नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
विद्वान तथा साहित्यकारद्वारा देशघाती एमसीसी सम्झौताको विरोध भक्तपुर । ४१ औँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) भव्यताका साथ सम्पन्न भएको छ । असोज ३१ र कार्तिक १ गते अर्थात् दुई दिन चलेको कार्यक्रममा राजनीतिक नेता–कार्यकर्ता, विभिन्न क्षेत्रका विद्वान, लेखक, कवि, कलाकारले विविध विषयमा गहन विचार प्रस्तुत गर्नुभयो ।
सम्मेलनको उद्घाटन ३१ गते आइतबार ख्वप कलेजको प्राङ्गण देकोचामा स्थानीय सांस्कृतिक गुरु कृष्ण सितिखुले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सम्पन्न तःमुंज्याको पहिलो दिन अध्यक्ष बिजुक्छेँले कृषि विशेषज्ञ बाबुकाजी भोमी र स्थानीय सांस्कृतिक गुरुहरू कृष्ण सितिखु, न्हुछेकुमार अवाल, हरिभक्त सुवाल, हरिराम सुवाल, तुल्सी शाही र कृष्णप्रसाद दथेपुथेलाई दोसल्ला ओढाई सम्मानपत्रका साथ सम्मान गर्नुभयो । सम्मानित कृषि विशेषज्ञ भोमीलाई नगद रु. २० हजार र सांस्कृतिक गुरु प्रत्येकलाई नगद रु. १० हजार प्रदान गरिएको थियो ।
दोस्रो दिनको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश हितविपरीतको एमसीसी सम्झौताबारे व्यापक नेपाली जनतालाई सचेत बनाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र संसारका विभिन्न देशका नक्सा देखाएर जनतालाई एमसीसीबारे सचेत बनाउनुपर्ने बताउनुभयो ।
बृहत् साहित्य सम्मेलनमा छोटो छोटो रचनालाई समावेश गर्नु उपयुक्त हुने सल्लाह दिनुहुँदै उहाँले निबन्ध र समालोचना विधालाई पनि प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर जीवित सम्पदा÷सङ्ग्रहालय भएको चर्चा गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरका हरेक बीस–बाइस घरको अन्तरमा एक जना कलाकार भएको र ती सांस्कृतिक गुरुहरू विश्वविद्यालयका प्राध्यापकसरह भएको बताउनुभयो ।
भक्तपुरलाई खुला विश्वविद्यालयको रूपमा अघि बढाउनुपर्ने विचार राख्नुहुँदै उहाँले सरकारले भक्तपुरमा विश्वविद्यालय स्थापनाको अनुमति नदिए पनि शिक्षालाई उत्पादन श्रमसँग जोड्ने र संस्कृतिको प्राज्ञिक अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
विश्वविद्यालयले गर्ने काम अहिलेबाट नै सुरु गर्नुपर्ने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले नेमकिपाले विचारको युद्धलाई निरन्तरता दिने प्रस्ट पार्नुभयो ।
नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले एमसीसी सम्झौताको विरोधमा नेमकिपाले देशभर हालसम्म ५२ स्थानमा विरोध प्रदर्शन र सभा गरिसकेको जानकारी दिनुहुँदै एमसीसी संरा अमेरिकाको हिन्द–प्रशान्त क्षेत्रकै अङ्ग भएकोमा नेपाली जनता भ्रममा बस्न नहुने बताउनुभयो ।
उहाँले छिमेकी देश चीनलाई घेराबन्दी गर्न संरा अमेरिकाले भारत, अस्टे«लिया, बेलायत, जापानलगायत देशलाई हातमा लिएर क्वाड र अउकसजस्ता बहुदेशीय गठबन्धन बनाएको प्रस्ट पार्नुभयो ।
उहाँले एमसीसी सम्झौताअन्तर्गत नेपाल आउने भनिएको रकम सरकारले नेपालबाट उठाउन सक्ने प्रस्ट्याउनुहुँदै देशभरका देशभक्त र साम्राज्यवादविरोधी जनता एकजुट भएर एमसीसी सम्झौताको लगातार विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सृजना सैँजूले संसारका विभिन्न देशले एमसीसीभित्रको साम्राज्यवादी बदनियत बुझेर अस्वीकार गरेको प्रस्ट पार्नुहुँदै संरा अमेरिकाले डलरलाई आफ्नो रणनीतिक, आर्थिक र राजनीतिक हतियार बनाएको बताउनुभयो ।
एमसीसी सम्झौता पारित भए नेपालको भोलिको नियति पनि इराक, अफगानिस्तान, लिविया र सिरियाको जस्तो हुने सांसद सैँजूले बताउनुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले २०१८ सालमा आफ्नो नेतृत्वमा जनगणना भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अहिले पनि जनगणना गर्नुपर्ने र जनगणना टोली पुग्नुपर्ने बताउनुभयो ।
उहाँले ४१ वर्षसम्म लगातार नेपालभाषा साहित्य तःमुंज्या हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुहुँदै भन्नुभयो, “साहित्य ठूलाबडाले लेख्ने र पढ्ने विषयमात्र होइन, श्रमिक जनताले पनि साहित्य लेख्नुपर्छ, पढ्नुपर्छ र सुन्नुपर्छ ।”
साहित्यकार एवम् समालोचक डा. रामप्रसाद ज्ञवालीले तःमुंज्या नेपालभाषाको साहित्य सम्मेलनमात्र नभई धेरै विषयको बृहत् सम्मेलन भएको अनुभव गरेको बताउनुहुँदै मानिसको जीवन पद्धति नै संस्कृति भएको धारणा राख्नुभयो ।
उहाँले संस्कृतिले सभ्यताको निर्माण गर्ने र सभ्यताले संस्कृतिको संरक्षण गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीति आफै खराब नभई राजनीतिक नेतृत्व गर्ने केही मानिसको प्रवृत्ति खराब हुँदा राजनीति बदनाम भएको हो ।”
इन्जिनियर एवम् लेखक राजदास श्रेष्ठले कृषि क्षेत्रलाई उपेक्षा गर्न नहुने धारणा राख्नुहुँदै कृषिमा देश सबल नभए जनता भोकै हुने बताउनुभयो ।
साहित्य र संस्कार नभएको मानिस सभ्य नहुने धारणा राख्नुहुँदै साहित्य र संस्कृतिलाई व्यापक श्रमिक जनताको हितमा लेखिनुपर्ने विचार उहाँले राख्नुभयो ।
साहित्यकार नरेन्द्रराज प्रसाइँले नेपालका सरकारमा गएका वामपन्थी शक्तिले देशभक्तिको खोल ओढेर देशघात गरिरहेको बताउनुभयो ।
उहाँले नेमकिपा देशभक्त र जनवादी राजनीतिक पार्टी भएको उल्लेख गर्नुहुँदै देशमा लामो समय शासन गरेको नेपाली काङ्ग्रेसमा कोही पनि देशभक्त नदेखेको धारणा राख्नुभयो ।
कवयित्री इन्दिरा प्रसाइँले नेपालभाषाको मिठासको कारण आफूले नेपालभाषा सिक्न थाले पनि समय अभावको कारण अपेक्षित सफलता पाउन नसकेको बताउनुभयो ।
उहाँले राजनीति फोहरी खेल भनी प्रचार हुँदा सामान्य जनता राजनीतिबाट अलग बस्ने गरेको र त्यसको फाइदा कुलीन वर्गले उठाइरहेको धारणा राख्नुभयो ।
उहाँले देशको सार्वभौमिकता रक्षाको निम्ति देशका सबै नागरिक सिपाही बन्नुपर्नेमा जोड दिनुभयो ।
सीमा अध्येता रतन भण्डारीले भारतसँगको सीमा विवादलाई छायामा पार्न केही शक्तिले चीनसँग हुँदै नभएको सीमा विवाद उछाल्न खोजिरहेको बताउनुभयो । सन् २०१६ मै नेपाल र चीनबीच सीमा सन्धि भएको बताउनुहुँदै उहाँले नेकाका केही नेताहरूले चीनसँगको सीमाबारे भ्रम र झूट फैलाउने काम गरिरहेको उल्लेख गर्नुभयो ।
भण्डारीले महाकाली नदीमा जयसिंह धामीको हत्या भारतीय सीमा सुरक्षा बलले गरेको तर विषयान्तर गर्न नेपाल सरकारले क्षतिपूर्ति दिनु गलत भएको उल्लेख गर्नुहुँदै यसले आगामी दिनमा पनि भारतीय पक्षले नेपाली जनताको हत्या गर्दै जाने अवस्था आउने बताउनुभयो ।
शिक्षाविद् सर्वज्ञभक्त मल्लले भक्तपुरका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको परिचय समेटेर पुस्तक प्रकाशित गर्न सके भावी पुस्ताको लागि उपयोगी हुने बताउनुभयो ।
समाजसेवी कृष्णलाल प्रधानले भक्तपुरको राजनीतिक नेतृत्व सही भएकोले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव भएको धारणा राख्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक चिकित्सक ऋषिकेशनारायण श्रेष्ठले भक्तपुरका जनताको सङ्घर्षकै कारण भक्तपुर क्यान्सर अस्पताल आज सरकारी अस्पताल बनेको बताउनुहुँदै भक्तपुरमा चाँडै ख्वप विश्वविद्यालय स्थापनाको कामना गर्नुभयो ।
कार्यक्रममा जनकवि चन्द्रबहादुर उलक, कान्छा बासुकला, दामोदर सुवाल, विष्णुगोपाल कुसी, शम्भुराम प्रजापति, ओम धौभडेल, सूर्यप्रसाद लाकोल, नारायणप्रसाद आचार्य लगायतले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा गायक रवि हाडा, लक्ष्मण पलिखेल, सत्यनारायण मानन्धर, राजकुमार मानन्धर लगायतले गीत प्रस्तुत गर्नुभएको थियो ।
सम्पदा सांस्कृतिक परिवार, आस्था सांस्कृतिक परिवार, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ काभ्रे लगायतले आफ्ना सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
४१ औँ नेपालभाषा साहित्य तःमुंज्याको साहित्य प्रतियोगिताअन्तर्गत कवितातर्फ विकल प्रजापति प्रथम, सकुन्तला महर्जन द्वितीय, काशीराम विरस तृतीय र अर्चना छुकां सान्त्वना पुरस्कार जित्न सफल हुनुभयो । त्यस्तै, कथा विधातर्फ श्रीया पहिजू प्रथम, एलके सुन्दर द्वितीय, श्रीभक्त जोशी (सँक्व) तृतीय र कृष्णप्रसाद सुवाल सान्त्वना पुरस्कार जित्न सफल हुनुभयो ।
कार्यक्रमको सभापतित्व स्रष्टा समाज नेपालका सदस्य एवम् शिक्षिका सुशिला कर्माचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत आयोजक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद चवाल, आर्थिक हिसाब कोषाध्यक्ष अनिता जधारीले प्रस्तुत गर्नुभएको थियो ।
पहिलो दिन कसले के भन्नुभयो ?
पहिलो दिनको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि विदेशी सहयोग विशेषगरी पश्चिमा देशका सहयोग सर्तविना नआउने बताउनुहुँदै अमेरिकी सहयोगको नाममा आएको एमसीसी सम्झौताले नेपाललाई संरा अमेरिका र भारतको मातहत राख्न खोजेको बताउनुभयो ।
उहाँले ढिलो चाँडो अत्यन्त बहुमत नेपाली जनता एमसीसीको विरोधमा आउने र शासकहरूले उक्त सम्झौता खारेज गर्न बाध्य हुने उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाले निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने नेमकिपाको नीतिलाई व्यवहारमा उतारिरहेको चर्चा गर्नुहुँदै नगर प्रमुख प्रजापतिले नगरवासी र नेपाली जनताको सेवाबाहेक भनपाको अर्को कुनै स्वार्थ नरहेको बताउनुभयो ।
कोभिड –१९ को महामारी सुरु भएदेखि भनपाले नगरवासीको उपचारको लागि डाक्टर नर्सको सेवासहितको निःशुल्क आइसोलेसन केन्द्र सञ्चालन गरेको र महामारी नियन्त्रणको लागि आवश्यक र सम्भव भएका सबै कार्य गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले ख्वप अस्पताल निर्माणलाई अन्तिम चरणमा पु¥याएर केही रोगको ओपीडीलगायत सेवा सुरु गरिसकेको जानकारी दिनुभयो ।
नगर प्रमुख प्रजापतिले देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजनाको सन्दर्भमा किसानको मुखौटो लगाएर केही किसानविरोधीहरू राजनीतिक पूर्वाग्रहका साथ विरोधमा उत्रेको हुनाले आयोजनाका उपभोक्ताहरू र नगरवासी चनाखो हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले जनविरोधीहरूको गलत हल्लाको पछाडि नलाग्न आग्रह गर्नुहुँदै योजनामा सबै उपभोक्ताहरूलाई न्याय हुने गरी जग्गा वितरण गर्ने ध्येयले पुनः प्लटिङ्को काम भइरहेकोले केही समय ढिलो भएको बताउनुभयो ।
कार्यक्रममा सीमाविद् डा. बुद्धिनारायण श्रेष्ठले नेपाल भारतबीचको सीमासम्बन्धी समस्या आजपर्यन्त समाधान नहुनुको कारण भारतको विस्तारवादी नियतमात्र नभई नेपाली शासकहरूको आत्मसमर्पणवादी लुखुरे प्रवृत्ति पनि भएको बताउनुभयो ।
विशाल भूभाग भएको छिमेकी देश भारतले इलाम जिल्लास्थित पशुपतिनगरमा सीमास्तम्भवारिको नेपालको आधा रोपनी जग्गा हडपेको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले देशको न्यायिक क्षेत्र विकृत भएको, संविधान र कानुनलाई क्षतविक्षत बनाउने र देशलाई अस्तव्यस्त पार्ने काम शासक दलहरूबाटै भइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै न्याय क्षेत्रमा पनि ‘माफिया’ र विचौलियाहरूको प्रभाव बढ्दै गएको बताउनुभयो ।
डा. शम्भु पहाडीले देशको शासन ‘माफिया’ हरूको इसाराअनुसार चलिरहेको बताउनुहुँदै शासक दलहरूले देश र जनताको प्रतिनिधित्व गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले देशको संसद्मा नेमकिपा एउटा नभएको भए प्रतिपक्ष दल नै नभएझैँ प्रतीत भइरहेको बताउनुहुँदै सबै दल सत्तामा उक्लन उफ्रिरहेको धारणा राख्नुभयो ।
उहाँले कोभिडको सङ्क्रमण दर केही कम भएको तर उन्मूलन नभएको स्पष्ट पार्नुहुँदै कोभिडबाट बच्न स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले नेपालको इतिहासमा रोगको महामारीबारेका अभिलेखहरूको चर्चा गर्नुहुँदै लिच्छवि र मल्लकालमा महामारीको समयमा जनताले विद्रोह गरेको कुनै प्रसङ्ग नभेटिएको तर शाहकालमा रणबहादुर शाहको राज्यकालमा राज्यले देशबाट निष्काशन गर्ने अन्यायको विरोधमा शितलामाजुको वियोगान्त गीतमार्फत विद्रोह गरेको चर्चा गर्नुभयो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाको नेतृत्व गर्नुभन्दा आफ्नो पदलाई व्यक्तिगत र गुटगत स्वार्थको लागि दुरुपयोग गरेको देखिएको बताउनुभयो ।
नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले देशको सिमाना मिच्दा पनि चुप लागेर बस्नेहरू र एकातिरको समस्यामा पर्दा हाल्न अर्कोतिर नभएको समस्या खडा गर्नेहरू देशघातीहरू भएकोे उल्लेख गर्नुभयो ।
उहाँले जयंिसंह धामी हत्या प्रकरण भारतको दादागिरी र नेपालप्रतिको हेपाहा प्रवृत्तिको नमुना भएको बताउनुभयो ।
मिर्गाैला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले उच्च रक्तचापको कारण हरेक वर्ष मिर्गौलाका रोगी बढिरहेको चर्चा गर्नुहुँदै मुत्र प्रणाली र स्वास्थ्यमा असहजपन आउनासाथ अस्पताल पुगेर चिकित्सकको सल्लाहसुझाव लिनुपर्नेमा जोड दिनुभयो । उहाँले समयमै रोग पहिचान गरी उपचार थालेमा धेरै रोगीको मुटु र मिर्गाैला जोगाउन सकिने बताउनुभयो ।
मुटुरोग विशेषज्ञ एवम् धुलिखेल अस्पतालका प्रमुख डा. राजेन्द्र कोजूले मुटु जोगाउन सबै जना सजग बन्नुपर्ने बताउनुहुँदै फास्टफुड, पत्रुखाना, धूमपान र मद्यपानमा मात्र नियन्त्रण भएमा पनि धेरै जना मुटुरोगबाट बच्ने औँल्याउनुभयो । उहाँले अरू सबै कुरा त्यागेर पनि वर्षको एक पटक पूर्ण स्वास्थ्य परीक्षण गरेमा समयमै रोग पहिचान भई सस्तो र सहज उपचार हुने बताउनुभयो ।
स्त्रीरोग विशेषज्ञ डा. सानुमाया श्रेष्ठले समाज विकास भएको देखिए पनि धेरै महिलामा रोग लुकाएर बस्ने प्रवृत्ति रहेको चर्चा गर्नुहुँदै रोगी पहिचान गर्न सामुदायिक स्वास्थ्य शिविरहरू भइरहनुपर्ने औँल्याउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले भाषा र संस्कृति देशका मौलिक सम्पत्ति भएको र तिनको संरक्षण र संवद्र्धनले मात्र हाम्रो अस्तित्व जोगिने उल्लेख गर्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या मू गुथिका अध्यक्ष आशाकुमार चिकंबञ्जारले तः मुंज्या न्यायप्रेमी जनताको दबु भएको र यसमा न्यायप्रेमी कामदार जनताकै भावना अभिव्यक्त हुने गरेको चर्चा गर्नुहुँदै तःमुंज्या सफल पार्न अनेक किसिमले सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
डा. वीरेन्द्रप्रसाद कायस्थले पनि बोल्नुभएको कार्यक्रममा कवि हरिहर तिमिल्सिना, कृष्णकुमार वैद्य, अभय श्रेष्ठ लगायतले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा राजेश हाडाको लयमा आशाकुमार चिकंबन्जारले रचना गर्नुभएको स्वागत गीत रवि हाडा र लक्ष्मण पालिखेलले गाउनुभयो भने कार्यक्रमको बीचबीचमा विभिन्न सांस्कृतिक समूहहरूले गीत–सङ्गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सभापतित्व प्राध्यापक विश्वमोहन जोशीले गर्नुभयो भने कार्यक्रममा ग्वसाखलः (आयोजक समिति) का अध्यक्ष गणेशराम थुसाले स्वागत मन्तव्य राख्नुभयो ।
Leave a Reply