थियो ।
पथ प्रदर्शकहरूलाई बाग्मती प्रदेश सांसद गोसाईले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सम्मानित हुने सांस्कृतिक गुरुहरूमा भनपा वडा नं. १ का गोविन्द भुजु र विकुबहादुर दुवाल, भनपा वडा नं. २ का विष्णुभक्त सुवाल र लक्ष्मीभक्त कुस्मा, वडा नं. ३ का लक्ष्मीप्रसाद मानन्धर र गणेशबहादुर त्वायना, वडा नं. ४ का मङ्गलाल ग्वाछा र लक्ष्मीभक्त घेमोसु, वडा नं. ५ का रामलाल माक र रत्नभक्त ध्वजु रहनुभएको छ ।
त्यसैगरी वडा नं. ६ का विष्णु सुवाल र विष्णुभक्त सिजख्व, वडा नं. ७ का दिलबहादुर त्यात र इन्द्रबहादुर लाखा, वडा नं. ८ का बुद्धिसागर प्रजापति र रामभक्त गणेजु, वडा नं. ९ का विष्णुभक्त कुसी र मानबहादुर च्वलेख्व र वडा नं. १० का हरिभक्त मगजु र शिवभक्त वनमाला पनि सम्मानित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *