भर्खरै :

सांस्कृतिक प्रतियोगिता गर्न भक्तपुरमा सांस्कृतिक गुरुको भेला

भक्तपुर, २ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त बनाउन र यसको उत्थानको लागि सांस्कृतिक गुरुहरूको भूमिका र योगदान उल्लेखनीय भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरभित्रका विभिन्न विधाका सांस्कृतिक गुरुहरूको भेला कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि निर्वाचन घोषणा पत्रअनुसार नगरपालिकाले २०७४ सालमा बाँसुरी बाजा, २०७५ सालमा धाँ बाजा र २०७६ सालमा धिमाय् बाजा प्रतियोगिता आयोजना गरेको र २०७७ सालमा कोभिडका कारण प्रतियोगिता गर्न नसकेको अवगत गराउनुभयो ।
उहाँले यस वर्ष भक्तपुर नपाले सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने उद्देश्यअनुरूप सांस्कृतिक गुरुहरूको राय—सुझावलाई प्राथमिकतामा राखी सांस्कृतिक गुरुहरूको भेला आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुरवासी जनताको साथ र सहयोग पाएर नगरपालिकाले आफ्ना हरेक गतिविधिलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेलेको बताउँदै सांस्कृतिक गुरुहरू समाजका प्रतिष्ठित व्यक्तिहरू भएको प्रस्ट पार्नुभयो । उक्त कार्यक्रममा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यद्वय भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र ५ नं. वडाका वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले नयाँ पुस्तामाझ सांस्कृतिक गतिविधिबारे आकर्षण बढाउन र मूर्त अमूर्त सम्पदालाई जीवन्त बनाउन प्रतियोगिताहरूलाई महत्वका साथ अगाडि बढाइरहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित सांस्कृतिक गुरुहरूले सांस्कृतिक महोत्सव सञ्चालन गरी सबै सांस्कृतिक गतिविधिको प्रदर्शनीको व्यवस्था गर्नुपर्ने, लोपोन्मुख अवस्थामा रहेको नाय खिँ बाजा, लाला खिं र म्वालीं बाजाको संरक्षण तथा प्रतियोगिता गर्नु आवश्यक रहेको, दाफा भजनप्रति नयाँ पुस्ताको आकर्षण बढाउन यसको प्रतियोगिता आयोजना गर्नु उचित हुने र अन्तरनगर वाद्यवादन प्रतियोगिता आयोजना गर्नुपर्ने, प्रतियोगिताको लागि माघ वा फागुन महिना उपयुक्त समय भएको आदि राय–सुझाव दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *