भर्खरै :

चीनलाई रुघा लाग्दा अमेरिकालाई किन हाँछ्यु आउँछ ?

‘जब अमेरिकालाई रुघा लाग्छ, बाँकी संसारले हाँछ्यु गर्छ’ कुनै समय यस्तो भनिन्थ्यो । अर्थात्, अमेरिकामा हुने हरेक घटनाले बाँकी विश्वलाई असर पारेको हुन्छ । समयले यसरी कोल्टो फे¥योे, यो भनाइ अहिले आएर चीनको लागि सान्दर्भिक भएको छ । वर्तमान समयमा चीनमा हुने हरेक घटनाबाट बाँकी विश्व अलग्ग हुन सक्दैन । यसरी विश्वभरि अमेरिकाको दबदबालाई चीनले प्रतिस्थापन गरेको छ । चीनले अमेरिकालाई यथास्थितिबाट हटाउँदै आफूलाई विश्वको केन्द्रबिन्दु बनाउँदै छ । यही वास्तविकता अहिले अमेरिकाको आँखालाई विझाएको छ ।
संसारभर आफ्नो अनुकूलको सरकार बनाउन खुलमखुला हस्तक्षेप गर्ने अमेरिका अहिले चीनले अमेरिकी सरकार ढाल्न चाहिरहेको र चीनले अफगानीहरूलाई पुरस्कार दिएर अफगानिस्तानमा अमेरिकीहरूलाई मार्न लगाएकोे जस्ता आरोप लगाउँदै रुवाबासी गर्नु पनि चीनको विश्वभर दबदबा बढ्न थालेको प्रस्ट छ । संसारमा आएको यो परिवर्तित स्थिति कुनै पनि हालतमा अमेरिकाको लागि पचाउन सजिलो छैन ।
यदि चिनियाँ अर्थतन्त्र सुस्त हुन्छ भने यसले वैश्विक अर्थतन्त्रमा ठूलो असर पार्छ । चीनमा हुने हरेक घटनाबाट विश्व प्रभावित हुने वास्तविकतालाई हालैको ‘इभरग्रान्डे’ ९भ्खभचनचबलमभ० घटना एउटा उत्तम उदाहरण हो । चिनियाँ घर जग्गा कारोबारी विशाल कम्पनी ‘इभरग्रान्डे’ को समस्या विश्वव्यापी वित्तीय बजारमा तरबारजस्तै झुन्डिएको छ । सन् २००८ को ‘लेहमान ब्रदर्स’ जस्तै वैश्विक बजारको लागी ‘इभरग्रान्डे’ अर्को खतराको रूपमा देखिएको छ । ‘इभरग्रान्डे’ पतनको डरले अमेरिकी स्टक बजारसमेत लरबरियो । चीनमा हुनसक्ने वित्तीय सङ्कटले सम्पूर्ण विश्वलाई नै असर पार्न सक्ने परिणामबारे विश्व चिन्तित हुन थालेको छ । यसबीच हालैमात्र चीनमा बिजुली सङ्कटको समाचारले विश्वभरि नै ठूलो हलचल मचेको छ । चीनमा भएको बिजुली आपूर्ति सङ्कटले आर्थिक वृद्धि घटाउन सक्ने र विश्वव्यापी आपूर्ति शृङ्खला नै तहसनहस हुने सम्भावना विश्वकै चिन्ताको विषय बनेको छ ।
चीनमा हुने हरेक नीतिगत परिवर्तनले विश्वको ध्यान तानिन्छ । वर्तमान चिनियाँ राष्ट्रपतिले आफ्नो साझा समृद्धि योजनाको हिस्साको रूपमा परोपकारमा अरबौँ युआन दान गर्न प्रमुख चिनियाँ कम्पनीहरूलाई प्रोत्साहित गर्दै छन् । चिनियाँ राष्ट्रपतिको रायमा निजी पुँजी उन्मुक्त हात्तीजस्तै भएको छ जसले चिनियाँ राजनीतिक प्रणालीको छबिलाई बिगार्दै छ । यसलाई उनको मूल सोचको रूपमा लिइन्छ । चिनियाँ राष्ट्रपतिले कैयौँ वर्षदेखि पश्चिमी शैलीको पुँजीवादतिर गइरहेको चीनको विकासको मोडेललार्ई बिल्कुलै फरक बाटोतिर फर्काउने कोशिश गरिरहेको भान हुन्छ । उनी चीनलाई माओ त्सेतुङको दर्शनमा फिर्ता ल्याउन कोशिश गरिरहेका छन्, जसले पुँजीवादलाई समाजवादको बाटोमा एक अस्थायी चरणको रूपमा देखेका थिए ।
खुला बजारको शक्तिलाई उन्मूलन नगरिकनै चिनियाँ राष्ट्रपति एक यस्तो राज्य निर्माणमा अगाडि बढिरहेका छन् जहाँ पुँजीवादी राज्यमा जस्तै राजनीतिक पार्टीमाथि पैसा हावी नहोस् । उद्यमीहरू र लगानीकर्ताहरूका लागि कडा मापदण्डहरू लागू गर्ने र अकुत मुनाफा कमाउने उनीहरूको क्षमतालाई नियन्त्रण गर्ने अभ्यास गर्न चाहन्छ । सङ्क्षेपमा कुनै दिन संसारको सबैभन्दा ठूलो अर्थव्यवस्था हुँदै गरेको चीनको उद्देश्य भनेको व्यापारको नियमहरूलाई पुनर्लेखन गर्ने हो ।
झन्डै ४० वर्षअगाडि देंग सियाओपिङले खुला अर्थनीति ल्याउँदा धेरैलाई लागेको थियो चीन पश्चिमीकरणको निरन्तरतामा फर्किनेछ । तर, वर्तमान चिनियाँ राष्ट्रपतिले यो सोचलाई गलत बनाइदिएका छन् । बरु, चीनलाई माओ कै नीतिमा फर्काउने दिशा परिवर्तन गरिरहेको विश्वले अनुभव गरेको छ । यो परिवर्तन किन त ? आयको हिसाबले चीन विश्वमा सबैभन्दा असमान स्थानहरूमध्ये एक भएकोले चिनियाँ राष्ट्रपतिले अर्थ नीति परिवर्तन गर्न चाहेको कारण हुनसक्छ । चिनियाँ नेताहरू चिनियाँ विशेषताहरू भएको समाजवाद ल्याउन चाहेको कुरा बारम्बार भन्दै आइरहेका छन् । चिनियाँ सरकारले आर्थिक र सामाजिक सीँढीको तल्लो छेउमा रहेकाहरूको ख्याल गर्ने कोशिश गरिरहेको छ । यसको परिणामस्वरूप चीनबाट निरपेक्ष गरिबी हटिसकेको छ ।
अमेरिकाले सायद सोचेको होला चीन पश्चिमीकरणमा परिवर्तन हुनेछ । सन् १९९० का तत्कालीन राष्ट्रपति क्लिन्टन युगमा अमेरिकालाई विश्वास थियो कि चीन विश्वव्यापी आर्थिक प्रणालीमा एकीकृत हुनेछ जसले चीनको एकदलीय प्रणालीमा परिवर्तन ल्याउन मद्दत गर्छ । यही आशामा डिसेम्बर २००१ मा अमेरिकाले चीनलाई स्थायी व्यापार सम्बन्ध प्रदान ग¥यो र त्यही महिना चीनले विश्व व्यापार सङ्गठनमा प्रवेश ग¥यो ।
चालीस वर्षपछि त्यो खुला आर्थिक र वित्तीय फलहरू स्पष्टरूपमा देख्न सकिन्छ – चीन संसारको दोस्रो ठूलो अर्थ व्यवस्था भएको छ । करोडौँ चिनियाँहरूलाई गरिबीबाट बाहिर निकालिएको छ । तर, अमेरिकाको आशाविपरीत चीनको राजनीतिक प्रणाली पहिलेभन्दा बलियो छ । राजनैतिक व्यवस्थामा कुनै क्षति नपु¥याई चिनियाँ कम्युनिस्ट पार्टीले कुशलतापूर्वक मार्गदर्शन गर्दै खुला अर्थव्यवस्थाको भरपूर लाभ लिन सफल भएको छ । यसबाट प्रस्ट छ कि चीन पुँजीवाद, ‘धन सृष्टि’ र अमेरिकी आर्थिक मोडेललाई पूर्णरूपमा अस्वीकार गर्दै छ ।
अहिले चीनको नयाँ आर्थिक मोडेल अमेरिकाको निम्ति प्रतिद्वन्द्वी बनेको छ । सि चिङफिङको नेतृत्वमा रहेको चीन एक दशकअघिको भन्दा धेरै फरक हुँदै छ । उदाहरणको लागि अमेरिकामा कसले १० वर्ष पहिले टेलिकम कम्पनी हुवावेको बारेमा सुनेको थियो ? तर, अहिले हुवावे अमेरिकी टेलिकम प्रविधिको निम्ति चुनौती बनेको छ । चीनको टेन्सेन्ट, अलिबाबा र बाइट डान्सजस्ता ठूला प्रविधि कम्पनीहरू र विद्युतीय सवारी साधन कम्पनी विश्वका ठूला कम्पनीमा गनिएका छन् ।
अमेरिका र चीन दुबै देशहरू आ–आफ्नै योजनासँग आफ्नै अर्थनीतिअनुरूप काम गरिरहेका छन् । अमेरिकी राष्ट्रपतिले चीनको राजनैतिक प्रणालीको आलोचना गर्दा गर्दै पनि उनले चीनको सफलताका केही अवयवहरूको महत्व देख्छन् । जस्तैः– पूर्वाधार लगानी र प्रविधि विकासको लागी सरकारको भारी सहयोग आदि । चीनले पूर्वाधार र प्रविधि विकासको निम्ति गरेका प्रयासहरू विश्वले सिक्न सक्छ । चीनले आफ्नै बाटो तय गरेको छ । संसारले पनि आफ्नो अनुकूल बाटो बनाउनुपर्छ ।
निचोड के हो भने अनेक बहानामा चीनको खुट्टा तान्नुभन्दा अमेरिकाले चीनको यो नयाँ रूपलाई स्वीकार्न सक्नुपर्छ । जसरी चीनले सुपर पावर युगमा अमेरिकालाई स्वीका¥यो अब अमेरिकाले त्यही रूपमा चीनलाई स्वीकार्नुपर्छ, विश्व शान्तिको लागि ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *