भर्खरै :

तःमुंज्या कामदार जनताको दबु

एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्याको तयारीबारे ग्वसाखलः (आयोजक समिति) का अध्यक्ष गणेशराम थुसासित ‘मजदुर’ दैनिकका प्रतिनिधिले गरेको कुराकानी
मजदुर प्रतिनिधिः सर्वप्रथमतः एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) को पूर्ण सफलताको कामना छ । तः मुंज्याको तयारी कति पूरा भएको छ ?
गत असोज २ गते नेपालभाषा साहित्य तःमुंज्याको ग्वसाखलः (आयोजक समिति) गठनपश्चात् प्रचार, आर्थिक, साहित्यिक, सांस्कृतिक, स्वयम्सेवक अतिथि सत्कार तथा महिला, प्राविधिक उप–समितिहरू गठन भई उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् । विशेषतः भनपा ६ वडामा १० स्थानमा स्थानीय महिलाहरूको भेला भयो । साहित्यिक उपसमितिबाट साहित्यकारहरूलाई चिठी पत्र दिने, साहित्यको विषयवस्तुबारे प्रशिक्षण र साहित्य गोष्ठी आदि गरिएका छन् । सांस्कृृतिक उपसमितिबाट विभिन्न सांस्कृतिक संस्थाहरूबाट प्रस्तुतिको लागि अनुुरोध, गीत सङ्कलन, लसकुस नृत्य व्यवस्थाको कार्य भइरहेको छ । आर्थिक समितिबाट आर्थिक सहयोगका लागि विभिन्न सम्बन्धित सङ्घ संस्था, उद्योग–व्यवसाय, व्यक्तिमा पत्राचार गर्नुका साथै आर्थिक सङ्कलन कार्य भइरहेको छ । मञ्च व्यवस्थापन समितिले पनि पटक–पटक छलफल गरेर मञ्च निर्माण कार्य जारी राखेको छ ।
प्रचार समितिले रेडियो, पत्रपत्रिका तथा टीभीबाट प्रचारप्रसार गर्नुका साथै, ठाउँ–ठाउँमा फ्लेक्सहरू राख्ने पत्रपत्रिकामा सूूचनामूलक, विज्ञापन दिन आइरहेको छ, प्राविधिक समितिले जिम्मेवारीअनुसार तयारी गरिरहेको छ ।
 मजदुर प्रतिनिधिः छोटो अवधिभित्र तःमुंज्याको तयारी गर्नुपर्ने जिम्मेवारी यहाँहरूलाई परेको छ । यस क्रममा के कस्ता समस्या आए र कसरी समाधान गर्दै हुनुहुन्छ ?
हो, छोटो समयमा धेरै काम गर्नुपरेको छ । अर्कोतिर कोभिड–१९ कै कुरा उठिरहेको छ । त्यसको असर आर्थिक सहयोग सङ्कलनमा परेको छ । तापनि तःमुंज्या ‘हाम्रो हो’ ‘आफ्नो हो’ भन्ने भावनाले काम अघि बढिरहेको छ । ग्वसाखलःलाई आफ्नै सम्झेर सबैले आ–आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिरहेका छन् । भौतिक सहयोग पनि भइरहेको छ । विगतमा तःमुंज्याको जिम्मेवारी पाएका साथीहरूबाट अनुभवका आधारमा सहयोग भइरहेको छ भन्ने तःमुंज्याका साथीहरूबाट आवश्यक सरसल्लाह र निर्देशन भइरहेकोले समस्या समाधानमा सहयोग मिलिरहेको छ ।
मजदुर प्रतिनिधिः यसपालिको तःमुंज्यामा राष्ट्रिय तहमा चर्चित के कति साहित्यिक र बौद्धिक व्यक्तित्वहरूलाई आमन्त्रण पठाउनुभएको छ ? को–को आउँदै हुनुहुन्छ ?
प्रमुख अतिथिको रूपमा नेमकिपाका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँज्यू र अन्य अतिथिमा सांसद प्रेम सुवाल, भक्तपुर नगर प्रमुख सुनिल प्रजापति, वरिष्ठ पत्रकार भैरव रिसाल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा रतन भण्डारी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा. सर्वज्ञभक्त मल्ल, गौरीबहादुर कार्की, प्रेमसिंह बस्न्यात, चिकित्सा क्षेत्रका, डा. विश्वबन्धु शर्मा, डा. अरुणा उप्रेती, डा. राजेन्द्र कोजू, डा. पुकारचन्द्र श्रेष्ठ, डा. सरोज धिताल, डा. सुमित्रा गौतमलगायत हुनुहुन्छ । त्यस्तै डा. रामप्रसाद ज्ञवाली, सुलोचना मानन्धर, प्रतिसरा सायमी, नरेन्द्र प्रसाई, इन्दिरा प्रसाईलगायत साहित्यकारहरू आउँदै हुनुहुन्छ ।
मजदुर प्रतिनिधिः तःमुंज्या भव्यरूपमा सफल गर्न ठूलो खर्च लाग्ने गरेको अनुभव छ । यसपालि आर्थिक सहयोग सङ्कलन के कसरी अगाडि बढिरहेको छ ?
तःमुंज्या भव्य र सभ्यरूपमा सफल पार्न आर्थिक पक्ष महत्वपूर्ण हुनेरहेछ । महँगीसँगै आर्थिक खर्च बढी लाग्ने एकातर्फ छ भने अर्कोतर्फ कोभिड–१९ को कारण सोचेझैँ सहयोग नउठ्ने स्थिति देखापरेको छ । तापनि, तःमुंज्या भक्तपुरवासीको सांस्कृतिक पर्वजस्तै भइसकेको छ । भनपा वडा नं. ६ क्षेत्रभरि घरदैलो गरेका छौँ र वडावासीले माया गरेर आ–आफ्नो गच्छेअनुसार आर्थिक, भौतिक सहयोग प्रदान गरेका छन् । उद्योग कल–कारखाना व्यापारिक क्षेत्र, विद्यालय, कलेज आदि क्षेत्रबाट पनि धेरै थोरै सहयोग प्राप्त भइरहेका छन् । यो सकारात्मक पक्ष हो । त्यस्तै व्यापारी साथीहरूले पनि तःमुंज्याको लागि भनेपछि कम मूल्यमा सामग्री दिएर सहयोग गरिरहेका छन् ।
 मजदुर प्रतिनिधि : नेपालभाषा साहित्य तःमुंज्या एउटा राष्ट्रिय स्तरकै साहित्यिक र बौद्धिक सम्मेलन हो । यस वर्ष तःमुंज्याको प्रचारप्रसारका लागि तपाईँहरूले के गर्ने योजना राख्नुभएको छ ?
प्रचार प्रसारमा विशेष जोड दिने उद्देश्यले नै रेडियो, टीभी, पत्रपत्रिकामार्फत प्रचारप्रसार गर्नुका साथै ठाउँ–ठाउँमा फ्लेक्स (झन्डा)राख्ने कार्य भइरहेको छ । सबै पत्रकार मित्रहरूलाई पत्र र फोनमार्फत निम्तो दिने काम भइरहेको छ । कथंकदाचित कुनै महानुभावलाई नपुगेको भए यसै अन्तर्वार्तामार्फत पनि उपस्थिति र सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।
मजदुर प्रतिनिधिः भौतिक उपस्थितिमा हुने तःमुंज्याले कतै सङ्क्रमण फैलाउनमा पनि योगदान गर्ला कि भन्ने आशङ्का पनि छ । सम्मेलनस्थलमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउने योजना के–कस्तो बनाउनुभएको छ ?
कोभिड–१९ को सङ्क्रमणको डरका कारण तःमुंज्या खुलारूपमा गर्ने निर्णय पछि मात्र आएको हो । गत वर्ष ४० औँ नेपालभाषा तःमुंज्या अनलाइन माध्यममा मात्र भएको थियो । अनलाइन माध्यम कोभिड–१९ बाट सुरक्षित गर्न उपयोगी त भयो तर धेरै साहित्यप्रेमीहरू सहभागी हुन पाएनन् । त्यसैले हामीले यस वर्ष नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने गरी भौतिकरूपमा नै सहभागी गराउने सोचेका छौँ । ख्वप कलेजको गेटमा थर्मल गनबाट ज्वरो जाँच गर्ने, मास्क तथा स्यानिटाइजर प्रयोगपछि मात्र भित्रिन दिने हुन्छ । त्यसपछि सामाजिक दूरी कायम गरी सीट प्लानिङ्ग गरी बस्ने व्यवस्था हुन्छ । स्वास्थ्य कक्ष ९ज्भबतिज मभकप० प्रेसर तथा सुगर टेस्ट र एम्बुलेन्सको व्यवस्था गर्ने योजना छ । त्यसका लागि स्थानीय क्षेत्रमा डा. सत्यनारायण सुवालको संयोजकत्वमा डाक्टर, नर्स र ल्यावटेक्निसियनसहितको स्वास्थ्य उपसमिति गठन गरेका छौँ र उहाँहरू तयारी गरेर बस्नुभएको छ ।
मजदुर प्रतिनिधिः अन्तमा, एकचालीसौं नेपालभाषा साहित्य तःमुंज्याबारे थप प्रस्ट पानुपर्ने केही कुरा राखिदिन अनुरोध छ ।
नेपालभाषा साहित्य तःमुंज्या कामदार जनताको साझा दबु हो । तःमुंज्याको उद्देश्य भनेको नै साहित्य र सांस्कृतिकमार्फत कामदार वर्गको उत्थान गर्ने हो । त्यसैले तःमुंज्याले स्थापनाकालदेखि ‘जनता म्वासा भाषा म्वाई’ (जनता बाँचे भाषा बाँच्छ) उद्घोष गरी निरन्तररूपमा जनताको सेवा गर्दै आइरहेको छ । तःमुंज्यामा नेपालभाषाका साहित्य र सांस्कृतिक प्रस्तुतिको मात्र प्रतियोगिता गरिँदै आएको होइन । देशका विभिन्न भाषा–भाषीहरूको साहित्य र मन्तव्यमार्फत देशको समसामयिक विषयमा छर्लङ्ग पार्ने काम भइरहेको छ । देशको राजनीतिक, सामाजिक, आर्थिक, स्वास्थ्य, ज्ञान विज्ञान आदि विषयका विज्ञहरू आमन्त्रण गरेर उहाँहरूको अनुभव, विचार श्रवण गर्ने र गराउने काम भइरहेको छ । देशको सबै भाषा–संस्कृति विकास गर्न तःमुंज्याले बाटो देखाउने काम गर्दै आइरहेको छ । यसर्थ, तःमुंंज्या जनताको साझा दबुको रूपमा विकास भएको छ, भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *