भर्खरै :

रूख भाँच्चिएर करेन्ट लाग्दा दुई घाइते

भक्तपुर, ११ भदौ । चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ्ग वडा कार्यालय जाने बाटो सैनिक शिक्षालय खरिपाटी ब्यारेक नजिक सडक छेउमा रहेको विद्युत् लाइनमाथि सैनिक इलाकामा रहेको रूख भाँच्चिएर सोमबार करेन्ट लागी दुई जना किशोरी गम्भीर घाइते भएका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ५ निवासी १५ वर्षीया श्रद्धा बाटा र नुवाकोट त्रिशुली घर भई हाल चाँगुनारायण नपा वडा नं. ५ बस्दै आएकी अनिशा खड्का (अन्दाजी वर्ष १५) करेन्टबाट घाइते भई भक्तपुर अस्पतालमा उपचारार्थ छन् । करेन्टको झट्काबाट बेहोस भएका किशोरीहरू अहिले खतरामुक्त रहेको चिकित्सकको भनाइ छ ।
सैनिक शिक्षालयबाट छालिङ्ग वडा कार्यालय जाने उक्त बाटोमा सैन्य इलाकामा ठूलठूला रूखहरू अव्यवस्थित छन् । यसभन्दा अगाडि पनि उक्त स्थानमा रूख ढलेर करेन्टको कारण एक व्यक्तिको मृत्यु भइसकेको छ ।
सैनिक इलाकामा रहेका पूराना रूखहरू समयै काट्न र बाटोको मापदण्डअनुसार जमिन जोड्न छालिङ्गवासीले सैनिक शिक्षालयमा पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता गरेको जनताको गुनासो छ ।
विद्युत् प्राधिकरणले पनि अव्यवस्थित ढङ्गले पोलमा नाङ्गा तार राख्ने र लच्किएर आधा ढल्केको पोल सिधा नगरी बेवास्ता गरेको कारण उक्त बाटोमा अझ गम्भीर दुर्घटना हुनसक्ने आशङ्का छ ।
छालिङ्गका जनताका अनुसार नेपाल विद्युत् प्राधिकरण र सैनिक शिक्षालय खरिपाटीको लापरबाहीको कारण दुर्घटना हुन पुगेकोले बिरामीको सम्पूर्ण उपचार खर्च र क्षतिपूर्ति लापरबाही गर्ने नेपाल विद्युत् प्राधिकरण र सैनिक शिक्षालय खरिपाटीले व्यहोर्नुपर्ने स्थानीयको मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *