“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
नेपाल संवत् ११४२ आजबाट सुरु हुँदै छ । नेपालको मौलिक र राष्ट्रिय संवत्को प्रयोगमा अपेक्षित व्यापकता अझै हासिल भइसकेको छैन । तथापि, नेपाल संवत् नेपालमा स्वीकार्य संवत् बनिसकेको छ ।
नेपाल संवत्को आरम्भबारे धेरैथरी प्रसङ्ग चर्चामा छन् । तीमध्ये कतिपय कुरा अतिरञ्जनापूर्ण छन्, केही लाक्षणिक छन् भने कतिपय अविश्वसनीय छन् । नेपाल संवत्का संस्थापक मानिएका शङ्खधर साख्वाबारे थप अध्ययन अनुसन्धान हुन सकेको छैन । नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउनुपर्ने आन्दोलनका अभियन्ताहरूले थालेको अभियानले शङ्खधर साख्वासँग जोडिएका धेरै कथा, आहान र भनाइ अघि सारे । अभियन्ताहरूबाट एक तहमा भएको अनुसन्धान प्रशंसनीय थियो । तर, त्यसमा कति सत्यता र वैज्ञानिक आधार छन् भन्ने कुराको खोजी भने राज्यले गरेको देखिएन । राज्यले साख्वाबारे अनेक भनाइमध्ये कुन सही हो र कुन गलत हो, कुन कथ्य हो र कुन तथ्य हो भन्ने कुरा छिनोफानो गरेको देखिएन । त्यसकारण, साख्वाबारे अनेकन कपोलकल्पित कुरा पनि प्रचारमा छन् ।
बुद्ध दर्शनका प्रणेता गौतम बुद्धबारे आलोचनात्मक र वैज्ञानिक अध्ययन अनुसन्धानका कुरा नआउँदा उनीबारे पनि अनेकथरी भ्रम प्रचार भयो । गौतम बुद्ध जन्मनेबित्तिकै सात पाइला हिँडेको र उनका हरेक पाइलामा कमलको फूल फुलेको कथालाई लामो समयसम्म नेपाली विद्यार्थीले पढिरहे र त्यो अवैज्ञानिक कुरालाई नै सत्य ठान्दै बसे । इतिहासको वैज्ञानिक र द्वन्द्वात्मक अध्ययनको निम्ति त्यस्ता कथा लामो समय तगारो बनिरह्यो । बुद्धले दरबार बाहिर देखेका ‘तीन सत्य’ अर्को त्यस्तै भ्रम थियो । तर, चाप्लुसी र आराधनाको दर्शनमा आधारित इतिहासको अध्ययनले आफ्नो पक्षलाई देवत्वकरण गर्ने र विरोधी पक्षलाई राक्षसीकरण गर्ने विकृति अद्यापि कायम छ ।
शङ्खधर साख्वा र नेपाल संवत्को इतिहासबारे अध्ययन गर्दा इतिहास अध्ययनका यस्ता विकृतिबाट जोगिन आवश्यक छ । यसले इतिहास र ऐतिहासिक पात्रमाथि मात्र अन्याय हुने होइन, बरु सिङ्गो समाजको दृष्टिकोण नै खोटपूर्ण हुने गर्छ । त्यसको मूल्य नेपाली समाजले लामो समयसम्म चुकाउनुपर्नेछ ।
नेपाल संवत् नेपाली सांस्कृतिक इतिहासको प्रमुख घटनामध्ये पर्दछ । नेपाल संवत्को नयाँ वर्ष आरम्भका क्रममा मनाइने विभिन्न उत्सव र पर्व नेपाली समाजको मौलिक संस्कृति हो र यसले हाम्रो पुर्खाको सांस्कृतिक समृद्धिलाई पनि इङ्गित गर्छ । कृषिमा आधारित काठमाडौँ उपत्यकाको समाजमा नयाँ अन्नको गृहप्रवेशसँगै सुरु हुने नयाँ वर्ष नेपाली इतिहासको द्वन्द्वात्मक अध्ययनको निम्ति प्रस्थानबिन्दु हुनसक्छ ।
नेपाल संवत्लाई रचनात्मकरूपमा मनाउने नयाँ संस्कृति अर्को कदरयोग्य कुरा छ । नेपाल संवत्को अवसरमा हुने विभिन्न सांस्कृतिक गतिविधि समृद्ध समाजको द्योतक हो र यसले समाजमा नयाँ संस्कृति निर्माण भइरहेको देखाउँछ । यस्तो संस्कृति फेरि पनि समाजलाई प्रगतिको बाटोमा डो¥याउने प्रगतिशील संस्कृतिको जगमा उभिन आवश्यक छ ।
नेपाल संवत्प्रति व्यवहारतः फेरि पनि सङ्कीर्णता र साम्प्रदायिकताको समस्या कायम नै छ । त्यसलाई क्रमशः छ्यास्ने दायित्व राज्य र जिम्मेवार नेपाली समाजको हो । नेपाली माटोमा हुर्केको जनताको कुनै पनि संस्कृतिलाई जनताले फराकिलो आयाममा स्वीकार्दै जाँदा नेपाली संस्कृति अझ समृद्ध हुँदै जानेछ । अझ सद्भावपूर्ण र फराकिलो बन्दै जानेछ ।
नेपाल संवत् ११४२ को हार्दिक शुभकामना !
Leave a Reply