भर्खरै :

सक्वको म राजदास–१०६

कागज र चिनी उद्योगमा चुनको प्रयोग नेपालमा हामी उखुबाट चिनी उत्पादन गर्छौँ । उखु पेलेर आउने झोल अथवा उखुको रसबाट पहेँलो–खैरो रङ्गको सखर बन्छ जसलाई अङ्ग्रेजीमा ब्राउन सुगर भनिन्छ । रुसी भाषामा चिनीलाई साखर भनिन्छ । हामी नेपालभाषामा सखरलाई साख भन्छौँ ।
चुनको प्रयोगबाट नै उखु पेलेर आएको पहेँलो रसबाट सेतो चिनीको दाना निस्किन्छ । त्यसकारण, चिनी उद्योगमा चुनको आवश्यकता अनिवार्य छ । वीरगञ्ज चिनी कारखानामा काम गर्दैगर्दा एकपल्ट म खानी विभागमा गएको थिएँ । कारखानालाई आवश्यक चुन त्यहीँ उत्पादन गर्न वीरगञ्ज चिनी कारखानाको छुट्टै चुन भट्टा थियो । तर, प्राविधिक कारण अथवा कच्चा पदार्थ (चुन ढुङ्गा) को अभावले त्यो चून भट्टा बरोबर बन्द हुन्थ्यो र उद्योगलाई आवश्यक पर्ने चुन धादिङ जिल्लास्थित जोगीमारा चुन उद्योगबाट ल्याइन्थ्यो । उद्योगको भट्टाबाट उत्पादित चुन बढी भएमा बजारमा पनि बिक्री गरिन्थ्यो । वीरगञ्ज चिनी कारखानाको चुन भट्टा आधुनिक तरिकाले ठूलै स्केलमा बनाइएको थियो ।
विश्वभरि उखुबाट निस्कने पहेँलो रङ्गको सखरमात्र होइन अन्य गुलियो खाद्य पदार्थहरूबाट निस्किने रस पनि प्रशोधन गरेर चिनी उत्पादन गर्न चुनकै प्रयोग हुन्छ । नेपाल भारत आदि देशमा हामी उखुबाट चिनी उत्पादन गर्छौँ । तर, युरोपका धेरै देशमा जस्तै रुसमा उखुको उत्पादन हुँदैन । युरोपेली देशहरूमा ज्यादै चिसो हावापानी हुने भएकोले उखुको उत्पादन हुँदैन । उखुको उष्ण हावापानी (ट्रपिकल क्लाइमेट) भएका देश जस्तोः नेपाल, भारत, ब्राजिल, क्युवा, अमेरिकाको दक्षिणी भाग टेक्सास, मेक्सिको आदि देशमा उखुको उत्पादन अत्यधिक हुन्छ । जहाँको वायुको तापक्रम धेरै गर्मी हुन्छ । नेपालको तराई क्षेत्रमा यसकारण अत्यधिक उखु खेती हुन्छ र त्यही उखुबाट हामी चिनी उत्पादन गर्छौँ । नेपाल कच्चा पदार्थको हिसाबले चुन उत्पादनको लागि धेरै धनी छ । तर, हाम्रो देश औद्योगिक नीतिले भनौँ या सरकारी नीतिले गर्दा हामीकहाँ चुन ढुङ्गाका खानीहरू प्रशस्त भएर पनि चाहिने मात्रामा चुन उत्पादन गर्न सकिरहेका छैनौँ । स्थानीय बजारमा चुन किन्न जाँदा चुन पसलमा नेपाली चुनभन्दा बढी भारतीय चुन नै देखिन्छ । नेपाली चुनभन्दा विदेशी चुनकोे दाम बढी पर्छ र ती चुन राम्रोसँग बढी प्रशोधित भएको हुन्छ । किनकि, छिमेकी देश भारतमा चुनका ठूल्ठूला उद्योगहरू आधुनिक प्रविधियुक्त भएका हुन्छन् । चुन उद्योगमा पोलिएको चुन प्रशोधन गर्न पनि आधुनिक प्रविधि अपनाइएको हुन्छ, जुन हाम्रो देशका उद्योगहरूमा छैन । त्यसकारण, चुन पसलहरूमा स्वदेशीभन्दा विदेशी चुनले नै प्रभुत्व जमाइरहेको हुन्छ । यो हाम्रो लागि दुर्भाग्य नै हो ।
विश्वमा उखुबाट चिनी उत्पादन गर्ने देशहरूमा क्युवा र ब्राजिल अग्रस्थानमा छन् । क्युवाको मुख्य आयश्रोत नै उखु, चिनी र सुर्ति हो । क्युवामा उखुजस्तै सुर्ति पनि धेरै उत्पादन हुन्छ । उखु र सुर्ति नै क्युवाको आर्थिक मेरुदण्ड हो । क्युवाको ‘हवाना’ सिगार विश्व बजारमा लोकप्रिय छ । धूमपानका सौखिनहरू क्युवाको ‘हवाना’ सिगार नै सर्वाधिक मन पराउँछन् । युरोपका धनाढ्यहरू क्युवाको सिगार मन पराउँछन् । बेलायतका पूर्वप्रधानमन्त्री सर विन्स्टन चर्चिलको हातमा र ओठमा जहिले पनि सिगार हुन्थ्यो ।
क्युवाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो स्वयं कुनै जमानामा सिगारप्रेमी थिए । उनका सहयात्री कमरेड चे ग्वाभारा पनि साथमा मिलेर सिगार तान्थे । तर, विश्व स्वास्थ्य सङ्गठन (डब्लु.एच.ओ) को आग्रहमा फिडेल क्यास्ट्रोले सिगार तान्न छाडेका थिए । यसको लागि विश्व स्वास्थ्य सङ्गठनले कमरेड फिडेलको ठूलो प्रशंसा गर्दै एक प्रशंसापत्र पनि दिएको थियो ।
एकपल्ट फिडेल क्यास्ट्रोसँग एक अमेरिकी पत्रकारले अन्तर्वार्ताको क्रममा सोधेकी थिइन्, “यदि विश्व शान्तिको लागि फिडेल क्यास्ट्रो र अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको भेट भएको खण्डमा कार्टरले फिडेललाई सँगै बसेर सिगार तान्न आग्रह गरेमा के फिडेल सिगार तान्न सहमत हुनुहोला ?” जवाफमा फिडेल कास्ट्रोले विश्व स्वास्थ्य सङ्गठनसँग सोध्नुपर्छ भनेछन् ।
तर, जिम्मी कार्टरमात्र होइन अन्य कुनै पनि अमेरिकी राष्ट्रपतिसँग क्युवाली नेता क्यास्ट्रोको भेट भएन र अमेरिकाले क्रान्तिकारी क्युवा स्थापना भएदेखि क्युवामाथि निरन्तररूपमा आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । यही नाकाबन्दीले गर्दा अमेरिकाले केही औषधिजन्य पदार्थहरू आयातनिर्यात गरे तापनि क्युवाको चिनी र सिगार आयात गर्दैन । तर, अमेरिकी बजारमा क्युवाली सिगार सजिलै पाइन्छ र धेरै अमेरिकीहरू क्युवाको विश्वविख्यात ‘हवाना’ सिगारको प्रयोग गर्छन् । अमेरिकाले सीधा क्युवाबाट सिगार आयात नगरे पनि युरोपबाट लुकीछिपी ‘हवाना’ सिगार अमेरिकी बजार छिरेको हुन्छ । बेलायतको ‘रोयल टोबाको’ भन्ने कम्पनीले युरोपमा ‘हवाना’ सिगार बेच्ने एकाधिकार पाएको छ । यस व्यापारमा क्युवाली सरकार र ‘रोयल टोबाको’ को आधाआधा शेयर लगानी भएको सुनिन्छ । यही ‘रोयल टोबाको’ डिलर कम्पनीमार्फत अमेरिकालगायत अन्य मुलुकहरूमा क्युवाको सिगारलगायत सुर्तिजन्य उत्पादनको बिक्री वितरण भइरहेको छ । टोबाको सँगसँगै क्युवाको उखु र उखुबाट निस्कने चिनीले पनि क्युवाको अर्थतन्त्र धानिएको छ ।
क्युवा, भारत, ब्राजिलजस्तो गर्मी हावापानी अथवा ट्रपिकल क्लाइमेट नभएको रुस, बेलायत, फ्रान्सजस्ता देशहरूमा चिनी उत्पादनको लागि अन्य खाद्यपदार्थहरू जस्तैः– चुकन्दर (बीट रुट), मकै, आलु, सखरखन्ड, कोदोजस्तो सरगम प्रयोग गर्छन् । रुसमा चिनी उत्पादन गर्न धेरैजसो चुकन्दर (बीट) कै प्रयोग गरिन्छ । चुकन्दरको रस धेरै बैजनी–रातो हुन्छ । यसरी कुनै पनि पदार्थबाट निस्केको गुलियो रस (जुस) लाई सेतो चिनीको दानामा परिवर्तन गर्न विश्वव्यापीरूपमा चुनकै प्रयोग हुन्छ ।
चिनी उत्पादन गर्न सबभन्दा पहिले चिनीको कच्चापदार्थ जस्तैः– उखु, चुकन्दर, मकै आदि चिनी उद्योगमा ल्याएर प्रारम्भिक प्रशोधन गरिन्छ । त्यसपछि, औद्योगिक उपकरणहरूमा पेलेर ती पदार्थहरूबाट गुलियो जुस (रस) निकालिन्छ । यसप्रकार निस्केको जुसमा विभिन्न कसिङ्गर हुन्छ, साथै त्यसमा पी.एच. भन्ने एक प्रकारको मापदण्ड कम भएको अम्लियपन हुन्छ । राम्रो गुणस्तरका चुन पानीमा घोलेर प्रयोग गरिन्छ । पानीमा घोलिएको चुन दूधजस्तो देखिने हुनाले अङ्ग्रेजी भाषामा त्यसलाई ‘मिल्क अफ लाइम’ भनिन्छ । मेसिनमा पेलेर निस्केको गुलियो जुसलाई मिल्क अप लाइम प्रयोग गरेर अम्लियपन हटाइन्छ भने अन्य प्रविधिबाट कसिङ्गरहरू हटाएर चिनीको सेता दाना निकालिन्छ ।
कथंकदाचित चिनी उत्पादन प्रविधिमा चाहिनेभन्दा बढी चुनको प्रयोग हुन गयो भने त्यसलाई कार्बनडाइअक्साइड ग्यास पठाएर क्याल्सियम कार्बोनेटको रूपमा छुटाएर निकालिन्छ । यस प्रकारको क्याल्सियम कार्बोनेट जसलाई छोटकरीमा पी.पी.सी (प्रेसिपिटेटेड क्याल्सियम कार्बोनेट) भनिन्छ । त्यो स्वास्थ्यको लागि हानिकारक नभएको हुँदा चिनीमा केही भाग परे पनि केही खराब हुँदैन । वास्तवमा त्यही पी.पी.सी. भन्ने चुनको पदार्थबाट नै हामीले दैनिक उपभोग गर्दै आएका औषधिजन्य ट्याब्लेट र क्याप्सुलहरू बन्ने हो ।
यसरी औषधि उद्योगहरूमा जस्तै चिनी उद्योगमा पनि चुनको उपादेयता धेरै हुन्छ । हामीले प्रयोग गर्दै आएका सेतो कागज उत्पादन गर्न पनि चुनकै प्रयोग भएको हुन्छ ।
खास कागज बनाउने कच्चापदार्थहरू घाँस, पराल, दाउरा नै हुन् । चिनीबाट निस्कने पदार्थ पनि पहेँलो, रातो, खैरो रङ्गका हुन्छन् । यी सबै रङ्गीन चिजबाट कागज उद्योगहरूमा चुनकै प्रयोगबाट सेतो कागज निकालिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *