भर्खरै :

‘भक्तपुर’ मासिक भक्तपुरको अलग परिचय

  • कार्तिक ११, २०७८
  • अम्बिका न्याईच्याई
  • साहित्य

म सानो बेला मेरो बुबा तत्कालीन वडा नं १७ को नगर पञ्चायतको वडा सदस्यमा निर्वाचित हुनुहुन्थ्यो । त्यसबेला नेमकिपाका किसान नेता ज्ञानबहादुर च्याईच्याई प्रधानपञ्च हुनुहुन्थ्यो । त्यत्तिबेला पञ्चायती व्यवस्था थियो । रातो अक्षरमा ‘पञ्चायत’ भनेर पहिलो गातामा लेखिएको थियो । भित्री पेजको महत्वपूर्ण लेखहरूको शीर्षक उल्लेख हुन्थ्यो ।
भक्तपुर नगर पञ्चायतबाट निकाल्ने ‘पञ्चायत’ मासिकमा नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँको लेख पनि हुन्थ्यो । बसिवियाँलो, जगतसुन्दर मल्लको नेवारी कविता, कार्टुन पढ्ने बानी थियो ।
मलाई सोभियत रुसबाट प्रकाशन हुने ‘सोभियत भूमि’ र चीनले चीन सचित्र’ जस्ता चित्रात्मक पुस्तकहरू पढेको झझल्को अहिले पनि याद आउँछ । छोराछोरीहरूले विश्वको कम्युनिस्ट देशहरूबारे जानकारी पाओस् भन्ने हेतुले बुबा महिना महिनामा हामीलाई कोसेली ल्याउनुहुन्थ्यो । किताबको महत्व नबुझेर हामी ती किताबहरू पाठ्यपुस्तकमा गाता राख्थ्यौँ । कति त २०४५ सालको भक्तपुर काण्डमा घरमा खानतलासी हुने डरले छिमेकी काकाको घरमा खाल्डो खनेर हालेको थियो ।
२०७४ सालको स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिकाको १० वटै वडामा नेमकिपाका जनप्रतिनिधिहरू निर्वाचित भए । निर्वाचित जनप्रतिनिधिहरू आज पनि भक्तपुर नगरको विकासमा पार्टीको घोषणापत्रको लक्ष्य पूरा गर्न लागिरहेका छन् । नगरपालिकाको नीति तथा कार्यक्रमहरूदेखि बैठक, छलफल आदिबारे जनतासामु राख्न ‘भक्तपुर’ मासिकलाई निरन्तरता दिइँदै छ । श्रमिक, मजदुर, किसान, सिकर्मी, डकर्मी, शिक्षक, कर्मचारी, व्यापारीलगायत सम्पूर्णको पहिचान दिने विभिन्न ज्यावल अङ्कित ‘भक्तपुर’ को डिजाइन रामै्र देखिन्छ ।
वडा नं १ वडा कार्यालयबाट मासिक ‘भक्तपुर’ र पाक्षिक ‘ख्वप पौ’ नियमितरूपमा प्राप्त भइरहेको छ । सबैभन्दा पहिले भनपा वडा नं १ परिवारलाई अध्ययन गरेर सुसूचित हुने मौका दिएकोमा आभार व्यक्त गर्दछु ।
असोजको अड्ढ ‘भक्तपुर’ अध्ययन गर्दा मैले धेरै विषयमा जानकारी पाएको अनुभव गरेको छु । कार्टुुनले जल्दोबल्दो परिवेशतर्फ ध्यानाकर्षण गरेको छ । ‘एमसीसीको विरोध सडकदेखि सदनसम्म’ शीर्षकको लेख नेपाल सरकारलाई विद्युत् प्रसारण लाइन वितरण र सडक सुधार योजनाको लागि पाँच वर्षमा ५० (पचास) करोड अमेरिकी डलर उपलब्ध गराउने सम्झौतासम्बन्धी लेख हो । नेमकिपाको भ्रातृ स·ठन नेक्राविसङ्घ र नेक्रायुसङ्घको संयुक्त आयोजनामा जिल्ला – जिल्लामा विरोध जुलुस र सभा भइरहेको छ, जुन अत्यावश्यक छ । ‘भक्तपुर’ मासिकले पनि यस विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले सदनमा एमसीसीको विरोध गर्दै सरकारलाई खबरदारी गर्दै छन् । संसद्भित्र नेमकिपा एक्लैले प्रखर प्रतिपक्षको भूमिका खेलिरहेको यथार्थ हो ।
‘के विचार सानो र ठूलो हुन्छ र ?’ शीर्षकको विवेकको लेखमा ठूला दलको दुर्गुणबारे उल्लेख छ । दल ठूलो र सानोभन्दा मुख्य विचार र सिद्धान्त हो । जनताको सेवा गर्ने काम कहिल्यै पनि सानो हुँदैन, यो तीतो सत्य हो । पार्टी ठूलो बनाउन सांसद अपहरण गर्ने, लोभलालचमा फसाउने, चुनाव जित्न र भोट किन्न करोडौँ धन खर्च गर्ने, सत्तामा पुग्न जनतालाई भ¥याङ बनाउने, ठेक्कापट्टा, भ्रष्टाचार, र घुसमा बिक्ने पार्टी जनताको पार्टी हुनसक्दैन ।
इतिहास र संस्कृतिका अध्येता एवम् लेखक ओम धौभडेलले लेख्नुभएको ‘हाडा बिजुक्छेँहरूको इतिहास एक चर्चा’ लेख पढ्दा मल्ल राजाहरूको पालामा राज्य व्यवस्था सञ्चालनमा भारदारहरूबीच हुने कलह र हाडा बिजुक्छेँ भारतको राजस्थानबाट सीधै भक्तपुरमा बसाइ सरेको थाहा हुन्छ । डा. वीरेन्द्रप्रसाद कायस्थको ‘पायाः न्ह्याकेगु–खड्ग जात्रा’ लेखले जात्राबारे सबैलाई जानकारी दिएको छ ।
‘बल र धन हुँदैमा परिवारको सदस्यलाई पेल्न पाइँदैन’, भन्ने कुशलको लेखबाट । जनताको समस्या समाधान गर्नको निम्ति सपर्पित जनप्रतिनिधिहरू कति संयमित, विवेकपूर्ण काम गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ । भनपाको वडा नं १ को महत्वपूर्ण र ऐतिहासिक भौतिक निर्माण योजनाभित्र परेको ‘यसरी पुनः निर्माण हुँदै छ भक्तपुरको रानीपाखरी’, शीर्षकको रेणु त्वानाबासुको लेखमा फोटोसमेत क्षेत्रफल, लागत, उपभोक्ता समितिका अध्यक्षहरूको भनाइ उल्लेख भएको पाइन्छ । रानीपोखरीको क्षेत्रफल १५ रोपनी ५ आना २ पैसा रहेछ । यो काठमाडौँको रानीपोखरी भन्दा ४० वर्षअगाडि निर्माण भएको रहेछ । भक्तपुरका राजा जगज्र्याेति मल्लले १६८७ सालमा आफ्नी रानी राजलक्ष्मीको सम्झनास्वरूप उक्त रानीपोखरी बनाउन लगाइएको उल्लेख छ ।
भक्तपुर नपामा रहेका ११९ वटा पोखरीहरूमध्ये सिद्धपोखरी (न्हुःपुखु), भाज्यापुखु, नःपुखु, तेखापुखु महत्वपूर्ण छन् । यी पोखरीहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न आवश्यक छ । कृषि विशेषज्ञ सविन ख्याजूको ‘कृषिमा रोगकीरा परीक्षणको आवश्यकता’ लेख कृषि आयामसित सम्बन्धित छ । विश्व पर्यटन दिवसको अवसरमा नगरभित्रका २० जना सांस्कृतिक गुरुहरूलाई भनपाले गरेको सम्मान र उहाँहरूको फोटोसहितको परिचय पढ्न पाउँदा खुसी छु ।
बीचमा रहेको रङ्गीन फोटो राम्रो लाग्यो । सम्पादकको पृष्ठमा ‘लिनेलाई भन्दा दिनेलाई चटारो’ मा पद र पैसा पाए जन्म दिने आमा बेच्न प्रतिस्पर्धा गर्न नहिच्किच्याउने सबै पँुजीवादी पार्टीहरू एमसीसीबारे समान धारणा राख्छन् भन्ने उल्लेख गरिएको छ । देश र जनताको भविष्यको लागि एमसीसी सम्झौता खारेज गराउनुको विकल्प छैन । भोलि पछुताउनुभन्दा आज सङ्घर्ष गर्नु ठूलो बुद्धिमानी हुनेछ ।
सम्पादक लक्ष्मण जोशी, सहायक सम्पादक आशाकुमार चिकंबञ्जारलगायत भक्तपुर नपा परिवारप्रति नमन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *