भर्खरै :

नेमकिपामा निःस्वार्थता र सत्यताको बल

“सय जनाको समूहमा ९९ जना मूर्ख र एकजना विद्वान भए त्यही विद्वानको कुरा सुन्नुपर्छ ।”
मुसोलिनीको यो भनाइ निकै मननीय र शाश्वत सत्यको एकदमै नजिक भएझैँ लाग्छ ।
हाम्रा ठूला पार्टीका शीर्षस्थ नेताहरू राष्ट्रघाती भइआएका छन् । महाकाली सन्धिअघि र त्यसपछि भारतसँग भएका हरेक सन्धि सम्झौताहरू असमान भई ती सबैमा हाम्रो देश ठगिएको कुरा जगजाहेरै छ । जनताका मौलिक हकहरू सधैँ हनन भएका छन् । भ्रष्टाचार सधँै बढेको बढ्यै छ । तर ती सबैमा सत्ताभित्र र बाहिर रहेका सबै पार्टीको समर्थन, उदासीनता र मिलेमतो भएको देखिन्छ । यता, जुनसुकै अवस्थामा पनि सदैव देश र जनताको पक्षमा रहेर काम गर्ने सच्चा कम्युनिस्ट राजनीतिक पार्टी एउटा नेमकिपामात्र भएको ठहरिएको छ । ऊ जसरी पनि चुनाव जित्ने पक्षमा छैन । जसरी पनि सरकारमा गएर मन्त्री हुने पक्षमा छैन । ऊ सस्तो प्रचारबाजी र ढाँटछलमा पनि विश्वास गर्दै गर्दैन । थोरै सिट जितेको पार्टी भए पनि पटक–पटक मन्त्री पद दिँदा प्रत्येक पटक अस्वीकार गर्दै आएको निःस्वार्थ पार्टी पनि उही नै हो ।
पछिल्लो समयमा देशका ठूला भनाउँदा पार्टीहरूको स्वार्थपूर्ण घीनलाग्दो व्यवहारले सीमा नाघेको छ । यसरी आन्तरिक राजनीति कमजोर भएको बेलामा, हाम्रो सार्वभौमसत्ता चकनाचुर पार्ने खालको एमसीसी सम्झौता तुरुन्त लागू गर्न भारत र अमेरिकाको दबाब बढ्न थालेको छ । यस कुरामा ठूला भनाउँदा पार्टीका कथित ठूलाबडा नेताहरू चुइँक्क बोलेका छैनन् । नेमकिपाले मात्र गत भदौ २१ देखि पर्चा वितरणसहित एमसीसी विरोधका पचासभन्दा बढी कार्यक्रमहरू गरिसकेको छ । यसमा जनताको व्यापक समर्थन रहेको देखिन्छ । तर, यस्ता कुरालाई ठूला मिडियाले समाचार बनाउन रुचाएका छैनन् । तर, ‘सानो पार्टी भए नेमकिपामा निःस्वार्थता र सत्यताको बल छ’ भन्ने कुराचाहिँ सबैले महसुस गरिसकेका छन् । हुन पनि, नेमकिपाका एक्ला केन्द्रीय सांसद प्रेम सुवालले सधैँ सदनमा देश र जनताका समसामयिक विषयमा कुरा राख्नुहुन्छ । यो कुरालाई लोकप्रिय दैनिक पत्रिका कान्तिपुरले २५ असोजको अङ्कमा ‘सधैँ सवाल सोध्ने सुवाल’ शीर्षकमा समाचार बनाउने ‘साहस’ गरेको देखियो । यसैका आधारमा पनि, आखिर नेमकिपामात्र जनताको सच्चा पार्टी रहेछ भन्ने कुरा सबै जनताले बुझ्न थालेका छन् । नबुझेका कोही भए, तिनले पनि बिस्तारै बुझ्दै जानेछन् ।
वर्तमान सन्दर्भमा ‘सय जनाको समूहमा ९९ जना मूर्ख र एकजना विद्वान भए त्यही विद्वानको कुरा सुन्नुपर्छ’ भन्ने कुरा कसैले पनि नबिसौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *