भर्खरै :

चुनावको लागि जनता झुक्याउने नयाँ एजेन्डाको खोजीमा शासक दल

‘राजनीतिक अस्थिरताको अन्त्य गर्ने’ वाचासहित जनतासँग मत माग्न पुगेका शासक दलहरू स्वयम् आज राजनीतिक अस्थिरताको कारण बनेका छन् । आफू सरकारमा छँदा केही पनि उपलब्धि जनतासमक्ष देखाउन नसकेपछि शासक दलहरूले चुनावमा आफ्नो अकर्मण्यताको दोष राजनीतिक अस्थिरतालाई पन्छाएर फेरि पनि मतदातासँग मत माग्ने बहाना बनाए । तर, उनीहरूका यस्ता चिप्ला कुरा फेरि पनि सत्तासुखकै लागि भएको र त्यसमा देश एवम् जनताको हितसँग केही लिनुदिनु नभएको कुरा अहिलेको राजनीतिक घटनाक्रमले पुष्टि हुँदै छ । जनताले राजनीतिक स्थीरताको लागि जनमत दिँदा पनि पाँच वर्षको कार्यकाल एउटै सरकारले पूरा गर्न सकेन । शासक दलहरूबीचको यो झै–झगडाले देश थप भद्रगोल बनेको छ । केन्द्रको झगडा यतिबेला प्रदेश र स्थानीय तहसम्म सङ्क्रमण हुँदै छ । बुधबार बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद सम्हालेको केही महिनापछि नै राजीनामा दिइन् । अन्य ६ प्रदेशको अवस्थामा पनि उस्तै छ ।
हिजो नेताहरूका भाषण सुन्दा भाषण कम, गालीगलौज बढी सुनिन्छ । उनीहरूबीचको सङ्घर्ष देशमा कस्तो राजनीतिक व्यवस्थाको जग बसाल्ने, विकासको कुन नीति अँगीकार गर्ने, नेपालको सन्दर्भमा समाजवादको विशेषता के हुनसक्छ आदि प्रश्नमा केन्द्रित पक्कै छैन । शासक दलका नेताहरूले दिनहुँ दिने भाषणमा यस्ता कुराको छनक कहीँ कतै सुनिन्नँ । बरु उनीहरू पद र सत्ताकै लागि लडेका थिए र लडिरहेका छन् भन्ने आधार भने कहीँ न कहीँबाट चुहिरहेको हुन्छ ।
विसं २०१५ सालमा भएको आमचुनावमा नेकाले बहुमत प्राप्त ग¥यो । तर, दुई वर्षपछि विसं २०१७ सालमा राजा महेन्द्रले गरेको सत्ताकब्जा नेकाको आफ्नो असफलताको ढाकछोप गर्ने कारण बनिदियो । त्यसयता विघटित नेकपाले संसदमा बलियो बहुमत प्राप्त गरेको थियो । छ–छ महिनामा सरकार परिवर्तन भइरहने अवस्थाको कारण वाक्कदिक्क भएका जनताले केही भई पो हाल्छ कि भन्ने आशाले बहुमत दिए । तर, नेकपाको विभाजन शासकहरूको लागि आफ्नो असफलता छोप्ने अर्को कारण बनिदियो ।
चुनाव नजिकिँदै छ । शासक दलहरू आफ्नो असफलता र अकर्मण्यता छोप्न अर्को कुनै न कुनै बहानाको खोजीमा लागिसकेको देखिन्छ । एक पक्ष गर्न खोज्दा पनि गर्न दिएनन् भन्ने कोकोहोलो मच्चाउनतिर लागेका छन् । अर्को पक्ष गर्न दिँदा पनि मनपरी गरे वा गर्न सकेनन् भन्ने हल्ला पिट्न लागेको देखिन्छ । शासक दलहरूले आफ्ना असफलता छोप्न जे पनि भन्दै जाने अनि नेपाली जनताले चुपचाप सहँदै हो भन्दै जानुपर्ने अवस्था आज छैन । धेरै पक्षले नेपाली समाजमा उल्लेखनीय परिवर्तन अनुभव गर्न सकिन्छ । हिजोजस्तै शासकले भनेको र फर्माएको आदेशको भरमा जनताले मान्दै जाने अवस्थामा छैन । आलोचनात्मक दृष्टिकोणले युवाहरूलाई को ठीक र को बेठीक भन्ने कुरा बुझ्ने बनाइसकेको छ । सूचनाको पहुँचले युवाहरू पनि आजको मात्र होइन हिजो र भोलिको कुरा पनि लेखाजोखा गर्नसक्ने भएका छन् ।
राजनीतिक अस्थिरताको कारण नेपालमा विकास र परिवर्तन नभएको होइन, बरु शासक दलहरूको सङ्कीर्णता र स्वार्थी भावना नै देशमा परिवर्तन नआउनुको मूल कारण भएको कुरा पछिल्लो चार वर्षको राजनीतिक घटनाक्रमले पुष्टि गरेको छ । अघिल्लो चुनावमा राजनीतिक अस्थिरताको कारण देश विकास भएन भनी भाषण गर्दै हिंड्ने शासक दलहरू अहिले निर्वाचन प्रणालीमा सुधार र परिवर्तनको कुरा गर्दै छन् । के अहिलेको निर्वाचन प्रणाली आकाशबाट झरेको थियो र ? अहिले निर्वाचन प्रणालीमा सुधारको रोइलो गर्ने नेताहरू नै यो निर्वाचन प्रणालीका वास्तुकार थिएनन् । एजेन्डामाथि खेलाएर देश र जनताको समय बर्बाद गर्ने अवस्थाको अन्त्य गर्ने कुरा भने नेपाली जनताको क्रियाशीलतामा निर्भर रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *