भर्खरै :

पूर्वी नेपालका विभिन्न जिल्लामा एमसीसीको विरोध

महोत्तरी ४ कार्तिक । नेपाल मजदुर किसान पार्टीको आयोजनामा एमसीसीविरूद्धको देशव्यापी विरोधसभा तथा जुलुस कार्यक्रम बिहीबार महोत्तरी, सर्लाही र धनुषामा सम्पन्न भयो ।
धनुषा
धनुषाको जनकपुरधाममा भएको सभामा पार्टीका केन्द्रीय सदस्य उकेश कवांले कुनै नेताले गरेको गल्तीको कारण देशको सार्वभौमिकतामा आँच पुगिरहेकोले नेपाली जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समाजवादी देश चीनलाई घेरा हाल्ने गलत उद्देश्यसहित एमसीसी नेपालमा लाड्न खोजेको स्पष्ट पार्दै केन्द्रीय सदस्य कवांले संरा अमेरिका हतियार व्यापारी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशको राजनीतिक उथलपुथल हुनुमा वैदेशिक शक्ति राष्ट्रहरूको हस्तक्षेप र चलखेल रहेको छ ।”
नेमकिपा रौतहटका अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य दिनेशप्रसाद साहले सत्तामा गएका पार्टीहरूले अहिलेसम्म कामदार जनतालाई विश्वासघात गरिरहेको उल्लेख गर्दै भन्नुभयो, “कामदार जनताका छोराछोरीहरूलाई वैदेशिक रोजगारीको नाममा खाडी मुलुक पठाएर युवा उमेरमै मर्न बाध्य तुल्याएको छ ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सरोज साहले एमसीसी नेपालको सार्वभौमिकताविपरीत रहेकोले नेमकिपाले जनतालाई सचेत पार्दै आइरहेको बताउनुभयो ।
नेक्राविसङ्घका रमेश प्रजापतिले एमसीसी राष्ट्रघाती भएकोले सडकमा आउन बाध्य हुनुपरेको बताउनुभयो ।
जसरी भए पनि एमसीसी पारित गराएर संरा अमेरिका नेपाललाई उपनिवेश बनाउन चाहेको उहाँले बताउनुभयो ।
नेमकिपा धनुषाका राजेश्वर साहले एमसीसीबारे धनुषावासीलाई जानकारी दिनुभएकोमा खुसी व्यक्त गर्दै नेमकिपाबाहेक कुनै पनि पार्टीले एमसीसीबारे जनतालाई नबताएको बताउनुभयो ।
महोत्तरी
महोत्तरीमा भएको सभामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सरोज साहले नेमकिपाले सधैँ देश र कामदार जनताको पक्षमा आवाज उठाइरहेको बताउनुभयो ।
वैदेशिक ऋण र सहायताले नेपाललाई भन्दा विदेशलाई फाइदा पुग्ने धारणा राख्दै उहाँले एमसीसीले देश हित नगर्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी सम्झौताअन्तर्गत नेपाल आउने भनिएको रकम सरकारले नेपालबाट नै उठाउन सक्छ । देशभक्त र साम्राज्यवादविरोधी जनता एकजुट भएर एमसीसी सम्झौताको निरन्तर विरोध गर्नु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी युवा सङ्घका श्रीकृष्ण थापाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादीहरू नेपालको प्राकृतिक सम्पदाहरू कब्जा गर्ने दाउमा रहेको बताउनुभयो ।
विदेशी पैसाको लोभ र व्यक्तिगत स्वार्थका कारण शासक दलहरू संरा अमेरिकी साम्राज्ययवाद कठपुतली बनेको धारणा उहाँले राख्नुभयो ।
कार्यक्रममा इश्वर शाहीले पनि बोल्नुभएको थियो ।
सर्लाही
सर्लाहीको लालबन्दीमा भएको विरोध सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले एमसीसी सम्झौता देशघाती भएकोले जनतालाई सचेत पार्ने उद्देश्यले नेमकिपाले देशव्यापीरूपमा विरोध सभा गरिरहेको बताउनुभयो ।
एमसीसी पारित भए नेपाल साम्राज्यवादीहरूको युद्ध मैदान हुने र नेपाली जनताले रगतको आँसु बगाउनुपर्ने धारणा केन्द्रीय संयोजक गुरूङले राख्नुभयो ।
देशको विकास नेपाली आफैले गर्नसक्ने, विदेशी सहायता आवश्यक नहुने स्पष्ट पार्दै उहाँले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण भए नेपालीले विदेशको मुख ताक्न नपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका राजकृष्ण गोराले काङ्ग्रेस, एमाले, राजपा कामदार जनताको पक्षमा नभएको स्पष्ट पार्नुभयो ।
एमसीसीजस्तै एनजीओ, आईएनजीओहरूले पनि देशको हित नगर्ने धारणा उहाँले राख्नुभयो ।
विरोधसभामा उत्तम साखकर्मीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *