भर्खरै :

तः मुंज्यामा देखिएको तत्परता

तःमुंज्याको स्थापना २०३७ देखि २०७८ सालसम्म (४१ औँ सम्म) को केहीबाहेक हरेक वर्षको कार्यक्रमको नियमित सहभागी श्रोता हुँ म । यसो हेर्दा निश्चित समुदायले मनाउने कार्यक्रमजस्तो लाग्छ तर यसको स्वरूप व्यापक तथा राष्ट्रिय स्तरको छ । आयोजक नेपालभाषा साहित्य तःमुंज्या छ । तर, कार्यक्रममा नेपालभाषा नबुझ्नेहरू पनि संलग्न रहेको देखिन्छ । कार्यक्रममा काम गरिखाने मजदुर, किसान, साना व्यापारीहरू नै मुख्य श्रोता छन् ।
राजनैतिक एवम् वर्गीयरूपमा काम गरिखाने जनताको आफ्नै कार्यक्रम हो तःमुंज्या । माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराकै प्रतिबिम्ब हो तःमुंज्या । नेमकिपाको पूर्ण छाया छ तःमुंज्यामा । पुँजीवादी पार्टीका वरिष्ठ भनिने नेता र कार्यकर्ता भए खादा र फूलमालाका ढेडी घाँटीमा थुपारेर अतिथि भएर मञ्चमा लिसो टाँसिएझैँ टाँस्दा हुन् ।
तःमुंज्याको भिन्दै चहलपहल हुन्छ । नेमकिपाका नेताहरू, सांसदहरू, प्राध्यापकहरू, शिक्षक र साहित्यप्रेमीहरू दुई दिनसम्म निरन्तर खटिइरहेका हुन्छन् । महिला र किसानहरू पानीको बन्दोबस्तमा निरन्तर लागिरहेका हुन्छन् । मानौँ आफ्नै भान्सा र खेतको काम हो त्यो । टाढाबाट आएका श्रोता अतिथिलाई खाजा खुवाउने मान्छेहरू उस्तै फूर्तिला, हँसिला, रसिला सबै व्यवस्थित र स्वचालितजस्तो देखिन्छ ।
ब्यानरमा लेखिएको हेर्दा पूर्णतः साहित्यिक कार्यक्रम तर थुपै्र विषय पस्किन्छ मञ्चमा । डाक्टरले सहभागीहरूलाई स्वास्थ्यको बारेमा गहन कक्षा सञ्चालन गरिरहेका हुन्छन् । कविता र गीतमा विद्यमान पुँजीवादी राज्य व्यवस्थाको बेथितिको विरोधमा सङ्घर्षमा उत्रिन आह्वान गरिएको हुन्छ । संस्कृतिविद्हरू कला र संस्कार–संस्कृति संरक्षणका उपदेशहरू दिइरहेका हुन्छन् ।
न्यायकर्मीहरू वर्तमान अवस्थामा न्यायक्षेत्रको बेथितिप्रति व्यङ्ग्य गरिरहेका हुन्छन् । सीमाविद्हरू हाम्रो देशको सीमा मिचिएका ठाउँका विवरणहरू दिइरहेका हुन्छन् । भारतीय विस्तारवादी देशबाट मिचिएका सीमा रक्षार्थ विरोध र विद्रोह गर्न आह्वान गरिएको हुन्छ । सहभागीहरू कुनै विद्यालयको कक्षामा बसेका जस्ता शान्त छन् ।
मञ्चमा उभिने वक्ताकोे गीत÷कविता वा मन्तव्य जेसुकै होस् एमसीसी सम्झौताको विरोध गरिएकै हुन्छ– साहित्यिक कार्यक्रम नभई एमसीसीको विरोधमा गरिएको जनसभाजस्तो । कार्यक्रममा वक्ताहरूले नेमकिपाको समाजवादी तथा देशभक्तिपूर्ण आन्दोलनको मुक्तकण्ठले प्रशंसा गर्दा हरेक श्रोता गौरवको अनुभूति गर्छन् ।
कार्यक्रममा क्यान्सरजस्तो घातक रोगबाट कसरी बच्ने भन्नेबारेमा गहनरूपमा प्रशिक्षित हुन्छन्, सहभागीहरू । मुटुरोग, महिला स्वास्थ्य समस्या, कोभिड महामारीबाट जोगिने उपायहरू पनि तःमुंज्यामा जानकारी पाइन्छ । तामाङ भाषीहरूको सांस्कृतिक प्रस्तुतिले तःमुंज्या नेवारहरूको मात्र होइन यो सबै भाषाभाषीहरूको साझा थलो हो भन्ने बुझिन्छ ।
दुई दिनसम्म निरन्तररूपमा सञ्चालित कार्यक्रममा सहभागीले मास्क लगाएका थिए । स्यानिटाइजर ठाउँठाउँमा राखिएको थियो । स्वयम्सेवक स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सेवा प्रदान गरे । पुस्तक र पत्रपत्रिका पनि प्रदर्शनी गरिएको थियो । यसबाट कार्यक्रम बहुआयमिक छ भन्ने थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *