भर्खरै :

एमसीसी सम्झौताविरुद्ध दैलेखमा जुलुस तथा सभा

दैलेख, ४ मङ्सिर । देश हितविपरीतको एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टीले गर्दै आएको देशव्यापी अभियानको क्रममा शुक्रबार दैलेख जिल्लाको सदरमुकाम नारायण नपा दैलेख बजारमा विरोध जुलुस तथा सभा भयो ।
दैलेख बजारमा आयोजित विरोध जुलुस बजार परिक्रमा गरी देवकोटा चोकमा विरोध सभामा परिणत भएको थियो । सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समिति अध्यक्ष जग्यबहादुर शाहीले एमसीसी सम्झौता नेपाल र नेपाली जनताको हितमा नभएको बरु सम्झौतामार्फत देशमा विदेशी शक्तिको हैकम चल्ने भएकोले देशभक्त नेपालीहरू सम्झौताविरुद्ध एकजुट हुनुपर्ने बताउनुभयो ।
शासक दलका नेताहरू आफ्नो सत्ता जोगाउन विदेशी शक्तिसामु झुक्दा देश र जनताले सङ्कट भोग्नुपरेको उदाहरण प्रस्तुत गर्दै केन्द्रीय सदस्य शाहीले एमसीसीले संरा अमेरिका र भारतको मात्र हित हुने, नेपाली जनताको अहित गर्ने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य नर्मा गुरुङले सरकारले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध गर्दै मूल्यवृद्धिले महामारीको कहरमा परेका जनताको जीवन थप कष्टकर बनाएको बताउनुभयो ।
उहाँले जनताको चुल्होमा आक्रमण गर्ने सरकार जनताको सरकार हुन नसक्ने भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न र बजार भाउ नियन्त्रणको माग गर्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सदस्य निरकबहादुर शाहीले १०४ औँ अक्टोबर समाजवादी क्रान्तिबारे चर्चा गर्दै रुसमा सन् १९१७ मा भएको अक्टोबर समाजवादी क्रान्ति नेपालमा भएपछि मात्र व्यापक नेपाली जनताको हित हुने बताउनुभयो ।
उहाँले नाम कम्युनिष्ट तर व्यवहारले पुँजीवादी पार्टीहरूले अक्टोबर क्रान्तिको कुरा गर्न नचाहेको भन्दै नेमकिपाले व्यापक श्रमिक जनतालाई समाजवादबारे बुझाउन अक्टोबर क्रान्तिको स्मरण गरेको बताउनुभयो ।
सभामा नेमकिपा दैलेखका उपाध्यक्ष वमबहादुर सिंह, सचिव लक्ष्मी विक, रत्नबहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
दुल्लुमा वडा सम्मेलन
त्यस्तै, नेमकिपा दुल्लु नगरपालिका वडा नं १२ को प्रथम सम्मेलन शनिबार गौरीमा भयो । सम्मेलनको नेमकिपा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले उद्घाटन गर्नुभयो । कार्यक्रममा समसामयिक राजनीतिक अवस्थाबारे बोल्दै अध्यक्ष शाहीले शासक दलका नेताहरूको अदूरदर्शिताको कारण नेपाली जनताले दुःख पाइरहेको बताउनुभयो ।
उहाँले नेपाली जनताको हितमा भन्दा भारतीय एकाधिकार पुँजीको हितमा एमसीसी सम्झौता गर्न नेपालका शासकहरू आतुर देखिएको बताउनुभयो ।
अध्यक्ष शाहीले देशमा बढ्दो वैदेशिक हस्तक्षेपबीच शासक दलका नेताहरू सत्ताझगडा र भागबन्डामा व्यस्त भएको चर्चा गर्दै आकाशिंदो बजारभाउ नियन्त्रण गर्न सरकार असफल भएको बताउनुभयो ।
नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजङ्ग शाहीले अक्टोबर समाजवादी क्रान्तिले संसारबाट साम्राज्यवाद र पुँजीवादको जग हल्लाएको भन्दै समाजवादी क्रान्तिकै कारण पुँजीवादी देशहरूले सयौँ वर्ष लगाएर गरेको विकास सोभियत सङ्घले केही दसकमै गरेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा दैलेखका सचिव लक्ष्मी विक, जिल्ला सदस्य सुरेन्द्रबहादुर शाही, वीरबहादुर भण्डारी, नन्दलाल दाहाल, शिवराज दाहाल, खेमराज दाहाल, खड्गराज दाहाल, पृथ्वीबहादुर पन्त, तिलकप्रसाद लम्साललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *