भर्खरै :

एमसीसीविरुद्ध देशव्यापी अभियान चालु, धादिङमा जुलुस र सभा

धादिङबेसी, १ मंसिर  । एमसीसी सम्झौताविरुद्ध देशव्यापी जनजागरण अभियानअन्तर्गत नेपाल मजदुर किसान पार्टीले बुधबार धादिङको सदरमुकाम धादिङबेसीमा जुलुस प्रदर्शन तथा विरोधसभाको आयोजना ग¥यो ।
धादिङको पुछारबजारबाट सुरु भएको जुलुस माझबजार पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले देश जोगाउन एमसीसीको विरोध गर्नैपर्ने आवश्यकता औँल्याउनुभयो ।
एमसीसी सम्झौता खारेज गर्न नेपाली जनता अन्तिम क्षणसम्म लड्नुपर्ने आवश्यकता औँल्याउँदै केन्द्रीय सदस्य गोसाईले हरेक नेपाली जनतालाई एमसीसीको वास्तविकताबारे छर्लङ्ग पार्नुपर्नेमा जोड दिनुभयो ।
“विदेशी पैसाले कुनै पनि देश विकास भएको छैन । संरा अमेरिकाले ऋण र अनुदानको नाममा दिने पैसा नेपालको विकासमा खर्च नभई त्यो पैसा अमेरिकामा नै फर्किने निश्चित छ । विदेशीले दिएको पैसा सबै नेपालको विकासमा खर्च भएको भए नेपाल अहिलेसम्ममा गरिब नहुनुपर्ने थियो”, उहाँले स्पष्ट पार्नुभयो ।
एमसीसी वासिङ्गटनमा बनाएर नेपालमा अनुमोदन गराउन खोजिएको सम्झौता भएको हो भन्दै उहाँले एमसीसी सम्झौतामा भारतीय शासक वर्गको पनि स्वार्थ रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “एमसीसी सम्झौताबारे कसैले पनि दुविधा राख्नुहुन्न । यो हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य गठबन्धन नै हो । संरा अमेरिकाले एसियामा युद्ध थोपर्दै चालबाजीका साथ हतियार बेच्ने षड्यन्त्र गर्दै छ । देशलाई खरानी हुनबाट जोगाउने काम प्रत्येक नागरिकको कर्तव्य नै हो ।”
एमसीसीको विरोध नगर्नेहरू कम्युनिस्ट हुनै नसक्ने धारणा राख्दै उहाँले भन्नुभयो, “विश्वमा बढ्दै गइरहेको चिनियाँ छाप र प्रगति रोक्ने बदनियतसाथ संरा अमेरिकी सरकार लागिपरेको छ । एमसीसीमार्फत संरा अमेरिका चीनविरुद्ध नेपालमा गतिविधि गर्न खोज्दै छ”, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सहसंयोजक सुरेश परियारले एमसीसी पास गरिए नेपाली जनताले शासक नेताहरूलाई कठघरामा उभ्याउने चेतावनी दिनुभयो ।
सार्वभौम र स्वतन्त्र देशले कुनै हालतमा वैदेशिक हस्तक्षेप नस्वीकार्ने स्पष्ट पार्दै उहाँले एमसीसीको पक्षमा कुनै स्वाभिमानी नेपाली नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका मीनबहादुर बाटाले धादिङबेसीका जनतालाई एमसीसीविरोधी सङ्घर्षमा सहभागी हुन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *