भर्खरै :

नेमकिपाको १० औँ कालीकोट सम्मेलन खड्गराज शाही अध्यक्ष निर्वाचित

कालीकोट, २७ कार्तिक । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको दसौँ जिल्ला सम्मेलनको बन्दसत्र शनिबार सम्पन्न भयो ।
बन्द सत्रमा पार्टीका सचिव प्रेम सुवालले पार्टी सदस्य र कार्यकर्ताहरूले पार्टी प्रकाशन अध्ययन र अन्तरक्रियामार्फत पार्टीको तत्कालीन लक्ष्य जनताको प्रजातन्त्र र दीर्घकालीन लक्ष्य समाजवाद हुँदै साम्यवादमा पुग्ने विषयमा जनतालाई शिक्षित गर्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी सदस्यहरूले पार्टी विधानमा उल्लेख भएअनुसार मद्यपान र धूमपान सेवन नगर्ने, जुवा–तास नखेल्ने, झूट नबोल्ने, महिलालाई दुव्र्यवहार नगर्ने, आन्दोलनमा भाग लिने, आम्दानीअनुसार लेबी दिने गर्नु जरूरी छ ।”
पार्टी केन्द्रको निर्देशन र निर्णयविना स्थानीयरूपमा अन्य पार्टीसँग गठबन्धन, मोर्चा र संयुक्त चुनाव तथा आन्दोलनमा लाग्न नहुनेतर्फ सचिव सुवालले सचेत गराउनुभयो ।
उहाँले थप्नुभयो, “पार्टी कार्यकर्ताहरूले आफ्नो वडा, टोल र ठाउँमा सफाइ अभियान र अन्य सामाजिक सेवा गर्नु आवश्यक छ । तर, विदेशी पैसाबाट सञ्चालित गैरसरकारी संस्थाहरूमा लाग्नु हुँदैन ।”
कर्णाली क्षेत्र पछाडि पर्नुमा बहुदलको तीस वर्ष सरकारमा गएका दल र नेताहरू दोषी भएको जिकिर गर्दै सचिव सुवालले हेलिकप्टर चढेर राज्य कोष दुरूपयोग गरेका प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरूकै घरघरानाबाट असुलउपर गरिनु जरूरी रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले समाजमा व्याप्त अन्धविश्वासले आमूल परिवर्तनको लागि बाधा दिने चर्चा गर्दै छाउपडी, बोक्सा–बोक्सीलगायत अन्धविश्वास अन्त्यको लागि पार्टी कार्यकर्ताले गाउँ–गाउँ र वडा–वडामा पुगी जनचेतनामूलक अभियान चलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “महिलाहरूलाई सचेत र सङ्गठित गरी राजनीतिक चेतनास्तर उकास्नुपर्ने अहिलेका आवश्यकता हो ।”
उहाँले थप्नुभयो, “बाल विवाह अन्त्य गर्नुपर्छ । छोरीहरूलाई नपढाउने र राजनीतिमा नलगाउने हो भन्ने पार्टीको विकास हुन्न र समाज पनि अगाडि बढ्दैन ।”
नेक्रामहिला सङ्घका सुलोचना छ्वाजूले पार्टी आफै एक विश्वविद्यालय भएकोले सङ्गठनमा लाग्नेहरूले धेरै कुरा सिक्न पाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संशोधनवाद, अराजकतावाद, अवसरवाद र उदारवादजस्ता राजनीतिक शब्दावलीबारे कार्यकर्ताहरू स्पष्ट हुनु आवश्यक छ ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य नरदीप शाहीले कर्णालीको वस्तुस्थितिबारे जानकारी गराउनुभयो
उहाँले भन्नुभयो, “शासक दलका जनप्रतिनिधिहरू राजनीतिक भागबन्डामा अलमलिएका छन् । शासक पार्टीले जिल्लावासीको हितभन्दा आ–आफ्नो स्वार्थ र कार्यकर्ताको सिफारिसमा प्रदेश र वडाको बजेट हिनामिना गरिरहेको छ ।”
बन्द सत्रमा सभापति नवराज कोइरालाद्वारा प्रस्तुत समितिको प्रतिवेदन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरिएको थियो ।
बन्द सत्रले खड्गराज शाहीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मतले निर्वाचित ग¥यो । कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई पार्टीका सचिव प्रेम सुवालले शपथ ग्रहण गराउनुभएको थियो ।
सोही दिन पार्टीका विभिन्न जनवर्गीय सङ्गठनको भेला भयो ।
भेलाले नेपाल क्रान्तिकारी किसान सङ्घ, नेपाल क्रान्तिकारी महिला सङ्घ, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको पुनःगठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *