भर्खरै :

एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सुरू

भक्तपुर, ३१ असोज । एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम असोज ३१ गते आइतबारबाट ख्वप कलेजको प्राङ्गण देकोचामा सुरू भएको छ । तःमुंज्या कार्तिक १ गते सोमबार सम्पन्न हुँदै छ । तःमुंज्याकोे उद्घाटन आइतबार स्थानीय सांस्कृतिक गुरू कृष्ण सितिखुले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भइरहेको तःमुंज्याको पहिलो दिन अध्यक्ष बिजुक्छेँले कृषि विशेषज्ञ बाबुकाजी भोमी र स्थानीय सांस्कृतिक गुरूहरू कृष्ण सितिखु, न्हुछेकुमार अवाल, हरिभक्त सुवाल, हरिराम सुवाल, तुल्सी शाही र कृष्णप्रसाद दथेपुथेलाई दोसल्ला ओढाई सम्मानपत्रका साथ सम्मान गर्नुभयो । सम्मानित कृषि विशेषज्ञ भोमीलाई नगद रू. २० हजार र सांस्कृतिक गुरू प्रत्येकलाई नगद रू. १० हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि विदेशी सहयोग विशेषगरी पश्चिमा देशका सहयोग सर्तबिना नआउने बताउँदै अमेरिकी सहयोगको नाममा आएको एमसीसी सम्झौताले नेपालको सार्वभौमसत्तामा आँच पुग्ने गरी नेपाललाई संरा अमेरिका र भारतको मातहत राख्न खोजेको बताउनुभयो ।
उहाँले ढिलो चाँडो अत्यन्त बहुमत नेपाली जनता एमसीसीको विरोधमा आउने र शासकहरूले उक्त सम्झौता खारेज गर्न बाध्य हुनुपर्नेछ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने नेमकिपाको नीतिलाई व्यवहारमा उतारिरहेको चर्चा गर्दै नगर प्रमुख प्रजापतिले नगरवासी र नेपाली जनताको सेवाबाहेक भनपाको अर्को कुनै स्वार्थ छैन भन्नुभयो ।
कोभिड –१९ को महामारी सुरू भएदेखि भनपाले नगरवासीको उपचारको लागि डाक्टर नर्सको सेवासहितको निःशुल्क आइसोलेसन केन्द्र सञ्चालन गरेको र महामारी नियन्त्रणको लागि आवश्यक र सम्भव भएका सबै कार्य गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले ख्वप अस्पताल निर्माणको चरणलाई अन्तिम चरणमा पु¥याएर केही रोगको ओपीडीलगायत सेवा सुरु गरिसकेको जानकारी दिनुभयो ।
नगर प्रमुख प्रजापतिले देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजनाको सन्दर्भमा किसानको मुखौटो ओढेर केही किसानविरोधीहरू राजनीतिक पूर्वाग्रहका साथ विरोधमा उत्रेको हुनाले आयोजनाका उपभोक्ताहरू र नगरवासी चनाखो हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले जनविरोधीहरूको गलत हल्लाको पछाडि नलाग्न आग्रह गर्दै योजनामा सबै उपभोक्ताहरूलाई न्याय हुने गरी जग्गा वितरण गर्ने ध्येयले पुनः प्लटिङको काम भइरहेकोले केही समय ढिलो भएको हो भन्नुभयो ।
कार्यक्रममा सीमाविद् डा. बुद्धिनारायण श्रेष्ठले नेपाल भारतबीचको सीमासम्बन्धी समस्या आजपर्यन्त समाधान नहुनुको कारण भारतको विस्तारवादी नियतमात्र नभई नेपाली शासकहरूको आत्मसमर्पणवादी लुखुरे प्रवृत्ति पनि हो भन्नुभयो ।
विशाल भूभाग भएको छिमेकी देश भारतले इलाम जिल्लास्थित पशुपतिनगरमा सीमास्तम्भवारिको नेपालको आधा रोपनी जग्गा हडपेको बताउनुभयो ।
नेपालले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र समेटेर चुच्चे नक्सा बनाए पनि नेपाली शासकहरूको हुतिहारापनका कारण अपेक्षित परिणाम हासिल हुन सकेको छैन भन्नुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले देशको न्यायिक क्षेत्र विकृत भएको, संविधान र कानुनलाई क्षतविक्षत बनाउने र देशलाई अस्तव्यस्त पार्ने काम शासक दलहरूबाटै भइरहेकोमा चिन्ता व्यक्त गर्दै न्याय क्षेत्रमा पनि माफिया र विचौलियाहरूको प्रभाव बढ्दै गएको छ भन्नुभयो ।
उहाँले नेपालको कम्युनिस्ट आन्दोलन र पार्टीहरूलाई अवसरवादले बाधा पु¥याएको, चर्चा गर्दै सही नेता र पार्टीलाई सहयोग गर्ने परिपाटीलाई जनताले सहयोग गर्नुपर्ने औँल्याउनुभयो ।
डा. शम्भु पहाडीले देशको शासन माफियाहरूको इसाराअनुसार चलिरहेको छ भन्दै शासक दलहरूले देश र जनताको प्रतिनिधित्व गर्न सकेका छैनन् भन्नुभयो । उहाँले देशको संसद्मा नेमकिपा एउटा नभएको भए प्रतिपक्ष दल नै छैन झैं प्रतीत भइरहेको बताउँदै सबै दल सत्तामा उक्लन उफ्रिरहेका छन् भन्नुभयो ।
उहाँले कोभिडको सङ्क्रमण दर केही कम भएको मात्र हो, उन्मूलन भएको होइन भन्दै कोभिडबाट बच्न स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्राडा पुरूषोतमलोचन श्रेष्ठले नेपालको इतिहासमा रोगको महामारीबारेका अभिलेखहरूबारे चर्चा गर्दै लिच्छवि र मल्लकालमा महामारीको समयमा जनताले विद्रोह गरेको कुनै प्रसङ्ग नभेटिएको तर शाह कालमा रणबहादुर शाहको राज्यकालमा राज्यले देशबाट निष्काशन गर्ने अन्यायको विरोधमा शितलामाजुको वियोगान्त गीतमार्फत विद्रोह गरेको चर्चा गर्नुभयो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाको नेतृत्व गर्नुभन्दा आफ्नो पदलाई व्यक्तिगत र गुटगत स्वार्थको लागि दुरुपयोग गरेको देखिएको बताउनुभयो ।
संसद् पुनः स्थापनाको फैसला संविधानको व्यवस्थाअनुसार हुनैपर्ने फैसला भएको तर त्यही फैसलाबापत आफ्ना मानिसको लागि मन्त्री पद मागेर प्रन्या जबराले फैसलालाई नै किनबेच जस्तो देखाएर फैसलाकै अवमूल्यन गरेको बताउनुभयो । उहाँले संसद्का ठूला राजनीतिक दलहरू सही र निःस्वार्थी भएका भए अहिले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपथ्र्यो भन्नुभयो ।
नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले देशको सिमाना मिच्दा पनि चुप लागेर बस्नेहरू र एकातिरको समस्यामा पर्दा हाल्न अर्कोतिर नभएको समस्या खडा गर्नेहरू देशघातीहरू हुन् भन्नुभयो ।
उहाँले जयंिसंह धामी हत्या प्रकरण भारतको दादागिरी र नेपालप्रतिको हेपाहा प्रवृत्तिको नमुना हो भन्नुभयो ।
मृगौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले उच्च रक्तचापको कारण हरेक वर्ष मृगौलाका रोगी बढिरहेको चर्चा गर्दै मुत्र प्रणाली र स्वास्थ्यमा असहजपन आउनासाथ अस्पताल पुगेर चिकित्सकको सल्लाह सुझाव लिनुपर्नेमा जोड दिनुभयो । उहाँले समयमै रोग पहिचान गरी उपचार थालेमा धेरै रोगीको मुटु र मृगौला जोगाउन सकिने बताउनुभयो ।
मुटुरोग विशेषज्ञ एवम् धुलिखेल अस्पतालका प्रमुख डा. राजेन्द्र कोजूले मुटु जोगाउन सबै जना सजग बन्नुपर्ने बताउँदै फास्टफुड, पत्रुखाना, धूमपान र मद्यपानमा मात्र नियन्त्रण भएमा धेरै जना मुटुरोगबाट बच्ने औँल्याउनुभयो । उहाँले अरू सबै कुरा त्यागेर पनि वर्षको एक पटक पूर्ण स्वास्थ्य परीक्षण गरेमा समयमै रोग पहिचान भई सस्तो र सहज उपचार हुने बताउनुभयो ।
स्त्रीरोग विशेषज्ञ डा. सानुमाया श्रेष्ठले समाज विकास भएको देखिए पनि धेरै महिलामा रोग लुकाएर बस्ने प्रवृत्ति रहेको बताउँदै रोगी पहिचान गर्न सामुदायिक स्वास्थ्य शिविरहरू भइरहनुपर्ने औँल्याउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले भाषा र संस्कृति देशका मौलिक सम्पत्ति भएको र तिनको संरक्षण र संवद्र्धनले मात्र हाम्रो अस्तित्व जोगिने हो भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या मू गुथिका अध्यक्ष आशाकुमार चिकंबञ्जारले तः मुंज्या न्यायप्रेमी जनताको दबु भएको र यसमा न्यायप्रेमी कामदार जनताकै भावना अभिव्यक्त हुने गरेको चर्चा गर्दै तःमुंज्या सफल पार्न अनेक किसिमले सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
डा. वीरेन्द्रप्रसाद कायस्थले पनि बोल्नुभएको कार्यक्रममा कवि हरिहर तिमिल्सिना, कृष्णकुमार वैद्य, अभय श्रेष्ठलगायतले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा राजेश हाडाको लयमा आशाकुमार चिकंबन्जारले रचना गर्नुभएको स्वागत गीत रवि हाडा र लक्ष्मण पालिखेलले गाउनुभयो भने कार्यक्रमको बीचबीचमा विभिन्न सांस्कृतिक समूहहरूले गीत–सङ्गीत प्रस्तुत गरेका थिए ।
तःमुंज्याको पहिलो दिनको कार्यक्रमको सभापतित्व प्राध्यापक विश्वमोहन जोशीले गर्नुभयो भने कार्यक्रममा ग्वसाखलः (आयोजक समिति) का अध्यक्ष गणेशराम थुसाले स्वागत मन्तव्य राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *