भर्खरै :

यो त सा¥है भएन नि !

नेपालको राजनीति नराम्रोसँग बरालिएछ । राजनीति भनेको मूल नीति हो । मूल नीति नै बरालिएपछि अरू नीति बरालिनु कसरी अनौठो भयो र ? त्यसो त संरा अमेरिकामा अघिल्लो निर्वाचनमा डोनाल्ड ट्रम्पजस्ता असामान्य व्यक्ति राष्ट्रपति निर्वाचित भए । नेपालको पञ्चायती शासनमा नानीमैयाँ दाहाललाई राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित गरेर चरम उपेक्षा गरेको भन्थे । के ट्रम्पलाई निर्वाचित गरेर अमेरिकी जनताले पनि त्यसै गरे भन्ने रूपमा लिने ? कुरो गाँठो प¥यो नेपालको राजनीति बरालिएको प्रसङ्ग उठाउँदै थिएँ । कताको त्यति परको अमेरिका ठोक्किन पुग्यो । राष्ट्रिय राजनीति अहिले नेपालमा दिशाहीन भएको छ । सत्ताको औपचारिक नेतृत्व नेपाली काङ्ग्रेसले गरेको छ । नेपाली काङ्ग्रेसको नेतृत्व झन्डै झन्डै आधाभन्दा अलिकति बढी शेरबहादुर देउवाले गरेजस्तो देखापर्छ बाँकी भाग रामचन्द्र पौडेल, बीपीका छोरा, भतिजा, गणेशमान सिंहका छोरा, महेन्द्रनारायण निधीका छोरा र अरू अरूले गर्दै आएका छन् । काङ्ग्रेस पार्टीको तातो रोटी च्याटचुट पार्ने हुन् कि यी मूल्याहाहरूले भन्ने त्रासबाट त्रस्त छन् काङ्ग्रेसका सच्चा नेता र कार्यकर्ता । आफ्नोमात्र औकातले नभ्याउने काङ्ग्रेस नेताहरू कोही मृत बाबुलाई कोही आमालाई जोड्दै छन् । राजनीतिमा आफ्नो खान्दानी जोड्नु भनेको उच्च तहको राजनीति होइन जस्तो लाग्छ मलाई । तर मलाई लागेर के गर्नु र भएको छ त्यस्तै । प्रधानमन्त्री देउवा, सभापति पनि उनै छन् । नेपाली काङ्ग्रेसको फेरि पनि सभापति पड्काउने रणनीतिमा आकास पाताल जोड्दै छन् उनी ।
यो भन्दा अरू विभिण्डिन सक्छ ?
नेपाली काङ्ग्रेसको औपचारिकता या संवैधानिकताको प्रश्न दैैलोमा आएर उभिएको छ । तर, तयारी भने पुगेको छैन । मिति घचेट्दा घचेट्दा छेउमै पुगिसक्यो तर कैयौँ जिल्लामा क्रियाशील सदस्यको मुद्दा नटुङ्गिएर महाधिवेशन नै होला नहोला भन्ने दोधार हुन लागिसक्यो । नेपाली काङ्ग्रेसमा अझै पनि निथार पिथार आस्थाका काङ्ग्रेस छन् । तर, उनीहरूका कुरा सुनिँदैन । यो जो जीवनको अन्तिम समयसम्म काङ्ग्रेसको समाधि कुरेर बसे । यो अन्तिम घडीमा काङ्ग्रेस छोडेर कहाँ जानु । यस्ता आस्था र निष्ठाका काङ्ग्रेस न हाँसको चाल न कुखुराको चाल ? केको चाल केको चालदेखि विलखबन्दमा छन् । नेपाली काङ्ग्रेस बुढो भयो निरास भइसकेको थियो । तर, विश्वप्रकाश शर्मा, गगन थापाहरू तातेपछि काङ्ग्रेसमा नयाँ पुस्ता देखापर्दै छ । परन्तु, पुरानो पुस्ता आजीवन नेतृत्वकै लिसोमै टाँसिएर बस्ने मानसिक रोगग्रस्त भएकोले बोल बोल मछली मुखभरि पानीको स्थिति छ । यो मनोविज्ञानबाट अन्य राजनीतिक दल पनि मुक्त छैनन् । अरू त अरू प्रचण्ड रोगग्रस्त के.पी. शर्मा ओलीले आफू ०७४÷७५ वर्ष पुग्दासम्म पार्टी सभापति भइरहने पार्टी विधान स्वीकृत गराएर निर्लज्जताको पनि पराकाष्ठा गराए । अबको महाधिवेशनबाट आफू पुनः पार्टी सभापति हुन अनुकूलविधान अनुमोदन गराएर लोभको सीमा नहुने रहेछ भन्ने नमुना देखाए । योभन्दा राजनीति अरू विभिण्डिन हुनसक्छ ?
नेतृत्वमा उमेर हड
अरू पार्टीका उच्च नेताहरूको दा¥ही, जुँगा हेर्दा पनि आशालाग्दो सङ्केत देखापर्दैन । धेरै नेता पार्टीका ज्येष्ठ नागरिक भई आफ्ना अनुभव कम्युनिस्टहरूको नयाँ पुस्तालाई सुम्पी पार्टीका सम्मानित तर अनौपचारिक नेताको हैसियतमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने हो । तर, नेपाली माटो यस्तो रहेछ जहाँ एकपल्ट बीजारोपण गरेपछि सदासर्वदा हरियो भइरहने ऊर्जा रहेछ । एकपल्ट जुन माथिल्लो पदमा आरोहण ग¥यो त्यो सदा सर्वदाको लागि दाइजो वा पेवाको रूपमा कायम रहिरहोस् भन्ने मानसिकता प्रबल हुनेरहेछ । एकताका सिद्धिलाल सिंह, भरतमोहन अधिकारी ज्येष्ठ कम्युनिस्टको सम्मानित स्थानमा थिए, राम्रै भएको थियो । तर, त्यसपछि त्यो प्रवृत्तिले कति काम गरेको छ ? त्यस विषयमा घोत्लिनैपर्छ । म कम्युनिस्ट पार्टीको सदस्य हुने ताका कम्युनिस्ट पद्धतिमा बूढो भएपछि राज्यले नै मार्छ भन्ने थियो । हामी पार्टीका मान्छेले त्यसको जोडदार प्रतिकार गर्नुपथ्र्यो । क्रमशः त्यो अनर्गल हल्ला हल्लामात्र रहेछ भन्ने पार्न निकै परिश्रम गर्नुप¥यो । कमसेकम आजको विश्व त्यस्ता कम्युनिस्ट पद्धतिमा बूढाबूढीलाई मार्छ भन्ने हल्लाबाट मुक्त छ भन्ने लाग्छ । यहाँ त आज आर्यघाटमा मात्र पदबाट मुक्त हुने राणा शासनको मनोविज्ञानले नेताहरूलाई गाँजेको छ । यो प्रवृत्ति नितान्त कम्युनिस्टविरोधी प्रवृत्ति हो । काङ्ग्रेसदेखि सबै कम्युनिस्ट पार्टी र पूर्वपञ्चहरूका पार्टीहरूमा समेत मौलाएको छ । अब सम्पूर्ण राजनीतिक दलहरूमा नेतृत्वमा बस्न उमेरको हद तोक्नु परम आवश्यक भइसकेको छ, त्यसको वातावरण कायम गर्नु आजको प्राथमिकता हो ।
चर्को पर्नसक्ने चित्तमा लागेका ?
राजनीति बरालिएपछि अन्य सबै बरालिने नै भयो । यहाँ त न्यायपालिकासमेत पार्टी राजनीतिमा मिसियो । मन्त्री बनाउनै भागबन्डामा प्रधानन्यायाधीशसमेत नराम्रोसँग मुछिए पछि मर्यादा र आचरण भन्ने केही शेष रह्यो र ? विधायिका त्यसै अमर्यादित भइरहेको छ । एमालेले संसद् चल्न रोकावट गर्न नाराबाजी गर्दै छ । संसद् हो–हल्लाबीच विधेयक पारित भएको घोषणा गर्छ । यस्तो वातावरणमा पारित विधेयक कानुन बनेर आउँछ । राज्य त्यसरी आएका ऐन कानुनअनुसार चल्ने नै भयो । राजनीतिक दलहरू स्वभावतः आफ्नै पार्टीको सरकार बनोस् भन्छन् । यो झन् स्वाभाविक भयो । प्रहरीका पूर्वउपमहानिरीक्षक रञ्जन कोइराला आफ्नी श्रीमतीको हत्या गरेकोमा धेरै कैद सजाय कटौती गरी छुटे । यो त भएन नि सा¥है भएन । त्यत्रो प्रहरी हाकिमले आफ्नै श्रीमतीको हत्या गरेकोमा अरूलाई भन्दा बढी सजाय हुनुपर्ने । तर, अदालतले त्यसमा पनि स्वयं प्रधानन्यायाधीश जबराले जन्मकैद चर्को पर्न सक्ने चित्तमा लागेको भन्दै जेलमुक्त गराउनु न्याय हो ? पीडितले न्याय पाए त ? हत्या गरिएकी गीताका बाबु हरेराम ढकालले प्रतिक्रिया दिए जबरा पदमा रहेसम्म न्यायको आश छैन भन्ने मर्मान्तक प्रतिक्रिया दिए । यो प्रतिक्रियामा कति वेदना अन्तर्निहित छ । अनुमान गर्न सकिन्छ । जनताको आँसुले पोल्छ । यो रहस्य किन याद नगरिएको होला । सबैले दायित्व पूरा गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *