भर्खरै :

कोप–२६ को तयारी

आगामी अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्यान्डको ग्लासग्लो सहरमा हुने जलवायु अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को संसारका देशहरू तयारीमा लागेका छन् । जलवायु परिवर्तनको विषयमा अभियन्ता र वैज्ञानिकहरूले निकै अघिदेखि सजग बनाए पनि विशेषतः पुँजीवादी देशको राजनीतिक र आर्थिक क्षेत्रका नेताहरू यसप्रति कहिल्यै गम्भीर भएनन् । उनीहरूले यो विषयलाई हलुका प्रचारबाजीको रूपमा मात्र लिए । वैज्ञानिक र जलवायु विशेषज्ञहरूले पृथ्वीका उत्तरी र दक्षिणी ध्रुव तथा गरिब एवम् विकासशील देशहरूमा जलवायु परिवर्तनले निम्त्याएका चुनौती र समस्याबारे चर्चा गर्दासम्म धनी देशका नेताहरूले यसलाई गम्भीर विषय पनि ठानेनन् । जलवायु परिवर्तनले संसारमा निम्त्याएका समस्या समाधानको निम्ति चालिनुपर्ने कदमबारे उनीहरूले कुनै हतारो गरेनन् । जलवायु परिवर्तनको मूल कारण बनेका कार्बन उत्सर्जन र तापमान वृद्धि समाधान गर्न विकसित तथा पुँजीवादी देशहरू कहिल्यै गम्भीर भएनन् । फलतः पछिल्लो पाँच वर्षमा जलवायु परिवर्तनको प्रभाव गरिब देशमा मात्र सीमित रहेन । युरोप र संरा अमेरिका आफै पनि जलवायु परिवर्तनको प्रभाव भोगिरहेका छन् । आजसम्म आइपुग्दा जलवायु परिवर्तनलाई सस्तो वा झूटा प्रचारबाजी कसैले भन्न सक्ने अवस्था रहेन ।
जलवायु परिवर्तन रोकथामको निम्ति शक्ति देशका राजनीतिक र आर्थिक नेतृत्वले बारम्बार धेरैथरी प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा भने तिनको कार्यान्वयन हुनसकेन । जलवायु सम्मेलनमा गरिने प्रतिबद्धता उधारो वचनबद्धतामा सीमित रह्यो । त्यसकारण समस्या समाधानको दिशातिर जानुभन्दा उल्टो दिशामा अघि बढिरहेको छ । जलवायु परिवर्तनको जोखिम आज प्रत्येकको घर र दैनिक जीवनमा देखिन थालेको छ । जलवायु सम्मेलनमा संसारलाई देखाउन शक्तिशाली र पुँजीवादी देशहरूले गरेका प्रतिबद्धता वास्तवमै कार्यान्वयन भए आफ्नो नाफामा असर पर्ने बुझेर उनीहरूले प्रतिबद्धतालाई देखाउने दाँतमा सीमित राखे । आज त्यसैको परिणाम संसारले भोगिरहेको छ र अवस्थामा कुनै परिवर्तन नभए आगामी दिनमा अझ गम्भीर समस्या भोग्नुपर्ने अनुमान गरिएको छ ।
नेपाल विगतका जलवायु परिवर्तन सम्मेलनमा जस्तै यो वर्षको सम्मेलनमा सहभागी बन्दै छ । नेपालको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले नेपालले सामना गरिरहेका जलवायु परिवर्तनका चुनौतीबारे संसारको ध्यानाकर्षण गर्न जरूरी छ । विशेषतः पृथ्वीको तापमान वृद्धिको कारण संसारकै छाना मानिएको नेपालको हिमाली क्षेत्रमा पारेको प्रभावबारे विश्वसामु उजागर गर्न जरूरी छ ।
त्यस्तै तल्लो तटीय क्षेत्रको आर्थिक र सामाजिक जनजीवनमात्र होइन, उनीहरूको भौतिक अस्तित्वमा समेत जलवायु परिवर्तनले निम्त्याएको खतरा समाधानको निम्ति नेपालले ठूला आर्थिक शक्तिलाई दबाब दिन जरूरी छ । आर्थिक शक्तिहरूले आफ्नो नाफाबाहेक केही पनि नदेख्दा अथवा आफ्नो नाफाको निम्ति सिङ्गो पृथ्वीलाई बेवास्ता गर्दा नै आजको समस्या विकराल बनेको हो । पृथ्वी बाँझो भए मानिसको जीवनको पनि कुनै सुनिश्चितता नभएको तीतो वास्तविकता उनीहरूले बुझ्न सकिरहेका छैनन् । आफ्नो सुविधा र सुखको निम्ति उनीहरूले नेपालजस्ता साना र अल्पविकसित देशहरूको जनजीवनमाथि समेत घातक प्रहार गरिरहेका छन् । त्यसअर्थमा जलवायु परिवर्तनको मूल कारण बनेका धनी पुँजीवादी देशहरूलाई ठेगान लगाउन नेपालले छोड्नुहुन्न ।
जलवायु परिवर्तन वैज्ञानिक समस्यामात्र होइन । यो आर्थिक र राजनीतिक विषय हो । त्यसकारण संसारका राजनीतिक नेतृत्वलाई यस विषयमा गम्भीर बनाएर वास्तवमै कार्यान्वयनको निम्ति कदम चाल्न बाध्य बनाउन नेपालजस्ता जलवायु परिवर्तनको प्रभाव भोगिरहेका देशहरूले बोल्न र आफूजस्ता देशहरूलाई एकजुट गर्न अपरिहार्य बन्दै गएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *