भर्खरै :

हामी बहादुर नै छौँ त ?

हामी भाषणमा सुन्छौँ
गीतमा बुझ्छौँ
किताबका पानाहरूमा पढ्छौँ
शत्रुको छातीमा सङ्गिन घुसाई
देशको रक्षा गर्ने
हामी बहादुर नेपाली
हामी वीर नेपाली ।
पुर्खाले पानीसमेत नखाई
रक्तसिञ्चित देशको सीमा
रक्षा गरेको थियो रे !
विश्वयुद्धको जमानामा
हाम्रो पुर्खाले वीरताको रेखा
कोरेको थियो रे !
हो साँच्चै,
त्यसबेला हामी वीर थियौँ÷ बहादुर थियौँ
यो वास्तविकता हो÷यथार्थ हो
त्यसबेला पो हामी बहादुर थियौँ त÷ वीर थियौँ त !
पुर्खाले खाएको घिउको स्वादको धक्कु
अहिले लगाउन मिल्छ र ?
के अझ पनि हामी बहादुर छौँ त ?
के अझै पनि हामी वीर छौँ त ?
मलाई डर लाग्छ–
बहादुर भन्न,
मलाई लाज लाग्छ
वीर भन्न ।
किनकि,
अहिले हामी विदेशीको हातमा
आफ्ना सन्तान बेच्न बाध्य छौँ,
विदेशीको अगाडि मगन्तेको हात थाप्न
लाज मान्दैनौँ,
हामीले आफ्नो बाल–बच्चाको मामको लागि
काम दिन सकेनौँ
मागीमागी ल्याएको माममा पनि
भ्रष्टाचार गर्छौँ
भ्रष्टाचार गराउँछाँै ।
भ्रष्टाचारीलाई
हामी सुम्सुम्याउँछौँ
माया गर्छौँ
त्यसैलाई वीरताको तक्मा भिराई दिन्छौँ
आफ्नै वर्गभाइको छातीमा सङ्गिन घोच्न
भाडाका सिपाही बन्न
प्रोत्साहन दिन्छौँ ।
लिपुलेक र कालापानीमा
आफ्नो खुट्टाले टेक्न
‘प्रभु’ को आदेश माग्छौँ
सुस्ता र महाकाली
हाम्रै हो भन्न धक मान्छौँ
देशको एकमुठी माटो पनि
आफ्नो भन्न सकेनौँ ।
देशको रक्षा गर्न खोज्ने
आफ्नै सन्तानलाई ‘प्रभु’ ले
कालको मुखमा पठाउँदा पनि
बक फुटाएनौँ ।
अतः के अब पनि हामी
बहादुर नै छौँ त ? वीरै छौँ त ?

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *