भर्खरै :

भक्तपुरमा राजनीतिक सचेतता

गत असोज २५ गते ‘कान्तिपुर’ ले सधैँ सवाल सोध्ने सुवाल शीर्षकको समाचार छापेको थियो । फेरि कार्तिक २२ गते भक्तपुरको आफ्नोपन शीर्षकमा सम्पादकीय नै लेख्यो । यी दुवै सामग्री प्रायोजित नभएर स्वतःस्फूर्त लेखिएका थिए । तिनका कारण भक्तपुर खुसीले फुर्किएको/हौसिएको छैन । ऊ कसैको प्रशंसा पनि चाहँदैन । घमण्ड गरेर पनि फुल्दैन । अरूले नराम्रा, नगरेका र नगर्ने कामको गफ र विज्ञापन गर्दै गर्दा ऊ चाहिँ आफूले गरेका र गर्ने असल कामको विज्ञापन गर्न पनि मन पराउँदैन । बरु चुपचाप आफ्नो नयाँ नयाँ योजना, काम र कर्तव्यमा व्यस्त रहन्छ ।
पछिल्लो सामग्रीमा अझै समेट्न बाँकी केही कुरा रहेको देखियो अनि केही फरक बुझाइको प्रस्तुति पनि । यसैबारेमा सङ्क्षिप्त चर्चा गरौँ ।
भक्तपुर जुजु धौ, भादगाउँले टोपी, हस्तकला, काष्ठकलाका सामान, जात्रापर्वले मात्र पहिचान राख्दैन । यहाँ अनुशासित र व्यस्त खालको पठन संस्कृति छ । ठूला चाडपर्वका बेलामा अन्यत्र जलपानसहितको भव्य शुभकामना आदानप्रदान कार्यक्रम चल्र्दै गर्दा यहाँ शैक्षिक योजनाका विषयमा छलफल हुन्छ । प्रकाशित÷अनुदित नयाँ पुस्तकका विषयमा समीक्षा एवम् चर्चा परिचर्चा हुन्छ । यो बेलामा राष्ट्रिय स्तरका पत्रिकाहरूको प्रकाशन बन्द हुँदा, यहाँका ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले आफ्नो काम छोड्दैनन्, नियमितता तोड्दैनन् । भक्तपुरे लेखकहरू, काठमाडौँका पारिश्रमिक दिने पत्रिकामा लेखेर पैसा लिनुभन्दा आफ्नै ‘श्रमिक’/‘मजदुर’ मा निःशुल्क लेख्न रुचाउँछन् । ४२ वर्षअघिदेखि बर्सेनि भव्यरूपमा सञ्चालन भइआएका नेपालभाषाको तःमुंज्या कार्यक्रमले हरेक पटक एउटा नयाँ तरङ्ग ल्याउन सफल भएको छ ।
व्यापारिक हिसाबले नभए पनि यहाँ हाकुपटासीलगायतका कपडा बनाइन्छ । शिक्षा नेपालको, कापी भक्तपुरको नारासहित कपी उद्योग चलाइएको छ । सानो भए पनि आत्मनिर्भर संस्कृतिकोे यो अर्को उदाहरण हो ।
भक्तपुरले आफ्नो पहिचान कायम राख्नुमा सन् १९७४–१९८७ सम्म जर्मनीबाट प्राप्त आर्थिक सहयोग उल्लेखनीय छैन । त्यो एउटा सहायकमात्र हो । बरु, उक्त कार्यक्रमले ल्याएको ढलनिकासका कारण, कतिपय खानेपानीको मुहान र ढुङ्गेधारा बिग्रिएको कुरा यहाँका समाजसेवीहरू बताउँछन् ।
स्मरणीय के छ भने, भक्तपुरमा रहेको नेमकिपालाई समाप्त पार्न पञ्चायती कालमै भक्तपुर काण्ड रचिएको थियो । तर, यो पार्टीको अस्तित्व सार्थकरूपमा रहिरहेको छ ।
‘भक्तपुरका विद्यालयमा धेरै टाइट गरेर पढाइ हुन्छ रे !’ भन्ने सुनेका कतिपय विद्यार्थी/अभिभावकले अन्यत्रै पढे/पढाएको पनि सुनिएको छ । अन्य पार्टीमा जस्ता कार्यकर्तालाई पनि पैसा तिराएर सदस्यता दिलाइन्छ । नेमकिपामा पैसा तिरे पनि खराब कार्यकर्ताले सदस्यता पाइँदैन । इमानदार र असल बन्नुपर्ने यस्तो नियम पालना गर्न नसक्ने भएपछि खराब कार्यकर्ताजति अन्यत्र लाग्ने गरेका छन् ।
नढाँटी भन्ने हो भने भक्तपुरले यो रूपमा आफ्नो पहिचान कायम राख्न यहाँको राजनीतिक सचेतता नै हो र त्यो सचेततालाई खम्बाको रूपमा स्थापित गरेर फुलाउँदै फलाउँदै राष्ट्रसेवा र समाजसेवासँग जोड्ने मानवीय गुण भएका आदर्श व्यक्तित्व नारायणमान बिजुक्छेँ नै हुनुहुन्छ भन्ने कुरा पनि जगजाहेर छ । पछिल्लो समयमा राष्ट्रघाती एमसीसीका बारेमा विरोध गरेर देशव्यापी चेतना फैलाउने एकमात्र राजनीतिक पार्टी नेमकिपा नै हो । यसबारेमा ‘कान्तिपुर’ ले कुनै दिन लेख्ला नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *