भर्खरै :

पोल्यान्ड–बेलारूस सीमामा मानवीय सङ्कट

ब्रसेल्स, २१ नोभेम्बर । पोल्यान्डसँगको सीमावर्ती बेलारूसको भूमिमा जम्मा भएका शरणार्थीको मानवीय र मानवअधिकारको अवस्था ‘नाजुक’ भएको र त्यहाँ अड्किएका मानिसहरूको जीवन रक्षाको निम्ति तत्काल आवश्यक कदम चाल्नुपर्ने युरोपेली परिषद्को मानवअधिकार आयोगका आयुक्त दुन्जा मिजातोभिकले बताएका छन् ।
पोल्यान्डको चारदिने भ्रमणको अन्तिम दिन वक्तव्य जारी गर्दै उनले पोल्यान्ड सरकारलाई सो क्षेत्रमा मानिसले भोगिरहेका दुःख र मानवअधिकार उल्लङ्घन अन्त्यको लागि सञ्चार माध्यम र मानवीय सहायता सङ्गठनलाई त्यहाँ पठाउन आग्रह गरेकी छिन् ।
गत अगस्ट महिनायता बेलारूस र उसका छिमेकी देशहरूको सीमावर्ती क्षेत्रमा हजारौँ शरणार्थीहरू आएर बसेका छन् । विशेषतः मध्यपूर्वका युद्धग्रस्त देशका ती शरणार्थीहरू युरोपेली सङ्घको भूमिमा जान खोजिरहेका छन् । गत साता पोल्यान्डका सुरक्षाकर्मी र शरणार्थीहरूबीच ढुङ्गा हानाहान भएको थियो । उनीहरूमाथि सुरक्षाकर्मीहरूले पानीको फोहोराले हमला गरेको थियो ।
पोल्यान्ड सरकारले सम्भावित ‘खराब परिणाम’ बाट सुरक्षित रहन सीमावर्ती क्षेत्रमा कसैलाई पनि जान नदिएको भन्दै आयुक्तले त्यसो गर्दा अन्तर्राष्ट्रिय सङ्गठन र नागरिक समाजलाई अत्यावश्यक मानवीय सहायता पु¥याउन र मानव अधिकार कार्यको निकटबाट अनुगमन गर्न समस्या भएको बताइन् ।
सञ्चार माध्यमलाई त्यहाँ नपठाउनुले अभिव्यक्ति र सूचनाको हकबाट वञ्चित भएको तथा अत्यावश्यक पारदर्शिता र जवाफदेहिता सीमित भएको भन्दै उनले फलतः गलत सूचनालाई बढावा दिनुका साथै असुरक्षाभावलाई बलियो बनाएको बताइन् ।
“सीमा क्षेत्रमा पत्रकारहरूलाई स्वतन्त्र र सुरक्षितरूपमा समाचार सङ्कलन गर्न दिइनुपर्छ”, आयुक्तले भनिन् ।
उनले पोल्यान्डको अहिलेको संसद्ले आफ्नो देशको सीमा नाघेर आउने व्यक्तिलाई तत्काल फर्काउन गरेको आदेशले शरण लिने अधिकारको उपेक्षा गरेको र उक्त आदेशमा संशोधन आवश्यक भएको बताइन् ।
“व्यक्तिगत रूपमा मैले निकै समस्यामा परेका मानिसबाट ज्यादै दुःखद् अवस्थाको कारूणिक कथा सुनेको छु । तीमध्ये धेरै परिवार, बालबालिका र ज्येष्ठ नागरिकले हप्तौँ र अझ महिनौँसम्म चिसो अवस्थामा बस्नुपरेको छ”, मिजातोभिकले भनिन् ।
“मैले धैरै पीडादायी अवस्थाको प्रष्ट सङ्केत प्रत्यक्ष देखेकी छु । जस्तै घाउ, हिउँले शरीरका अङ्ग खाएको, चरम चिसो अवस्था, थकाइ र तनाव आदि”, उनले भनिन् ।
“एक जना महिला स्थानीय अस्पतालमा आफ्नो जीवन रक्षाको निम्ति लडाइ गरिरहेकी थिइन् । धेरै मानिसले ज्यान गुमाएका थिए । ती मानिसहरूमध्ये कोही पनि सीमातिर जानुको अर्थ थप मानवीय सङ्कट सामना गर्नु र धेरै मानिसले ज्यान गुमाउनु हुनेमा मलाई कुनै सन्देह छैन । सीमा क्षेत्रमा हरेक रात र हरेक घण्टाको अर्थ उनीहरूको जीवनमा थप खतरा हो”, उनले भनिन् ।
उनले अहिलेको अवस्थाको समाधानको जिम्मेवारी पोल्यान्ड एक्लैको मात्र नभएको बताइन् । “यो युरोपको मुद्दा हो । त्यसको निम्ति ऐक्यबद्धतामा आधारित मानव अधिकारकेन्द्रित कदम, युरोपेली मूल्य र मापदण्डको आवश्यकता छ”, उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *