भर्खरै :

जनरल चाल्र्स दे गाल : एक अध्ययन – २

पेरिस र आरास
सन् १९०८ को गर्मी याममा दे गाल पेरिस फर्के । परिवारले उनलाई सेनामा जान अनुमति दियो । सेन्ट सिर विशेष सैनिक कलेज थियो । लुई चौधौँका विश्वासपात्रले हुनेखानेका छोरीहरू पढ्ने कन्या क्याम्पस बनाएको सेन्ट सिरलाई नेपोलियनले सैनिक कलेज बनाएका थिए । यहाँ खानदानीहरूले मात्र पढ्न पाउँथे । निम्न पुँजीपति वर्गका छोराछोरीको लागि अरू दुइटा कलेज थिए । सेन्ट सिर कलेज जेसुइटहरूकै नियन्त्रणमा थियो । नदेखिने पाराले उनीहरू कलेजको प्रशासनमा नियन्त्रण गर्थे । सरकारले जेसुइटहरूमाथि बन्देज लगाए पनि उनीहरूको भूमिगत काम जारी थियो । कलेजका धेरैजसो शिक्षकहरूलाई दे गालले चिन्थे । त्यसैले उनले सजिलै प्रवेश परीक्षा पास गरे । त्यो परीक्षा दिनुअघि परीक्षार्थीलाई एउटा विशेष समितिले स्वीकार गर्नुपथ्र्यो । यो समितिमा जेसुइटहरूले तालिम दिएका अफिसरहरू बस्थे । पारिवारिक पृष्ठभूमि, सम्बन्ध र प्रतिष्ठाको आधारमा परीक्षार्थी ‘भरपर्दो’ र ‘विश्वासिलो’ भएमात्र परीक्षामा राखिन्थ्यो । यो सामाजिक छनोट थियो । यो अफिसरको अलग्गै जात बनाउने प्रतिक्रियावादी प्रक्रिया थियो ।
वर्गीय रवाफ प्रयोग गरेर पास भएका सेन्ट सिरका विद्यार्थीहरू आफूलाई देशकै उत्कृष्ट युवा ठान्थे । तिनलाई छनोट गर्नेहरूले त्यसै भन्थे । विद्यार्थीहरू भन्थे – सैनिक बन्नु नै राम्रो पेशा हो, सेना चोखो छ, देश खातेहरूको हातमा हुँदासम्म हामी सेनामा गएर जर्मनीलाई धुलो चटाइरहनुपर्छ । फ्रान्सेली सेना चोखो भने थिएन । नेपोलियनको पालादेखि फ्रान्सेली सेनाले युद्ध जितेको थिएन । बरु पेरिस कम्युनका कम्युनार्डहरू मारेर जल्लाद सेना बनेको थियो । उसले अनेक उपनिवेशका रैथानेहरूको नरसंहार गरेको थियो । सेनामा भ्रष्टाचार उस्तै थियो । फ्रान्सेली मजदुरहरू सडकमा उत्रिँदा मात्र सेनाले ‘बहादुरी’ देखाउँथ्यो । त्यसै पनि सेन्ट सिर कलेजको विद्यार्थी सङ्ख्या घट्दै थियो ।
सन् १९०५ को मार्च महिनामा गणतन्त्रवादीहरूले एउटा कानुन ल्याए । सेन्ट सिर कलेजमा भर्ना हुने प्रत्येक विद्यार्थीले एक वर्ष साधारण सिपाही बनेर सेवा गर्नुपर्ने भयो । आदेश दिने मान्छेले अरूको खटनमा बस्नुपर्ने कुरा दे गाललाई पचेन । तैपनि नियमको कैदी बनेर उनी उत्तरी फ्रान्समा पर्ने आरासमा एक वर्ष सिपाही बन्न गए । त्यहाँ उनले सामान्य सिपाहीले भोग्नुपर्ने सबै पीरव्यथा र उच्छृङ्खलता सहेर काम गरे । फुर्सदको समयमा उनी आफ्ना मनपर्ने लेखकका रचनाहरू पढ्थे । तीमध्ये अलफ्रेड दिभिग्नीले सैनिक जीवनबारे धेरै लेखेका थिए । दे गाल दिभिग्नीका कविताहरूतिर आकर्षित भए । तिनको सार यस्तो थियो – “सेना राष्ट्रभित्रको राष्ट्र हो, हाम्रो समयको दुराचार हो । सेना राष्ट्रको ठूलो शरीरबाट अलग्गिएको शरीर हो । सेना सानो शिशुजस्तो देखिन्छ, बुद्धिमा पछौटे हुन्छ, किनभने बुद्धि बढाउन मनाही हुन्छ । युद्धमा लड्न छोड्यो भने आधुनिक सेना गुन्डादल हो । ऊ आफैदेखि लज्जित छ । आफूले के गर्छु र आफू के हुँ भन्ने उसलाई थाहा छैन ।… सैनिक भनेको मानिसहरूबीच बाँचिरहेको असभ्य युगको परपीडक अवशेष हो । तैपनि राष्ट्रप्रतिको लगाव र मायाजस्तो महत्वको चीज अरू केही छैन । यो बलि दिने परिवारले कहिलेकाहीँ त्यही गौरव ल्याउँछ ।… भद्र चरित्रको व्यक्तिले सैन्य पेशामा भित्र्याउने महानता म लडाइँको गौरवमा भन्दा पनि चुपचाप दुःख झेल्नुमा र प्रायः घिनलाग्दो कर्तव्य पालन गर्नुमा देख्छु ।” यिनै पङ्क्तिहरू पढेर दे गालले कष्टकर समय कटाए । त्यसो त पछि हाकिम भएर आउने व्यक्तिलाई त्यति सास्ती कसले दिन्थ्यो र ¤ उनीजस्ता व्यक्तिले धेरै दुःख पाउन्नथे । तैपनि दे गालले आफ्नो दायित्व पालन गरे ।
दे गाल एउटा गर्विलो इतिहास बोकेको सहरमा थिए । त्यहाँ दे गाल इतिहासबारे सोचमग्न हुन्थे । उनी वर्तमानमा भन्दा इतिहासमा बाँच्थे । ब्यारेकमा वर्तमानमाथि बन्देज थियो । सैनिकहरूलाई पत्रपत्रिका पढ्न जोड दिइन्नथ्यो । समाजवादी पत्रिका कुनै सिपाहीको हातमा देखिए बम पड्किए बराबर मानिन्थ्यो । बडाराष्ट्र अहङ्कार बोकेका पत्रिकाहरू पढ्न मनाही थिएन । सन् १९०५ को अन्त्यतिर चर्चलाई राज्यबाट अलग्याउने कानुन पास भयो । केही समय खुब खैलाबैला भयो । तर, लौकिक कामबाट कामदार जनताको ध्यान मोडेको अलौकिक बत्ती निभाएकोमा पुँजीवादी नेताहरू खुसी थिए । फ्रान्समा वर्गसङ्घर्षको राँको भने बलिरहेको थियो । सन् १९०९ मा मात्रै फ्रान्समा १ हजार २५ वटा मजदुर हडताल भएका थिए । वर्गसङ्घर्षले गृहयुद्धको रूप लिँदै थियो । सन् १९०७ मा एउटा रेजिमेन्टमा सैनिकहरूले अफिसरहरूतिर बन्दुक फर्काएका थिए । सेनाले त्यसको सुइँको कसैलाई दिएन । ब्यारेकहरूमा त्यसको बारेमा कानेखुसी गर्न पनि मनाही थियो । बाहिर हुलाकी र रेलमार्ग सेवाका कामदारहरू हडतालमा थिए । ब्यारेकभित्र त्यसलाई विदेशी गुप्तचरहरूको भाँडभैलो भनी प्रचार गरिएको थियो । सन् १९१० को अक्टोबरमा दे गाल रेलमा बसेर आरास जाँदै थिए । त्यति नै बेला मजदुर हडतालले आरास र पेरिस जोड्ने रेलमार्ग बन्द भयो । त्यो मजदुर हडताललाई उनले ‘अर्थ न बर्थको’ भने ।
युद्धको आभास
२० वर्षको उमेरमा दे गाल सिरमा पढाइ सकेका ‘सिरार्ड’ बने । उनी अग्लो कदका थिए । त्यसैले साथीहरू उनलाई ‘साढे छ फुटे’ भन्थे । उनको नाक लामो थियो । नाककै बारेमा उनले सिरानो दिबार्गेरेक भन्ने मनोवाद पढेको हुनाले उनलाई केही साथीहरू सिरानो भन्थे । त्यस्तै, उनले रमाइलो गर्न एउटी गाउँले बेहुलीको अभिनय गरेका थिए । राजनीतिक जीवनमा अभिनयको यो कला उनलाई पछि काम लाग्यो ¤ सेन्ट सिरको सैन्य पाठ्यक्रम र तालिम कठोर थियो । सैन्य इतिहास, भूगोल, प्रशासन र कानुनको अध्ययन गर्नुपथ्र्यो । हतियार, युद्धकला सिकाइन्थ्यो र कडा शारीरिक तालिम दिइन्थ्यो । फुर्सदमा चाल्र्स दे गालले पुस्तकहरू पढ्ने र आफ्नो कुराकानी सुन्ने साथीहरूसँग घुम्न निस्किन्थे । उनका धेरै साथी थिएनन् । छलफलको विषय फ्रान्सेली राजनीति हुन्थ्यो । उनीहरू गणतान्त्रिक नेताहरूलाई निन्दा गर्थे । सेनाविरोधी समाजवादीहरूको प्रचारमा आक्रोशित हुन्थे । दक्षिणपन्थीहरूका अखबार पढ्ने हुनाले समाजवादीहरूबारे उनीहरूको विचार अतिवादी र पूर्वाग्रही हुन्थ्यो ।
युद्ध सैनिकहरूको मुख्य रुचिको विषय हुने नै भयो । युरोपमा युद्धका बादल देखिँदै थिए । युरोप दुई खेमामा बाँडिएको थियो । एकातिर फ्रान्स, बेलायत र रूसको एन्टेन्ट नामक गठबन्धन थियो । अर्कोतिर जर्मनी, अस्ट्रिया–हङ्गेरी र इटालीको सैन्य गठबन्धन थियो । भर्खर उदाइरहेको जर्मन साम्राज्यवादले युरोपका अन्य साम्राज्यवादी देशमाथि आँखा गाड्दै थियो । सन् १८७० को जर्मनीसँगको युद्धमा हारेको भए पनि फ्रान्सले ठूलो साम्राज्य बनाएको थियो । यसबीच फ्रान्सले अफ्रिकाको मोरक्कोमा कब्जा जमाएको थियो । सन् १९११ जुलाई १ मा जर्मनीले मोरक्कोको एउटा बन्दरगाहमा आक्रमण ग¥यो । जर्मन अखबारहरूले युद्ध सुरु गरेको झ्याली पिटे । तर, राम्रो तयारी नहुनाले एन्टेन्ट देशहरूले कुनै प्रतिक्रिया जनाएनन् ।
दे गालजस्ता राष्ट्रवादीहरू अलसाक र लोरेनलाई जर्मन कब्जाबाट मुक्त गरेर राइन नदीलाई सीमा बनाउन चाहन्थे । यसो गरेर उनीहरू देशलाई युरोपको शक्तिशाली राज्य बनाउने सपना बुन्थे । यसको लागि कस्तो हतियार चाहिएला वा कस्तो रणनीति अपनाउनुपर्ला भन्ने कुरा नै उनीहरूको छलफलको विषय बन्थ्यो । त्यसबेला एक फ्रान्सेली सैन्य जर्नेलले वायुसेनालाई ‘रमाइलो खेल’ भनेका थिए । अफिसरहरू यसबारे तातो बहस गर्थे । कलेजमा उनले केही मित्र र झोक्की स्वभावका कारण केही शत्रु पनि बनाए । सन् १९१२ अक्टोबर १ मा दे गालले सेन्ट सिरको पढाइ सके र कनिष्ठ लप्टन बने । सोही अवसरमा उनले कहिल्यै राजनीतिमा नलाग्ने औपचारिक शपथ खाए ।
युरोपमा युद्धको बादल
सेन्ट सिरका अब्बल विद्यार्थीहरूले चाहेको स्थानमा नियुक्ति लिन सक्थे । सेनामा धेरैले घोडचढी पल्टन छनोट गर्ने चलन थियो । तर, मेसिनगनको युग नजिकिँदै जाँदा त्यो पल्टनमा दे गालको मन गएन । जल र वायु सेनामा जान उच्च प्राविधिक ज्ञानको खाँचो पथ्र्यो । त्यसैले दे गालले आरासकै ३३ औँ पैदल रेजिमेन्ट छनोट गरे । उत्तरी फ्रान्सका जनता र दे गालको मिजास मिल्थ्यो । दे गालको मावली लिले त्यतै थियो ।
दे गालको सैनिक जीवन सुरु भयो । ३३ औँ पैदल रेजिमेन्टमा उनका कमान्डर फिलिप पेताँ थिए । पेताँ अति रुढीवादी थिए । राज्यलाई धर्मबाट अलग बनाउने सरकारी निर्णय हुँदाहुँदै पनि उनले सैनिकहरूलाई धार्मिक सङ्गतीहरूमा सहभागी हुन उत्साहित गर्थे । खासमा फ्रान्सेली सेना सन् १८३२ को कानुनअनुसार चल्थ्यो । गणतन्त्रवादीहरूले सेनालाई प्रजातान्त्रिक बनाउन धेरै प्रयास गरे । तैपनि यसको संरचना र परम्परा राजतन्त्रवादी थियो । सेनामा जातिप्रथाको ठूलो भाउ थियो । राज्यभित्रको अर्को राज्य थियो फ्रान्सेली सेना । अफिसरहरू आफूलाई सर्वसाधारणभन्दा माथि ठान्थे । सेनालाई राजनीतिबाट अलग राख्नुको अर्थ यही थियो । संसद्वादका विरोधी दे गालको विचार सेनाको यो स्थितिसँग मिल्थ्यो । दे गालको मिजास पनि सेनासुहाउँदो थियो । उनका धेरै साथी थिएनन् । त्यसैले एक्लोपनालाई उनले स्वभावझैँ अपनाए । सैन्य पेशाले मान्छेलाई अहङ्कारी र घमण्डी बनाइदिन्छ । दे गालमा पहिल्यैदेखि त्यस्तो लक्षण थियो । उनी आफ्नो काम उत्साहका साथ गर्थे । यसो गर्दा समकक्षीहरूले भाग खोस्न आएझैँ गरे तर माथिल्ला अफिसरहरूले उनको काम गराइको प्रशंसा गरे । सन् १९१३ अक्टोबरमा उनी लप्टनमा बढुवा भए ।
मोरक्कोको विषयमा फ्रान्स र जर्मनीबीच सुरु भएको तनाव कम भइसकेको थियो । तर, बाल्कन क्षेत्रमा एकपछि अर्को लडाइँ भइरहन्थ्यो । यी लडाइँहरू ठूलो युद्धमा विष्फोट हुन बेर थिएन । सन् १९१२ को डिसेम्बरमा युरोपभरि युद्धको सन्त्रास छायो । आफ्नो राजधानी कन्स्टान्टिनोपोल कब्जा हुने देखेपछि टर्कीले सर्बिया, बुल्गेरिया र ग्रीससँग सम्झौता ग¥यो । टर्कीलाई सघाउन अस्ट्रो–हङ्गेरीले सेना परिचालन गर्दै थियो । अस्ट्रो–हङ्गेरीले रूसमाथि आक्रमण ग¥यो भने रूस जर्मनीमाथि जाइलाग्ने र यस्तो मौकामा अलसाक र लोरेन कब्जा गरेर फ्रान्सले बदला लिन सक्ने फ्रान्सेली राष्ट्रवादीहरूको विचार थियो । रूसले त्यसो नगरेपछि फ्रान्स चुप लाग्यो । खासमा फ्रान्सको सेना जर्मनीको भन्दा सानो थियो । त्यहाँका राष्ट्रवादीहरू ‘युद्ध नगरेको ४० वर्ष भयो’ भनी चिच्याइरहेका थिए । त्यसैले सन् १९१३ को जनवरीमा युद्धवादी रेमोँ पोइँकेयर राष्ट्रपति बनेपछि यो विचार झन् बलियो बन्यो । मार्चमा अनिवार्य सैन्य सेवा लागु भयो । त्यसो गर्दा पनि सेनाको आकार जर्मनीको जत्रो भएन । बेलायती जलसेना र रुसी लडाकूहरूको सहयोग छँदै थियो । तर, फ्रान्सका जर्नेलहरूप्रति सरकारको अन्धसमर्थन थियो । सन् १८७० को फ्रान्स–जर्मनी युद्धमा यस्तै विश्वासले नोक्सान गरेको थियो । निजामति कर्मचारी र जनताभन्दा आफूलाई माथि देख्ने अफिसर वर्गले सेना हाँकेको थियो । फ्रान्सेली सेनाको सोच परम्परागत थियो । ऊ जगेडा सेनालाई वास्ता नगरी मुख्य सेनामा निर्भर थियो । जति क्षति भए पनि अघि बढ्नू भन्ने रणनीति थियो । शत्रुलाई रोक्न बलियो छेकबार वा ट्रेन्चको बन्दोवस्त थिएन । प्रविधिको कुरा गर्दा जर्नेलहरूले ठूला तोप र मेसिनगनहरू अनावश्यक भएको हाकाहाकी बोल्थे । वायुसेनालाई महत्व दिइन्नथ्यो । दे गाललाई पनि सेनालाई चाहिँदो तालिम नपुगेको अनुभव भयो । तर, उनी चुपचाप आफ्नो कर्तव्य पालन गर्दै थिए ।
अनिवार्य सैन्य सेवाको कानुनको फ्रान्समा विरोध भयो । खासगरी समाजवादी जौरेसले युद्धविरोधी विचारको व्यापक प्रचार गरे । सन् १९१४ को चुनावमा समाजवादीहरूले भारी मत ल्याए । संसद्मा उनीहरूको सिट सङ्ख्या ७२ बाट बढेर १०२ पुग्यो । युद्धको विरोधमा समाजवादीहरूले आमहडतालहरू गर्न थाले । कम्युनिस्टहरूले युरोपभरि नै त्यस्तो हडताल बढाउनुपर्ने निधो गरे । राष्ट्रवादी विचारलाई वर्ग, विचार, राजनीति र धार्मिक मतभेदले धक्का दिने त होइन भनी दे गाल चिन्तित भए ।
प्रथम विश्वयुद्ध
सन् १९१४ जून २८ मा अस्ट्रियाका राजकुमार फ्रान्ज फर्डिनान्डको हत्या भयो । युरोपमा एक प्रकारको सङ्कट छायो । सारा फ्रान्सेलीहरू देशको पक्षमा गए । जुलाई ३१ मा जौरेसको हत्या भयो । त्यसपछि समाजवादीहरू पनि ‘देशभक्त’ बन्न पुगे । फ्रान्सका सबै राजनीतिक दलहरूले ‘पवित्र गठबन्धन’ बनाए । युद्धविरोधीहरूलाई पक्राउ गर्ने योजना थियो । तर, त्यसो गरिएन किनभने जर्मनी र अस्ट्रियाका समाजवादीहरू पनि आआफ्ना सरकारहरूको समर्थनमा गए । ‘पवित्र गठबन्धन’ ले समस्त फ्रान्सलाई एकढिक्का बनाएकोमा दे गाल खुसी थिए । उनी यस्तै राष्ट्रको पक्षमा थिए । तर, समाजवादीहरू ‘पवित्र गठबन्धन’ मा सहभागी हुनुका दुई कारण थिए – एक, दोस्रो कम्युनिस्ट इन्टरनेसनलमा पलाएको अवसरवादी सोच† दुई, राष्ट्रवादीहरूले प्रचार गरेको सन् १८७० को युद्धको बदला लिने विचार । फेरि, आक्रमणकारी जर्मनी हुनाले युद्ध रक्षात्मक देखिएको थियो । त्यसैले फ्रान्सेलीहरू खुला मनले विश्वयुद्धमा सहभागी भए । तर, युद्धले फ्रान्सेलीहरूका समस्या कम गरेन, बरु झन् चर्काइदियो ।
विश्वयुद्ध सुरु हुँदा दे गाल २४ वर्षका थिए । शत्रुको रणनीति र शक्ति नबुझी फ्रान्सेली सैन्य कमान्डले आक्रमण ग¥यो । उसको मुख्य सेना अलसाक, लोरेन र बेल्जियमतिर फर्केको थियो । दे गाल रहेको ३३ औँ रेजिमेन्टको बटालियन बेल्जियमको सिमातिर गयो । खासमा सबैभन्दा कमजोर बिन्दुबाट फ्रान्स छिर्ने हुँदा जर्मनहरूले यो बाटो रोजेका थिए । त्यसैले यहाँ जर्मनीको मुख्य सेना थियो । यो योजना सन् १९०५ मा बनेको थियो । यसबारे फ्रान्सेली जर्नेलहरूलाई पनि थाहा थियो । तैपनि धेरै तयारी नगरी फ्रान्स लडाइँमा होमियो । बेल्जियमको एउटा सानो बस्तीनिर खोलाको पुल जोगाउँदै गर्दा सन् १९१४ अगस्त १५ मा दे गाल घाइते भए । उनलाई आरास ल्याइयो । उत्तरबाट शरणार्थीहरू दक्षिणतिर लागे । जर्मन सेना आराससम्मै आयो । दे गाल पहिलो हप्तामा नै शत्रुको हातमा पर्न चाहन्नथे । त्यसैले एक्लै पेरिस हुँदै ल्योन सहरतिर लागे । जर्मन सेना पेरिसनिर आइपुग्यो । फ्रान्स सरकार भागेर पश्चिम समुद्र तटमा पर्ने बोरडओ गयो । फ्रान्सेली सेनाको गलत रणनीतिले गर्दा ५ लाख जनता मरे । रणनीति उल्ट्याएपछि मात्र जर्मनहरू पछि हट्न बाध्य भए । रूसी सेनाले पूर्वबाट आक्रमण गरेपछि जर्मन सेना पश्चिमबाट पूर्व मोडिनुपर्ने भयो । यसकारण, फ्रान्सेली सेनाले म्यार्ने नदीनिर जर्मनहरूलाई हराउन सक्यो ।
दुई महिनापछि दे गाल निको भए । उनको रेजिमेन्ट शाम्पेँको मोर्चामा गयो । सन् १९१५ मा फ्रान्ससितको जर्मन सीमा शान्त थियो । जर्मन सेना रूसी सेनासँग लड्नमा व्यस्त थियो । यही मौका छोपेर फ्रान्सले ससाना लडाइँहरू तीव्र पा¥यो । लडाइँहरू घमासान हुँदै गए । यस्तैमा दे गाल दोस्रोचोटि पनि घाइते भए । सन् १९१५ को जूनमा दे गाल निको भए । लडाइँमा रेकीको काममा ठूलो साहस देखाएको हुँदा उनलाई कप्तानमा बढुवा गरियो । अब उनी १० औँ कम्पनीका कमान्डर बने । सन् १९१६ को सुरुमा जर्मन सेनाले फ्रान्सेली सीमाको लडाइँमा ध्यान मोड्यो । उसले ठूलो गोलाबारीका साथ फ्रान्समाथि आक्रमण ग¥यो । फ्रान्सेलीहरू पछि हट्न बाध्य हुँदै थिए । सैन्य कमान्डरले दे गालको कम्पनीलाई भेरदुन क्षेत्रमा पठायो । त्यहाँ जताततै लासहरू थिए । एकछिनको शान्ति चिर्दै जर्मनी सेनाले गोलाबारी सुरु ग¥यो । अचानक चारैतिरबाट जर्मनी सेनाले दे गालको कम्पनीलाई घे¥यो । आफ्ना सैनिकहरूलाई बटुलेर दे गालले घेरा तोड्न खोजे । यस्तैमा जर्मनहरूसँग घम्साघम्सी सुरु भयो । जर्मन मुक्का खाएर दे गाल ढले । दे गाल मारिएको खबर घर पुग्यो । तर, दे गाललाई जर्मनहरूले बन्दी बनाएका थिए । ३२ महिनासम्म दे गाल जर्मनीमा कैदमा रहे । यसबीच दे गालले अनेकचोटि जेलबाट भाग्ने असफल प्रयास गरे । जर्मनहरूले उनको जेल फेरिरहन्थे । जेलमा दे गालले जे हात प¥यो त्यसको अध्ययन गर्थे । घटनाक्रम फ्रान्सको पक्षमा जाँदै थियो । उनी जर्मन अखबारहरू पढ्थे र टिपोट टिप्थे । यसले उनलाई पछि किताब लेख्न सजिलो भयो । बन्दीहरूले तास खेलेर, गीत गाएर र गफ गरेर समय कटाउँथे । बन्दीहरूमा बेलायती र रुसीहरू पनि थिए । दे गालले एक रुसी अफिसरलाई साथी बनाए र उनलाई फ्रान्सेली भाषा सिकाए । उनको बौद्धिकता र भद्रताले धेरैलाई प्रभावित गथ्र्यो ।
प्रस्तुति : सुरेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *