तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
नेपाल मजदुर किसान पार्टीले पर्सा, बारा र रौतहट जिल्लामा एमसीसी सम्झौताको विरोधमा जुलुस र सभाको आयोजना ग¥यो ।
पर्सा
नेमकिपा पर्सा जिल्ला समितिको आयोजनामा वीरगञ्जको घण्टाघर चोकमा देशघाती एमसीसी सम्झौताको विरोधमा जुलुस तथा सभा भयो । वीरगञ्ज महानगर परिक्रमापछि भएको विरोध सभामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले एमसीसी सम्झौतामार्फत अमेरिकाले दक्षिण एसियामा युद्धको व्यापार गर्न खोजेको बताउनुभयो । सरकार गठनको कार्यमा हस्तक्षेप गर्दै अदालतले व्यक्ति विशेषलाई प्रधानमन्त्री नियुक्ति गर्नु प्रजातन्त्रको उपहास भएको उहाँको तर्क थियो । उहाँले देशको राजनीतिक उथलपुथलको पछाडि वैदेशिक शक्ति राष्ट्रहरूको हस्तक्षेप र चलखेल रहेको बताउनुभयो ।
सभामा नेमकिपा पर्साका सरोज साहले देशको भूगोल ठूलो सानो भए पनि सार्वभौमिकता र स्वाधीनता सबैको बराबर हुने बताउनुभयो । वैदेशिक ऋण सहायताले देशलाई विकास गर्नुको साटो ऋणमा डुबाउने उहाँको भनाइ थियो । एमसीसीले देशलाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको उपनिवेश बनाउने बताउँदै अतिथि साहले नेपालका ठूला शासक पार्टीहरूले विदेशीको दलाल भएर काम गरिरहेको स्पष्ट पार्नुभयो ।
नेक्राविसङ्घको १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरूङले एमसीसी सहयोगको नाममा देशको सार्वभौमिकता बेच्न नहुने बताउनुभयो । विभिन्न सुरक्षा रणनीतिसँग सम्बन्धित दस्तावेजहरूमा अमेरिका स्वयंले एमसीसी हिन्द–प्रशान्त अमेरिकी सैन्य रणनीतिको अभिन्न अङ्ग भएको स्वीकार गरिएको उल्लेख गर्दै उहाँले एमसीसीका परियोजनाहरूबाट नेपाललाई भन्दा भारत र अन्य देशलाई फाइदा हुने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका दिनेश खड्गीले पनि आफ्नो विचार राख्नुभएको थियो ।
बारा
नेमकिपा बारा जिल्ला समितिको आयोजनामा बाराको कलैया उपमहानगरपालिकामा एमसीसी सम्झौताविरूद्ध विरोध जुलुस तथा सभा सम्पन्न भयो ।
कलैया बजारको परिक्रमापछि भएको विरोध सभामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेपालका शासक दलका नेताहरूमा दास मानसिकता रहेको बताउँदै दासहरूले मालिककै स्वार्थअनुरूप काम गर्ने बताउनुभयो । शासक दलका नेताहरूले पढ्दै नपढी एमसीसी सम्झौतामा हस्ताक्षर गर्नु देशप्रति घात भएको अतिथि कवांले बताउनुभयो ।
नेमकिपा बारा जिल्ला समितिका मुक्ति यादवले शासक दलहरूले एमसीसी सम्झौताको पक्ष लिएबाट तिनीहरू नेपाल र नेपाली जनताको पक्षमा नरहेको स्पस्ट छ भन्नुभयो ।

उहाँले शासक दलहरूले राजनीतिको नाममा भ्रष्टाचार गर्ने, आफ्ना मान्छे भन्दै पद र पैसाको दुरूपयोग गर्ने गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोज साहले नेमकिपाले स्थापनाकालदेखि नै देशको सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेपको विरोधमा निरन्तर विरोध गर्दै आएको बताउनुभयो ।
उहाँले अमेरिका पसेका देशहरूको अवस्था तहसनहस भएको बताउँदै देशको सार्वभौमिकता र स्वतन्त्रता जोगाउन नेमकिपाले सदैव संसद् र सदनमा सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
कलैया बजारमा सम्पन्न सभामा नेक्राविसङ्घका रमेश प्रजापति र दिनेश खड्गीले पनि आफ्नो विचार व्यक्त गर्नुुभएको थियो ।
रौतहट
नेमकिपा रौतहट जिल्ला समितिको आयोजनामा गौरमा सम्पन्न जुलुस र सभामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले एमसीसी सम्झौता अमेरिकी सेनाको हिन्द–प्रशान्त रणनीतिको सैन्य गठबन्धन होइन भनी नेपालका शासक दलका नेताहरूले जनतासामु भ्रमको खेती गरिरहेको बताउनुभयो ।
उहाँले एमसीसी सम्झौता पास गर्नेहरू अफगानिस्तानको घानी सरकारजस्तै देश छोडेर भाग्नुपर्ने स्थिति आउने बताउनुभयो । नेमकिपाले सदैव नेपाल र नेपाली जनताको अहितमा रहेको असमान सन्धि–सम्झौताहरूको निरन्तर विरोध गर्दै आएको सदस्य कवांको भनाइ थियो ।
नेमकिपा रौतहटका लालबाबु चौधरीले एमसीसी नेपाललाई विदेशीको
गुलाम बनाउने सम्झौता भएको विचार व्यक्त गर्नुभयो । उहाँले एमसीसी सम्झौताले देशलाई भारत र अमेरिकाको उपनिवेश बनाउने बताउनुभयो ।
नेक्राविसङ्घका किरण गोसाईले एमसीसी सम्झौता पारित गरिए नेपालको प्राकृतिक स्रोत–साधनमाथि नेपालको स्वामित्व गुम्ने बताउनुभयो । सम्झौताले देशलाई शक्ति राज्यहरूको युद्धभूमि बनाउने उहाँको भनाइ थियो ।
सभामा नेमकिपा रौतहट जिल्ला समितिका अध्यक्ष दिनेश साहले खराब ठेकेदारहरूकै कारण गौरमा बन्दै गरेको पुल भत्किएको प्रसङ्ग कोट्याउँदै सरकारले स्रोत नखुलेका र कालो धनलाई राष्ट्रियकरण गरे एमसीसी सम्झौताको रकम देशको निम्ति आवश्यक नपर्ने बताउनुभयो । उहाँले अहिलेसम्मका सरकारले गरिब किसान–मजदुरहरूको पक्षमा काम नगरेको चर्चा गर्दै जनताका छोराछोरीहरूलाई वैदेशिक रोजगारीको नाममा खाडी मुलुक पठाएर युवा उमेरमै मर्न बाध्य तुल्याएको बताउनुभयो ।
गौर बजार परिक्रमा गरी सम्पन्न भएको विरोध सभामा सरोज साहले पनि एमसीसीबारे विरोध जनाउनुभएको थियो ।
Leave a Reply