भर्खरै :

“समाजवादी व्यवस्थामा मात्र कामदार जनताले सुख पाउने”

बाँके, २९ कार्तिक । १०४ औँ महान् अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा सोमबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले समाजवादी व्यवस्थामा मात्र कामदार जनताले सुख पाउने चर्चा गर्दै भन्नुभयो, “समाजवादी व्यवस्थामा निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था, उपचार निःशुल्क, रोजगारीको सुनिश्चितता, विदेशी ऋणको भार बोक्न नपर्ने, सबै उद्योग र कलकारखाना राष्ट्रियकरण हुने, महिला र पुरूषको समान ज्यालाको बन्दोबस्त हुने बताउनुभयो ।
अक्टोबर क्रान्तिजस्तै नेपालमा पनि समाजवादी क्रान्तिको लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले समाजवादी व्यवस्थामा मात्र महिला मुक्ति सम्भव भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा जाने शासक दलहरू सबै पुँजीवादी हुन् । नाम फरक भए पनि उनीहरूको कार्यशैली र व्यवहार समान छन् ।”
शासक दलहरू भारतीय एकाधिकार पुँजीको गोटी भएको उहाँले उल्लेख गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले साम्राज्यवादी देशहरूको मुख्य उद्देश्य हतियार बेच्ने भएकोले तिनीहरू युद्ध थोपर्न चाहन्छन् भन्नुभयो ।
चुनावबाट क्रान्ति सम्भव नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “क्रान्तिकारी विचार, क्रान्तिकारी नेतृत्व र क्रान्तिकारी पार्टीले मात्र समाजमा आमूल परिवर्तन ल्याउन सक्छ भन्ने कुरा अक्टोबर समाजवादी क्रान्तिले सिकाएको छ ।”
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले काल्पनिक समाजवाद, माक्र्सवाद, द्वन्द्वात्मक भौतिकवाद र अक्टोबर समाजवादी क्रान्तिबारे जानकारी दिनुभयो ।
अञ्जिरबहादुर शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा दैलेखका केशेन्द्र कार्की, नेमकिपा बाँकेका गौरीकान्त आचार्य, नेक्रामहिला सङ्घका सुलोचना छ्वाजू र खड्गराज थापाले पनि बोल्नुभएको थियो ।
नेमकिपा बाँके जिल्ला सदस्य गोमा शाहीको सम्झनामा सोमबार श्रद्धाञ्जली सभा भयो । नेक्रामहिला सङ्घ बाँके जिल्ला समितिको आयोजनामा भएको उक्त सभामा बखत थापा, केशेन्द्र काकी, गौरीकान्त आचार्य, अञ्जीरबहादुर शाही, जर्मकन्या रोकाया र कोकिला शाहीले दिवङ्गत शाहीको योगदाबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *