भर्खरै :

जिम्मेवार पदाधिकारीको अनुशासनहीनताले देशकै बदनाम

भक्तपुुर, १७ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप मा.वि. तथा शारदा क्याम्पस मा.वि.मा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भेला बुधबार सम्पन्न भयो ।
भेलामा अध्यक्ष बिजुक्छेँले असल संस्कार र राम्रो पद्धति अँगाल्नेहरू जहाँ पनि सफल हुने धारणा राख्नुभयो ।
अनुशासनको पालनामा जोड दिँदै उहाँले कुनै पनि कार्यक्रममा समयमा पुग्नुपर्ने आवश्यकता औँल्याउँदै निर्धारित समत्न्दा ढिलो पुग्नु अशिष्ट व्यवहार हो भन्नुभयो ।
पदीय जिम्मेवारी भएका व्यक्तिहरूले अनुशासनलाई अझ कडाइका साथ पालना गर्नुपर्ने र व्यावहारिक हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “जिम्मेवार व्यक्तिहरू अनुशासनहीन हुँदा देशकै बेइज्जत भएका धेरै उदाहरण छन् ।”
विद्यार्थी जीवनदेखि भाइबहिनीहरूलाई असल संस्कार दिनसके तिनीहरूबाट भविष्यमा कममात्र गल्ती हुने अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
राजनीतिले सबैलाई समेटिने चर्चा गर्दै उहाँले भन्नुभयो, “मानिसले राजनीति छोड्नसक्छ । तर, राजनीतिले मानिसलाई कहिल्यै छोड्दैन । संसद् भनेको तर्कपूर्ण बहस र छलफल गर्ने थलो हो । तर, अहिले संसद् मुढे बल तथा शक्ति प्रदर्शन गर्ने थलो भइरहेको छ । यो राम्रो लक्षण होइन ।”
युवा–विद्यार्थीलाई कम्तीमा एउटा विदेशी भाषा सिकाउनुपर्नेमा जोड दिँदै अध्यक्ष रोहितले उत्पादन श्रमसँग जोडिएको शिक्षा दिनसके ५० प्रतिशत दुःख प्रारम्भिक चरणमा समाधान हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “देश जोगाउने काम सरकारको मात्र होइन प्रत्येक नागरिकको जिम्मेवारी पनि हो ।”
भक्तपुर नगरपालिकाका प्रमुख एवम् कार्यक्रमका सभापति सुनिल प्रजापतिले भनपाबाट सञ्चालित शैक्षिक संस्थाहरूको उद्देश्य कम शुल्कमा गुणस्तरीय शिक्षा दिई देशभक्त नागरिक तयार गर्नु हो भन्नुभयो ।
भनपाबाट सञ्चालित शैक्षिक संस्थाहरू देशकै पहिचान बनिरहेको हुँदा कार्यरत शिक्षक तथा कर्मचारीहरूको जिम्मेवारी अझ बढेको उहाँले बताउनुभयो ।
भनपाका गतिविधिहरूबारे जानकारी दिँदै उहाँले कोरोनाबाट बच्ने एउटै उपाय कोरोनाविरूद्धको खोप लगाउनु भएकोले भनपाले प्रत्येक वडामा व्यवस्थितरूपमा खोप दिइरहेको उल्लेख गर्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “सम्पत्ति मुख्य कुरा होइन । सम्पत्तिलाई व्यवस्थापन गर्नु ठूलो कुरा हो । देशको शासन व्यवस्था व्यवस्थित नभएकै कारण कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको स्थिति भद्रगोल छ । सिद्धान्त र विचारको आधारमा पार्टी एकता र विभाजन हुनुपर्नेमा अदालतको निर्णयले हुने गर्दा नेपालको हरेक क्षेत्र भद्रगोल स्थितिमा पुगेको छ ।”
भागबन्डामा नियुक्त न्यायाधीशले स्वतन्त्र र निष्पक्ष न्याय दिन नसक्ने दाबी प्रमुख प्रजापतिको भनाइ थियो ।
उहाँले भन्नुभयो, “राजनीतिक आवरणका कारण गुन्डा, चोर, काला बजारिया र घुसखोरहरू संरक्षित भएसम्म देश विकास हुने कल्पना गर्न सकिन्न ।”
प्रमुख प्रजापतिले जोड दिँदै भन्नुभयो, “शिक्षकले पढाइसँगसँगै विद्यार्थीलाई देशप्रति जिम्मेवार बन्न सिकाउनैपर्छ ।” भक्तपुर नपाका उपप्रमुख एवम् कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यले शैक्षिक गतिविधि अगाडि बढाइरहेको प्रस्ट पार्दै कोभिड महामारीबीच पनि नपाबाट सञ्चालित कलेजहरूले अनलाइनमार्फत पठनपाठन गर्दै आइरहेको सकारात्मक रहेको बताउनुभयो । कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, विद्यालयका उपप्राचार्यद्वय लक्ष्मीप्रसाद कर्माचार्य, विष्णुप्रसाद किसी र शिक्षक गोकर्ण दुलालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *