“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
कोभिड–१९ महामारीबाट संसारको कुनै क्षेत्र प्रभावमुक्त रहेन । सङ्क्रमण रोक्न लागु भएका महिनौँ महिनाको लकडाउनले अर्थतन्त्रको अवस्था ‘जाडो महिनामा सर्पको अवस्था’ मा पुग्यो । दिनहुँ सयौँ सङ्ख्यामा मानिसले ज्यान गुमाइरहेको र यस्तो भयावह अवस्था कति लामो हुने कुराको कुनै टुङ्गो नभएको अवस्थामा अर्थतन्त्रलाई गतिशील बनाउनेभन्दा पनि संसारका सबै सरकार र निजी क्षेत्रको ध्यान जे छ, त्यसलाई धान्ने थियो । तर, कोभिड–१९ को खोपको आविष्कारसँगै संसारले सन्तोषको श्वास फे¥यो । खोपले कम्तीमा कोभिड–१९ महामारीको अन्त्य हुनेछ भन्ने मानिसको आशालाई अझ बलियो बनायो । विकसित देशहरूले आफ्नो धन र प्रविधिमा पहुँचको प्रतापमा छोटो समयमा नै आफ्ना नागरिकलाई खोप दिएर महामारीको क्षति घटाउन प्रयास थाले । गरिब देशको नियतिमा भने अझै पनि धेरै ठूलो सुधार आइसकेको छैन ।
अधिकांश विकसित देशहरूले खोप कार्यक्रमसँगै आर्थिक पुनःस्थापनाका कार्यक्रमहरू पनि घोषणा गरे । कोभिड–१९ महामारी एक प्रकारको महायुद्ध नै हो । खोपको आविष्कार महामारीमाथि प्रारम्भिक जीतको आधारशिला थियो । महामारीलाई पराजित गरेपछि संसारको ध्यान अवरुद्ध अर्थतन्त्रलाई वेगवान बनाउनु थियो । विकसित देशका अर्थशास्त्रीहरूले अर्थतन्त्रमा गतिशीलताका निम्ति धेरै कार्यक्रमहरू प्रस्ताव गरे । तर, त्यस्ता आर्थिक कार्यक्रम बनाउँदा कसैलाई पनि फेरि पनि महामारी फैलिन सक्ने सम्भावनालाई उपेक्षा गर्ने छुट थिएन । एक हिसाबमा भन्दा एकातिर महामारीसँगको नटुङ्गिएको लडाइँ र अर्कोतिर अर्थतन्त्रको जीवन्तता नै विकसित देशहरूको प्राथमिकता बन्यो ।
गरिब र विकासशील देशहरूलाई भने अझै आफ्ना सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाउन खोपको जोहो गर्न नै धौ धौ थियो । उनीहरूसँग पुग्दो खोप खरिद गर्न मनग्य धन थियो न त विज्ञान प्रविधिमाथि पहुँच नै । समाजवादी देश क्युवाले बाहेक संसारका कुनै पनि विकासशील देशहरूले खोपको विकास गर्न सकेन । आफ्नो देशमा खोप उत्पादन नभएपछि ती देशहरूसँग खोपको लागि विकसित देश र बहुराष्ट्रिय निकायहरूको भरपर्नुको विकल्प छैन ।
आजसम्म आइपुग्दा अवस्थामा केही सुुधार पक्कै भएको छ । विकसित देशहरूले आफूलाई आवश्यकभन्दा निकै गुणा खोप सञ्चय गरे पनि खोपको उत्पादन वृद्धि र बहुराष्ट्रिय संस्थाहरूको सक्रियता तथा विश्वव्यापी दबाबको कारण खोपको परिधि क्रमशः फराकिलो बन्दै गएको छ । जान बाँकी बाटो अझ निकै लामो छ । तर, यात्रा भने निरन्तर जारी छ ।
नेपालमा पनि खोपमा तुलनात्मकरूपमा राम्रो प्रगति गरेको देखिन्छ । दक्षिण एसियाली देशहरूमा नेपालमा पूर्ण मात्रा खोप लगाउने जनसङ्ख्या दर सन्तोषजनक नै मान्नुपर्छ । त्यसको अर्थ ठूलै उपलब्धि भएको होइन । अझै पनि पूर्ण मात्रा खोप लगाउने जनसङ्ख्या ५० प्रतिशत पु¥याउन धेरै समय लाग्ने देखिन्छ । शतप्रतिशत खोप त अलि परकै कुरा हो ।
यस परिस्थितिमा अब सरकारले कोभिड–१९ माथि पूर्ण नियन्त्रणको लागि खोप अभियान र स्वास्थ्य पूर्वाधार विस्तारसँगै अर्थतन्त्रलाई गतिशील बनाउने कार्यक्रमहरू लागु गर्न जरुरी छ । महामारीको मारमा परेका उत्पादनमूलक क्षेत्रलाई सरकारले प्रोत्साहन गर्दै बजारको गतिशीलता विस्तार गर्न जरुरी छ । देश धनी बनाउने भन्दै नागरिकमाथि करको भार थोपरेर फेरि पनि मारमा परेका जनतालाई अर्को मारमा पर्ने काम सरकारबाट हुनु भएन । बरु अर्थतन्त्रका विभिन्न पक्षलाई सक्रिय बनाउन सोचविचारपूर्ण योजनाहरू बनाइन आवश्यक छ ।
Leave a Reply