भर्खरै :

एमसीसी सम्झौताविरुद्ध उदयपुरमा प्रदर्शन र विरोध सभा

उदयपुर, ८ कार्तिक । देश हितविपरीतको एमसीसी परियोजनाको विरोधमा नेपाल मजदुर किसान पार्टीले देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन तथा सभा गर्ने क्रम चालु छ । सो क्रममा सोमबार उदयपुर जिल्लाको गोलपार्कमा विरोध सभा भयो । नेमकिपा उदयपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा भएको सभामा पार्टीका केन्द्रीय सदस्य उकेश कवांले एमसीसी परियोजना संरा अमेरिकाले एसियामा युद्ध थोपर्न बनाएको हिन्द–प्रशान्त रणनीति (आईपीएस) कै हिस्सा भएकोले साम्राज्यवादी चालबाजीलाई नेपालका देशभक्त जनताले असफल बनाउनुपर्ने बताउनुभयो ।
उहाँले संरा अमेरिकाले आफूलाई प्रजातन्त्रको ठेकेदार दाबी गरे पनि त्यहाँका काला, हेस्पानिक, एसियाली र ल्याटिन अमेरिकी मूलका जनताले अझै पनि प्रजातन्त्र अनुभव गर्न नपाएको बताउनुभयो ।
“अझै पनि जर्ज फ्योल्डजस्ता मानिसहरू निर्मम प्रहरीले घाँटी थिच्दा निस्सासिएर मर्न बाध्य छन् । ती जनतालाई अझै प्रजातन्त्र आएको छैन”, केन्द्रीय सदस्य कवांले भन्नुभयो ।
उहाँले एमसीसी सम्झौतामार्फत संरा अमेरिकाले नेपालको परराष्ट्र नीति आफ्नो नियन्त्रणमा लिन चाहेको चर्चा गर्दै नेपालका कर चोर, भ्रष्टाचारी र कमिसनखोरहरूलाई कारबाही गरे एमसीसी परियोजनाअन्तर्गत आउने भनिएको भन्दा बढी पैसा असुल्न सक्ने विचा व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले एमसीसी सम्झौताको समर्थन गर्ने राजनीतिक दल देशभक्त हुननसक्ने भन्दै एमसीसी सम्झौताले नेपाललाई संरा अमेरिकी साम्राज्यवादको क्रिडास्थल बनाउने बताउनुभयो ।
“एमसीसीले नेपालको विकासभन्दा यहाँको विद्युत् भारतको नियन्त्रणमा जानेछ”, संयोजक गुरूङले भन्नुभयो ।
उहाँले नेपालका केही मानसिकरूपमा साम्राज्यवादप्रति नतमस्तक कथित बुद्धिजीवीहरूले एमसीसीको समर्थन गरे पनि बहुमत जनता सम्झौताको विरोधमा रहेको बताउनुभयो । नेमकिपा उदयपुरका चन्द्रबहादुर कार्कीले एमसीसीविरोधी अभियानलाई अझ गाउँ–गाउँ र जनताको घर दैलोसम्म विस्तार गर्नुपर्ने बताउनुभयो । सभामा नेक्राविसङ्घका सविताले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *