“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
नेपालभाषा साहित्य तःमुंज्याले ४१ वर्षदेखि भाषा र साहित्य उत्थानको निम्ति काम गर्दै आएको छ । आगामी वर्षहरू पनि योभन्दा बढी सशक्तरूपमा देश र जनताको पक्षमा काम गर्न सकोस्, हार्दिक शुभकामना !
हामी अझै कोरोनाको जोखिमबाट पूर्ण सुरक्षित भइसकेका छैनौँ । भक्तपुरका विद्यालय कलेजहरू सुरु हुन सकेका छैनन् । असोज १० गतेदेखि विद्यालयहरूमा भौतिक उपस्थितिमा परीक्षा लिने निर्णय ग¥यौँ । यस वर्षको दसैँबारे पनि हामी त्यतिकै चिन्तित थियौँ । ठूलो भीडभाडले सङ्क्रमण झन् व्यापक हुने हो कि भन्नेमा सचेत हुँदै तलेजुमा हुने पूजामा बलि नदिई सामान्य पूजाआजामात्रै गर्ने निर्णय ग¥यौँ । आजको यस कार्यक्रममार्फत भक्तपुरको स्वास्थ्य स्थिति र देको मिवा इटापाके आवास योजनाबारे जनताबीच प्रस्ट पार्ने कोशिस गर्छु ।
भक्तपुरको स्वास्थ्य स्थितिबारे ः
हामीलाई थाहा छ, कोभिड १९ को कारण भक्तपुर नराम्ररी प्रभावित भयो । जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी २०७८ वैशाख १७ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालन गरी कोभिडका बिरामीहरूको सेवा सुरु ग¥यौँ । ख्वप अस्पतालले हालसम्म ४५५ जनालाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान ग¥यो । भक्तपुरका जनताको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर कोभिडबाट जनतालाई सुरक्षित राख्न सम्भव सबै उपायहरू अपनायौँ । सरकारले यस्तो सङ्कटको बेला स्वास्थ्य बीमाबापत ख्वप अस्पताललाई दिनुपर्ने झन्डै ६ करोड रकम भुक्तानी रोक्यो । ख्वप अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । आर्थिक समस्या देखिएपछि जनताबीच जाने निर्णय ग¥यौँ । जनताले ख्वप अस्पताल र भक्तपुर नगरपालिकाप्रति विश्वास देखाएर १ महिनाभित्र ६ करोडभन्दा बढी रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्नुभयो । सङ्कटको बेला साथ दिने भक्तपुर नगरवासी, देशका विभिन्न जिल्लावासी र विदेशमा बसेर पनि आर्थिक सहयोग गर्ने नेपाली दाजुभाइ, दिदी बहिनीहरू र सम्पूर्ण सङ्घ संस्थाहरूलाई हामी हार्दिक धन्यवाद दिन्छौँ । तपाईँहरूकै सहयोगले अक्सिजन प्लान्ट स्थापना गरेर सम्पूर्ण नगरवासीहरूलाई निःशुल्क अक्सिजन वितरण गरिरहेका छौँ ।
स्वास्थ्य विज्ञहरूका अनुसार खोप नै कोरोनाबाट बच्ने सबैभन्दा राम्रो विकल्प हो । त्यसैले भक्तपुर नगरपालिकाले सम्पूर्ण नगरवासीहरूलाई खोप दिने सोचले काम गर्दै छ । हालसम्म भक्तपुर नपाले भेरोसेल ९४,२२२ जोनसन ३,२०७ र कोभिसिल्ड ७,५४५ गरी जम्मा १,०४,९७४ डोज खोप दिइसकेका छौँ ।
जनताको स्वास्थ्यलाई ध्यानमा राखेर दसैँको समयमा पनि हामीले ख्वप अस्पतालमा ओपीडी सेवा सञ्चालन ग¥यौँ । यस्तो अवस्थामा पनि दैनिक १५० भन्दा बढी बिरामीहरूको उपचार ग¥यौँ । अरू बेला दैनिक ५०० भन्दा बढी बिरामीहरूको उपचार गर्ने गर्छौँ । इमर्जेन्सी सेवा २४ सै घण्टा खुला छ ।
स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रमा सरकारले बीमाबापत दिनुपर्ने भुक्तानी नदिँदा सबै अस्पतालहरू समस्यामा छन् । मध्यपुरको कोरिया मैत्री नगरपालिका अस्पतालले ९ करोड बीमा रकम नपाएपछि असोज १ गतेबाट बीमाका बिरामीहरूको उपचार बन्द गरेको छ । २६ करोड भुक्तानी बाँकी भएपछि धुलिखेल अस्पताल आर्थिक सङ्कटमा परेको र उपचार प्रभावित भएको समाचार छ । ख्वप अस्पतालाई अझै पनि बीमाबापत दिनुुपर्ने करिब रु. ४ करोड सरकारले पठाएको छैन । सरकारले दिनुपर्ने भुक्तानी समयमै दिएर स्वास्थ्य उपचार सहज बनाउन यही मञ्चबाट सम्बन्धित निकायको हामी ध्यानाकर्षण गर्दछौँ ।
आर्थिक वर्ष २०७७÷७८ मा ख्वप अस्पतालले १,१२,०२२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान ग¥यो । आ.व. २०७८÷८९ को पहिलो दुई महिना साउन र भदौमा २८,४७१ जनालाई र भगवतीस्थान स्वास्थ्य केन्द्रबाट १,१६२ गरी २९,६३३ जनालाई उपचार सेवा प्रदान गरिएको छ । सामुदायिक आँखा केन्द्र च्याम्हासिंहबाट साउन र भदौमा ४,०५० जनालाई सामान्य उपचार र ५५ जनाको अपरेसन भएको छ । तीलगंगा आँखा केन्द्रसम्म जान नपर्ने गरी यहीँ विशेषज्ञ डाक्टरहरूबाट सेवा प्रदान गर्दै आएको जानकारी गराउन चाहन्छौँ । आँखाका बिरामीहरूलाई दिइने सेवा तीलगंगामा भन्दा सस्तोमा दिने व्यवस्था मिलाएका छौँ । नगर र नगरवासीहरूको स्वास्थ्य उपचारमा हाम्रो क्षमताले भ्याएसम्म कुनै कमी आउन दिनेछैनौँ ।
देको मिवा आवास योजनाबारेः
देको मिवा इतापाके आवास योजना भक्तपुर नगरपालिकाद्वारा सञ्चालित योजना हो । कुल १,६५४ रोपनी फैलिएको उक्त योजना २०७२÷१०÷२५ गते राजपत्रमा सूचना प्रकाशित भई नेपाल सरकारको स्वीकृति प्राप्त योजना हो ।
भक्तपुर नगरपालिका देशकै सानो नगरपालिकामध्ये एक भएकोले जग्गामा जथाभावी घरहरू निर्माण गर्दा नगरको स्वरूप राम्रो हुँदैन । हामी प्राचीन व्यवस्थित नगरमा बस्दै आएका छौँ । भक्तपुर नगरपालिकाले नगरका बाँकी ठाउँमा पनि व्यवस्थित आवास योजना बनाउने उद्देश्यले कमलविनायक, लिबाली र तुमचो दुगुरे योजना सम्पन्न गरिसकेको छ र हाल देको मिवा इतापाके योजनाको काम अघि बढाउँदै छ । अहिलेसम्म नगरभित्र सञ्चालित योजनाहरूमध्ये यो सबभन्दा ठूलो योजना पनि हो ।
लिबालीमा ख्वप इ. कलेज र ख्वप कलेज अफ इन्जिनियरिङजस्ता २ वटा कलेजहरूको स्थापना, तुमचो दुगुरे आवास योजनामा भक्तपुर जिल्ला अदालत, मालपोत कार्यालय, नापी शाखा र ख्वप अस्पताल निर्माण र कमलविनायक आवास योजनामा जनताकै मागको आधारमा बालोद्यान निर्माणाधीन छ । नगरको सन्तुलित विकास र व्यवस्थित सहरको विकास गर्नुबाहेक नगरपालिकाको कुनै स्वार्थ छैन । समयमा आवास योजना सञ्चालन गर्न नसकेको भए निजी आवास कम्पनीहरूले सडक नभएका जग्गाहरू किसानहरूसित कौडीको मूल्यमा खरिद गरेर करोडौँ कमाउँथे र किसानहरूलाई जग्गाबाट विस्थापित गर्थे । नगरपालिकाले जगावालाहरूकै हितको निम्ति आवास योजनाहरू सञ्चालन गर्दै आएको हो ।
जग्गावालाहरूको हितलाई ध्यानमा राखेर सकेसम्म योगदान प्रतिशत कम गर्नेमा हाम्रो ध्यान केन्द्रित रह्यो । आवास योजनाले तयारी गरेको प्रारम्भिक नक्सामा जनताको सुझावको लागि ३५ दिने सूचना प्रकाशित गर्दा समयभित्र ६५० भन्दा बढी गुनासो प्राप्त भयो । अधिकांश गुनासोकर्ताको माग योगदान प्रतिशत कम गर्नुपर्यो भन्ने थियो । जनताको गुनासोहरूको अध्ययन गरी जग्गावालाहरूबाट कमसेकम २ प्रतिशत योगदान कम गर्ने निर्णयअनुसार अहिले पुनःनक्सा निर्माण कार्य भइरहेको छ । यसबाट जग्गा फिर्ता दिने काम केही ढिलो हुन गएको अवश्य हो ।
उक्त योजनामा प्राविधिकहरूका अनुसार सडकको लागि ३९७ रोपनी (२४ प्रतिशत) भन्दा बढी र खुला क्षेत्रको लागि ७५ रोपनी (५.२४ प्रतिशत) भन्दा बढी लाग्ने अनुमान छ । यस्तो अवस्थामा सबै जग्गावालाहरूलाई जहाँको तहीँ जग्गा दिन सम्भव हुँदैन तर पनि सम्भव भएसम्म नजिक दिने प्रयास गरिएको छ ।
कति साथीहरूबाट अग्लो अग्लो पर्खाल बनायो भन्ने गुनासो पनि सुनिन्छ । अहिले नै हेर्न गयो भने पनि नगरकोट सडकसँगैको जग्गा कमसेकम ८–१० फिट गहिरो छ । के त्यहाँ जग्गाको सन्तुलन मिलाउन पर्खाल बनाउनुपर्ने होइन ? कासां खुसी (खोला) को पर्खाल बनाउँदा पनि ५० वर्षसम्मको बाढीको अध्ययनलाई आधार बनाई काम गरिएको हो । २०७५ सालमा पनि ठूलो बाढी आयो । उपभोक्ता समितिका सबै साथीहरूबीच नक्सा डिजाइन गर्ने कन्सल्ट्यान्टकै उपस्थितिमा छलफल कार्यक्रम राख्यौँ । उहाँले राख्नुभएको आधारहरूलाई सबैले एकमतले समर्थन गरेपछिमात्रै नक्साअनुसार निर्माण कार्य अघि बढेको जानकारी गराउन चाहन्छौँ ।
केहीको निहित स्वार्थका लागि ८५ प्रतिशतसम्म जग्गा कट्टी ग¥यो भनी अर्को भ्रम सृजना गर्ने कोशिश हुँदै छ । अधिकांश जग्गा सडक मापदण्डभित्र परेको र कही कहीँ २।४फिट जग्गा बाँकी रहेका जग्गावालाहरू जसको हातमा अझै पूरै जग्गाको ज.ध.पुर्जा बाँकी छ, त्यस्ता जग्गावालाहरूको हकमा १५ प्रतिशत जग्गा फिर्ता दिने निर्णय गरिएको हो । यो जग्गावाला र आवास योजना दुबैको हितमा भएको निर्णय हो । यही कुरालाई नगरपालिकाले अर्बौँ नाफा खान खोज्यो भनी भ्रम सृजना गरिँदै छ र दिउँसै रात पार्ने प्रयास गरिँदै छ ।
देको मिवा आवास योजनालाई यसअघि सम्पन्न गरेका योजनाहरूभन्दा सुविधा सम्पन्न र व्यवस्थित बनाउने प्रयास भइरहेको छ । त्यहाँ वर्षाको पानी जाने र फोहोर जाने अलग अलग पाइप, ठाउँ–ठाउँमा खुला चोक, हरियाली क्षेत्रलगायतको व्यवस्था हुनेछ । स–साना जग्गा भएका जग्गावालाहरूको हकमा भित्र चोक राखी बाहिर चारैतिर घरहरू बनाउने पुरानै शैलीको बसोबासको व्यवस्था गरिएको छ ।
जनताका जायज मागहरू सम्बोधन गर्ने कोशिस गर्ने क्रममा केही समय लम्बिन गएकोलाई निहुँ बनाई केही स्वार्थी र योजनाविरोधीहरूको उक्साहतमा योजना नै स्थगित गर्ने वा गर्नै नदिने नियतले जानी वा नजानी काम भइरहेको देख्दा हामीलाई आश्चर्य लाग्यो । अब जग्गावाला दाजुभाइ दिदी बहिनीहरू स्वयं सचेत हुनुपर्ने बेला आएको छ ।
आयोजनालाई कसरी बाधा गर्न खोज्दै छ ?
आवास योजनाका केही साथीहरू विभिन्न पार्टीकहाँ जानुभयो । त्यसमा हाम्रो भन्नु केही छैन । त्यस क्रममा एक जनप्रतिनिधिको मुकुण्डो लगाएका एमालेका एक किसानविरोधी नेताले समस्यालाई समाधान होइन झनै जटील बनाउने सुझाव दिएको पनि सामाजिक सञ्जालमा देख्यौँ । हामीले भनिरहनु पर्दैन, उनी यो योजना असफल पार्न पहिलेदेखि नै भनपा र नेमकिपाविरुद्ध क्रियाशील थिए । निजी आवास योजना सञ्चालन गरी किसानहरूलाई रुवाएर अकुत सम्पति कमाएर धनी भएका र आफ्नै पार्टीका नेताहरूबाट गुण्डा नाइके, अपहरणकारी, भ्रष्टाचारीका आरोप खेपिरहेका उनले किसानहरूलाई भड्काउन विभिन्न निराधार आरोपहरू लगाए र नेमकिपाविरुद्ध लाग्न किसानहरूलाई उक्साए । ‘खास्टोले छोपेको बिरालो म्याउँ’ कराएजस्तै आवास योजनाविरुद्ध उनी अहिले खुलारूपमै उत्रे । निजी आवास योजना सञ्चालन गरेर करोडौँ सम्पत्ति कमाउन नपाएको झोकमा उनी नगरपालिकाविरुद्ध खनिएका छन् । उनको आरोप सीधै नेमकिपा र नगरपालिकाविरुद्ध केन्द्रित थियो । उनको आरोपलाई बुँदागत रूपमा हेरौँ !
भनपाभित्र उपभोक्ता समितिमा बस्नेहरूले ३० देखि ५० प्रतिशत घोटाला गरेको सम्बन्धमाः
सांसद अपहरण, गुण्डा नाइके र कमिसनखोरको रूपमा भक्तपुरमा मात्रै होइन देशैभरि बदनाम भएका उनले उपभोक्ताको काममा ठूलै भ्रष्टाचार देखेका रहेछन् । भ्रष्टाचारी आँखाले इमानदार कसैलाई देख्दैन । भनपाले गुणस्तरीय निर्माण, संरचनामा जनताको अपनत्व कायम गर्न जनश्रमदान र आर्थिक सहयोगसमेत जुटाई उपभोक्ताबाट काम गर्दै आएको नयाँ होइन । ङातापोल्हँ मन्दिर जीर्णोद्धार गर्न रु. ६५ लाख १३ हजार लगत इष्टमेट भएकोमा १५ लाख ४७ हजार आर्थिक सहयोग, ५ लाख ६३ हजार भन्दा बढीको भौतिक सामग्री सहयोग र ४,२६५ जना श्रमदानबाट सम्पन्न भएको थियो । भनपाको ३८ लाख ७७ हजार रूपैयाँले उक्त मन्दिर जीर्णोद्धार सम्पन्न भयो ।
त्यसैगरी हालै सम्पन्न भएको वत्सला मन्दिरको कुल १ करोड २७ लाख ६२ हजार ल.ई. मा पुनःनिर्माण सुरु भएको थियो । विभिन्न दाताहरूबाट ६ लाख २७ हजार आर्थिक सहयोग प्राप्त भई जम्मा ७७ लाख १३ हजार खर्चमा सम्पन्न भयो ।
भैरवनाथ मन्दिर, लाय्कु ढोकालगायत थुप्रै सम्पदाहरू पुनः निर्माण गर्दा पनि ल.ई. भन्दा धेरै कम खर्चमा जनताको सहयोगमा हामी काम गर्दै छौँ । ठेकेदारहरूसँग मिलेर कमिसन खान पल्केकाहरू भक्तपुरमा उपभोक्ताले गरेको काममा भ्रष्टाचार देख्नु कुनै आश्चर्यको कुरा होइन । हाम्रो कामले भ्रष्टाचारीहरूलाई निन्द्रा लाग्दैन । यो त्यतिकै सत्य हो ।
मुद्दा हाल्न उक्साएको :
भेट्न गएका जग्गावालाहरूलाई उनले भने— अब चुप लागेर नबस्नू, मुद्दा हाल्न जानू । उपत्यका विकास प्राधिकरण, सहरी विकास र अदालतमा मुद्दा गर्नुहोस्, त्यसको लागि हामी सहयोग गर्छौँ । सबैलाई थाहा छ, अदालतमा मुद्दा परेको अवस्थामा वर्षौँसम्म योजना लम्बिन सक्छ । मुद्दा हालेर अदालतले रोक्न सके किसानहरू उनको जालमा पर्ने दाउ हेरिरहेका छन् । योजना छिटो सम्पन्न गर्नुपर्नेमा त्यस्ता जनतालाई दुःख दिनेहरूको सल्लाहमा लागेमा योजनाको भविष्य के होला ? तपाईँहरू आपैm विचार गर्नुहोस् ।
भक्तपुरमा अहिले पनि राणाशासन छः
भक्तपुरमा राणा शासन देख्नेले भक्तपुरको स्थितिबारे सामान्य जानकारी राखेर बोलेका भए राम्रो हुन्थ्यो । शिशु स्याहारदेखि कलेजसम्म सञ्चालन गर्ने देशमा भक्तपुर नगरपालिकामात्रै हो, गरिब विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि रु. ५ लाखसम्म ऋण प्रदान, गरिब जेहेनदार विद्यार्थीहरूलाई करोडौँको छात्रवृत्तिको व्यवस्थाका साथै भूगोल, इतिहास, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषामा उच्च शिक्षा हासिल गर्ने सबैलाई पूर्ण छात्रवृत्तिको व्यवस्थासहित ७ वटा कलेज सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा भक्तपुर नगरपालिकाले प्रदान गर्दै आएको छ ।
स्वास्थ्य क्षेत्रमा घरदैलो नर्सिङ सेवा, व्यवस्थित ख्वप अस्पताल सञ्चालन, सामुदायिक आँखा केन्द्र, श्वास प्रश्वास केन्द्र सञ्चालन र नगरस्तरीय आयुर्वेदिक केन्द्र सञ्चालन गरी सर्वसुलभ स्वास्थ्य उपचार सेवा पनि प्रदान गर्दै आएको छ ।
कला–संस्कृति संरक्षणमा उत्कृष्टता, संस्कृतिकर्मीहरूको सम्मान, मूर्त अमूर्त सम्पदाहरूको अध्ययन अनुसन्धान गर्नेहरूलाई प्रोत्साहनस्वरूप रकम प्रदान गर्ने पनि भक्तपुर नै हो ।
टोल—टोलमा खुला व्यायामशाला, पूर्णकालीन खेलकुद प्रशिक्षक नियुक्त गरी ७ वटा खेलको नियमित प्रशिक्षण, प्रत्येक युवालाई कुनै न कुनै खेलकुदमा सहभागिता गराउने प्रयास, हरेक वर्ष अन्तर नगर र अन्तर विद्यालय खेलकुद प्रतियोगिता तथा सरसफाइ र कला संस्कृति संरक्षणमा उत्कृष्टता भक्तपुरको विशेषता भइसकेको छ । समाजवादी देशमा बाहेक शिक्षा र स्वास्थ्यमा यति छिटो परिवर्तन सायद सम्भव छैन । यस्ता कैयौँ कामहरू छन् जुन जनतालाई केन्द्रमा राखेर भनपाले गर्दै छ । जनताको हितमा भएका कामहरूलाई भ्रष्टाचारी, तस्कर, गुण्डा नाइके, अपहरणकारीहरूले राणा शासन देख्नु आश्चर्यको कुरा होइन । व्यापक जनताको हितमा हामी यस्ता कामहरू निरन्तर जारी राख्नेछौँ ।
(२०७८ साल असोज ३१ र कार्तिक १ गते सम्पन्न ४१ औँ नेपालभाषा साहित्य तःमुंज्याको पहिलो दिन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभएको मन्तव्यको सार सङ्क्षेप—सं)
Leave a Reply