भर्खरै :

धानको बीउ

धान काट्ने चटारोमा रहेका किसानहरूबीच कुन देशबाट आएको धान राम्रो र कुन देशबाट आएको धान नराम्रो भनी संवाद हुने गरेको छ । धेरै धान फल्ने भएकोले चिनियाँ बीउ राम्रो तर धेरै फोसा हुने भएकोले नराम्रो । धानको बोट सानो हुने भएकोले जापानी धान राम्रो तर समयमा नपाक्दा त्यो नराम्रो । धान राम्रो त ताइचिन हो, के गर्नु ताइचिनले मात्र खान पुग्दैन । भारतीय बीउको धान पनि राम्ररी फल्न सकेन । यस्ता संवाद सुन्दा हाम्रो देश कृषिप्रधान देश भन्नेमा पुनःविचार गर्न बाध्य बनाउँछ । सरकारी तथ्याङ्कअनुसार बहुमत जनता कृषि पेशामा निर्भर रहेको नेपालमा किसानले रोप्ने धानमध्ये लगभग सबैजसो बीउ विदेशबाट आयात गर्ने गरेका छौँ । यसरी आयातीत धान कस्तो हावापानी, कति पानी, कति पटकको गोडमेल, कस्तो माटोमा रोप्ने आदि कुरा सर्वसाधारण किसानलाई केही थाहा नहुँदा किसानको मिहिनेत खेर गइरहेको छ ।
कुनै पनि देशको धानको बीउ नेपालमा रोप्न दिन सरकारबाट अनुमति लिनुपर्ने नियम छ । सरकारले कुनै पनि देशको बीउ नेपाली माटोमा लगाउन अनुमति दिनुअघि त्यसको प्राविधिक पक्ष र अनुकूलन क्षमताको परीक्षण गर्नुपर्ने हुन्छ । तर, नेपालमा यस्तो परीक्षण झारा टार्नमात्र सीमित हुने गरेको छ । नेपालकै जिल्ला र क्षेत्रअनुसारको भौगोलिक अवस्था र हावापानी फरक छ । त्यसकारण, कतिपय कम्पनीहरूले एउटा हावापानीमा अनुकूल बीउलाई सरकारले अनुमति दिएपछि फरक खालको हावापानीमा बिक्री वितरण गर्दा धानखेती नष्ट हुने गरेको छ । यसको निम्ति सरकारी निकायको अनुसन्धान निकाय प्रभावकारी हुनुपर्ने हो ।
बीउ विक्रेता कम्पनीहरूले नाफाको लागि बीउको विशेषतालाई भन्दा बढी बिक्रीलाई जोड दिने गरेका छन् । अझ केही स्वार्थी व्यापारीहरूले आफ्नो स्टकमा रहेका धानका बीउलाई नयाँ प्याकेटिङ गरेर अथवा नयाँ बीउमा मिसाएर । बिक्री गर्दा किसानहरू मर्कामा पर्ने गरेका छन् । किसानहरूलाई धानको बीउको विशेषता, रोप्ने र हुर्काउने प्राविधिक कुरा थाहा नदिँदा धान खेती बिग्रिने गरेको छ ।
धान नेपालको प्रमुख बाली हो । भात नेपालको सबभन्दा बढी खाइने खाना हो । त्यसकारण सबभन्दा बढी खपत हुने अन्न चामल हो । तर, राज्यले यति महत्वपूर्ण अन्न अझ बढी उत्पादन गर्न देशमै वैज्ञानिक अनुसन्धानमार्फत थप उत्पादन हुने बीउको विकास गर्नमा ध्यान दिएको छैन । सरकारी निकायहरू स्वदेशमै उत्पादनमूलक धानका बीउ विकास गर्नतिर भन्दा विदेशी धानका बीउ आयातमै जोड दिइरहेका छन् । नार्कजस्ता कृषि अनुसन्धानको निम्ति बनाइएका निकायहरूलाई सरकारले पुग्दो बजेट उपलब्ध नगराउँदा एकातिर नेपालको स्थानीय बीउ मासिँदै गएको छ भने अर्कोतिर नेपालको कृषि क्षेत्रमा विदेशी बीउ हाबीको प्रयोग बढ्दै । विदेशी प्रविधिबाट सिक्नु नराम्रो कुरा होइन । तर, विदेशी प्रविधिबाट सिकेर नेपाललाई स्वाधीन बनाउन पनि उत्तिकै महत्वपूर्ण कुरा हो । त्यसको निम्ति सरकारले कृषि अनुसन्धानमा लगानी बढाउन जरुरी छ । नेपालमै रैथाने बीउबिजनको संरक्षण र विकासका लागि वैज्ञानिक अनुसन्धानलाई जोड दिनुपर्छ । प्राविधिक आदानप्रदानमार्फत विदेशी वैज्ञानिकहरूले गरेका उपलब्धिलाई नेपालको परिवेशमा लागु गर्न ध्यान दिनुपर्छ ।
बीउअनुसारको विशेषतालाई ध्यानमा राखी किसानलाई तालिम दिने विषयमा कृषि कार्यालयहरूले जोड दिनुपर्छ । कृषि तालिम भत्ता पचाउने प्रयोजनमा मात्र सीमित हुनु विडम्बना हो । कृषि क्षेत्रमा आत्मनिर्भरता नै देशलाई आत्मनिर्भरताको पहिलो र अपरिहार्य कदम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *