भर्खरै :

अमेरिकामा क्युवामाथिको नाकाबन्दीविरोधी अभियानले गति लिँदै

कनेक्टिकट, (टेलिसुर) । संरा अमेरिकाका विभिन्न राज्यमा संरा अमेरिकाले छिमेकी देश क्युवामाथि विगछ ६ दसकदेखि लगाउँदै आएको एकपक्षीय नाकाबन्दीको विरोधको अभियानले गति लिन थालेको छ ।
ग्लोबल नो इम्बार्गो क्युवा मुभमेन्टले सोमबार जनाएअनुसार संरा अमेरिकाले समाजवादी व्यवस्थासहितको क्यारिबियाली देश क्युवामाथि अत्याचारपूर्ण तवरमा थोपरिएको नाकाबन्दीको विरोध अभियानमा अमेरिकाका थप राज्य र सहरबाट मानिसहरू जोडिने क्रम बढेको छ ।
पहिलेदेखि गतिविधि भइरहेका शिकागो, डेट्रोइट, मिनियापोलिस, क्लेभल्यान्ड, न्युयोर्क, बोस्टनजस्ता सहरका अतिरिक्त उत्तरपूर्वी कनेक्टिकट राज्यको न्यू ब्रिटेनलगायत तटीय सहरहरूमा पनि क्युवामाथिको नाकाबन्दीविरुद्धका प्रदर्शनहरू आयोजना भएका छन् ।
“पहिले मानिसहरूले बुझेपनि आवश्यक महसुस गरेका थिएनन् र अहिले यस्ता विषयका गतिविधिहरूमा अमेरिकीहरूको सहभागिता बढ्न थालेको छ ।” – न्यू ब्रिटेनको नाकाबन्दीविरोधी समूहका नेता जोस ओरोले पे्रन्सा ल्याटिना समाचार संस्थासित भनेका छन् ।
त्यस्ता किसिमको गतिविधिको सुरुवात भने विश्वविद्यालयका प्रगतिशील विद्यार्थी समूहहरूले गरेका थिए, ती विद्यार्थीमध्ये धेरैजना ल्याटिन अमेरिकी मूलका थिए । ओरोका अनुसार अहिले अमेरिकी नागरिकहरूकै बीचमा अन्यायमा परेका विश्वका विभिन्न देश र जनताहरूप्रति ऐक्यबद्धता जनाउनुपर्छ भन्ने चेतना वृद्धि भएको ओरोको दावी छ । त्यससँगै अमेरिकी सहरहरूका ऐक्यवद्धताका गतिविधिहरू बढ्न थालेका छन् ।
सेप्टेम्बर २६ का दिन न्यू ब्रिटेनमा भएको सवारी ¥यालीमा क्युवाली झन्डासमेत राखेर १८ वटा गाडी सामेल थियो । त्यसबाहेक धेरै जना वक्ताले आर्थिक नाकाबन्दी र मानव अधिकारको हननको सम्बन्ध प्रस्ट हुने मन्तव्य राखेका थिए ।
अमेरिकी सहरहरूमा क्युवामाथिको अमेरिकी क्रुर नाकाबन्दीलगायत विभिन्न विषयमा ऐक्यबद्धता अभियानहरूको विस्तार उत्साहजनक रहेको त्यस क्षेत्रको क्युवा ऐक्यबद्धता समूहका नेता हेनरी लेवनडोर्फले बताए ।
उक्त ऐक्यबद्धता सवारी ¥याली तथा सभामा प्युर्टोरिकन मूलका चर्चित सङ्गीतकार तथा सामाजिक अभियन्ता जोयल साँचेज तथा ग्लोबल नो इम्बार्गो क्युवा मुभमेन्टका दुई सदस्यहरू पनि वक्ताका रूपमा रहनुभएको थियो ।
सभामा वक्ताहरूले कोभिड–१९ को महामारीको अवधिमा क्युवाली चिकित्सा ब्रिगेडको सहयोगात्मक अभियान, क्युवाले आफ्नै प्रयासमा खोपहरूको विकास गरेको र बालबालिकासहित अहिले जनसङ्ख्याको ठुलो भागलाई खोप लगाइसकेको र विभिन्न छिमेकी देशहरूलाई समेत कोभिड–१९ विरुद्ध लड्न क्युवाले पु¥याइरहेको सहयोगबारे चर्चा गरेका थिए ।
जोस ओरोका अनुसार अक्टोबर महिनाभर कनेक्टिकटका हिस्पानिक संस्कृति समूह लगायत संस्थाले क्युवा र ल्याटिन अमेरिकी देशहरूप्रति ऐक्यवद्धता जाहेर गर्ने ठूला सभा तथा सांस्कृतिक गतिविधिहरू गर्न गइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *