भर्खरै :

“स्तालिनसँग” पढ्दा

रुसी अक्टोबर समाजवादी क्रान्ति सधैँ सम्झिने र उत्प्रेरित गर्ने एउटा महत्वपूर्ण इतिहास हो । आजभन्दा १०३ वर्षअघि रुसको भूमिमा समाजवादी क्रान्ति सफल भयो । यूरोपबाट असाध्यै उपेक्षित, घृणा र हेला गरिएको रुसमा सन् १९१७ मा क्रान्ति सफल हुन्छ भन्ने कसैले कहिल्यै कल्पना नै गरेको थिएन । भूगोल र जनसङ्ख्यामा विशाल, पूर्वको एउटा गरिब र हरेक दृष्टिबाट पछाडि परेको देशमा क्रान्ति सफलतामा टुङ्गियो । माक्र्सवादी विचार र बोल्सेविक पार्टीको नेतृत्वविना के त्यो क्रान्ति सम्भव हुन्थ्यो ? के लेनिनको नेतृत्वविना अक्टोबर क्रान्तिको परिस्थिति तयार हुन्थ्यो ? क्रान्तिको भित्री र बाहिरी परिस्थितिको सटिक विश्लेषणविना क्रान्तिको सफलता सम्भव थिएन । कम्युनिस्ट पार्टीको नेतृत्वले नै क्रान्तिलाई निर्णायक सफलतामा पु¥यायो ।
शोषण रहेसम्म वर्गसङ्घर्ष चलिरहन्छ । सङ्घर्षमा बहुमत कामदार जनता नै विजयी हुन्छन् । जनतालाई सङ्गठित बनाउन कामदार जनताको पार्टी र माक्र्सवादी विचार चाहिन्छ । अक्टोबर समाजवादी क्रान्तिले यही कुरामा विश्वास गर्यो । क्रान्तिपछि विश्वमा एउटै देशमा पनि क्रान्ति सम्भव छ, पश्चिमलाई पूर्वले पनि क्रान्तिको उज्यालो बाटो देखाउन सक्दछ भन्ने सन्देश दियो । अक्टोबर क्रान्ति मेन्सेविक विचारमाथि अर्थात् क्रान्ति नचाहने, पुँजीवादी क्रान्तिबाटै परिवर्तन हुने विचारमाथिको विजय थियो । वर्ग र विचारको त्यो लडाइँमा नेतृत्व गर्ने लेनिनसँगै नेता स्तालिन पनि थिए ।
अक्टोबर क्रान्तिपछि रुसको भूमिमा भएका सामाजिक, सांस्कृतिक र आर्थिक क्रान्तिहरूमा स्तालिनले लेनिनलाई सघाए । क्रान्तिपछि पनि प्रतिक्रान्तिका निम्ति मेन्सेविक र वर्गशत्रुहरू सल्बलाइ रहे । पार्टीभित्र विस्तारै संशोधनवादीहरू देखापर्न थालेका थिए, त्रोत्स्की, कुचिन, बुखारिन, रोडेकहरू संशोधनवादी, अवसरवादीहरूले कलह जन्माउन खोजिरहे । लेनिनको मृत्युपश्चात् सोभियत रुसको नेतृत्व का. स्तालिनको जिम्मेवारी बन्यो ।
तत्कालीन समयमा रुसी अक्टोबर समाजवादी क्रान्तिको उपलब्धि जोगाउन निकै कठिन हुन थालेको थियो । बाहिरी र भित्री शत्रुहरूको माझमा रहेर, थुप्रै–थुप्रै षड्यन्त्रका तानबानाबीच सोभियत रुसको झन्डा फहराउन सजिलो थिएन । यसर्थ, स्तालिनले समाजवादी क्रान्तिको उपलब्धि जोगाउने अर्को महत्वपूर्ण क्रान्तिको नेतृत्व गरे । उनले वर्गशत्रुविरुद्ध कुनै मोलाहिजा नराखी सङ्घर्ष गरे । क्रान्तिमा स्पात बनेका नेता स्तालिन प्रतिक्रान्तिवादी, मेन्सेविक र पार्टीभित्रका अवसरवादीहरूका आँखामा बिझ्ने काँडा बने । जनतालाई उनी कहिल्यै बिझेन । विश्व साम्राज्यवाद, जर्मन फासीवादविरुद्ध सोभियत रुसको नेतृत्व गर्ने स्तालिन कमजोर हुने कुरै थिएन । न्यायपूर्ण युद्ध र शत्रुविरुद्ध खरो प्रतिकारले स्तालिन लोकप्रिय बने । तर, शत्रुहरूले स्तालिनको व्यक्तित्वमाथि हिलो छ्याप्ने काम रोकेनन् । सोभियत सङ्घको उदयले छट्पटाएको युरोप, संरा अमेरिका, जर्मनीका निम्ति स्तालिन पर्खालजस्तै हुनु स्वाभाविक थियो । त्यसकारण सोभियत सङ्घमाथि हमलाको निम्ति, समाजवादी क्रान्तिको उपलब्धि समाप्त पार्न तिनका लागि स्तालिन अवरोध बनेको महसुस गरे । स्तालिनविरुद्ध उनकै समकालीन ख्रुश्चेभहरूले स्तालिनको बदनाम गर्ने कुचेष्टा गरे । स्तालिनविरुद्ध सयाँै झूटहरू बोलियो । ख्रुश्चेभहरूले बोलेको झुट ‘ख्रुश्चेभहरूलाई’ पुस्तकमा सङ्कलित छ ।
स्तालिन र स्तालिनको व्यक्तित्व अध्ययनविना रुसी अक्टोबर समाजवादी क्रान्तिको अध्ययन अपुरो हुन्छ । यो शताब्दीमा पनि स्तालिनविरोधी भावना उस्तै छ । आपूmलाई कम्युनिस्ट बताउनेहरू ‘स्तालिन मुर्दावाद’ को नारा लगाउँछन् । त्यसो त नेपालको राजनैतिक वृत्तमा कम्युनिस्ट हुँ भन्दै हिँड्ने एमाले र माओवादी पनि कम्युनिस्ट नै होइनन् । ती क्रान्तिको कुरा गर्दैनन् । संसद्बाटै समाजवादको स्थापना सम्भव भएको बताउँछन् । ती त्यसकारण नेपालका मेन्सेविक हुन् भन्दा फरक पर्दैन । स्तालिनको विरोध गर्ने, स्तालिन नपढ्नेहरू कसरी बोल्सेविक ? कसरी कम्युनिस्ट ?
आजपनि प्रतिक्रियावादीहरू स्तालिन र उनको नेतृत्वमाथि हिलो छ्याप्न उद्यत् छन् । स्तालिनको व्यक्तित्व र योगदानबारे विश्वसामु प्रस्ट पार्नु क्रान्तिकारीहरूको दायित्व हो । नेता स्तालिनको व्यक्तित्व उजिल्याउने पुस्तक ‘स्तालिनसँग’ को अध्ययनले स्तालिनविरोधी भावना र भ्रम मेट्न सघाउँछ । स्तालिनका अङ्गरक्षक एटी रेबिनको संस्मरणले स्तालिनलाई नजिकबाट चिन्न, बुझ्न सघाउँछ । स्तालिनलाई नजिकबाट देखेका, चिनेका एटी रेबिनले स्तालिनको दुरुस्त शब्दचित्रमा उतारेका छन् । स्तालिनका अन्य अङ्गरक्षकहरूले पनि रेविनका बयानहरूलाई अनुमोदन गरे । सोभियत सङ्घका ती कठिन र आँधीबेहेरीले भरिएका वर्षहरूमा अङ्गरक्षकहरूले स्तालिनको जीवनरक्षा गरेका थिए । खु्रश्चेभ र बेरियाजस्ता गद्दारहरूको झूटलाई पनि रेबिनले चिरफार गरेका छन् ।
के स्तालिनको नेतृत्वविना सोभियतसङ्घको रक्षा सम्भव थियो ? स्तालिनको नेतृत्वविना दोस्रो विश्वयुद्धमा सोभियत रुसको जीत र फासीवादी नाजी जर्मनीको हार के सम्भव थियो ? यी प्रश्नहरू सोध्न पुस्तकले बाध्य पार्छ । पुस्तकभित्रै यसको जवाफ पनि छ – “सम्भव थिएन” । सोभियत रुसको आयु छोट्याउन उद्यत क्रान्तिका धोकेबाजहरूले नै स्तालिनलाई ‘तानाशाह’, ‘हत्यारा’ को आरोप लगाए, व्यक्तिपूजाको आरोप लगाए । त्यस्तो समयमा समाजवादी व्यवस्था जोगाउन स्तालिनले सामना गर्न परेका कठिनतम समयहरूको फेहरिस्त पुस्तकमा छ । केही वर्षअगाडि नेपाली संस्करणमा प्रकाशित ‘गुप्त दस्तावेज’ ले सोभियत सङ्घविरुद्ध बाहिरी र भित्री शत्रुहरूले चालेका षड्यन्त्रहरू सतहमा ल्याएको थियो, सोभियत नेतृत्व र बाँकी विश्वबीचको वैचारिक सङ्घर्षलाई उजागर गरेको थियो । ‘स्तालिनसँग’ ले स्तालिनलाई चिनाउन खोजेको अनुभव हुन्छ ।
क्रान्ति, देश र अन्तर्राष्ट्रवाद कहिल्यै व्यक्तिगत र सानो स्वार्थ नहेर्ने स्तालिनको व्यक्तित्व हो । साधारण जीवनयापन, सरल लवाइखवाइ उनको विशेषता थियो । उनी आप्mना सहयोगी, मजदुरहरू, अङ्गरक्षक, छोराछोरीहरूलाई प्रेमपूर्वक व्यवहार गर्थे । अक्टोबर क्रान्तिका लक्ष्य र आदर्श जोगाउन समर्पित योेद्धादेखि घरव्यवहार सम्हाल्ने एक अभिभावकको रुपमा रेविनले स्तालिनको व्यक्तित्व प्रस्तुत गरेका छन् । कला, साहित्य, सङ्गीत मनपराउने व्यक्तिको रुपमा स्तालिन पुस्तकमा देखापर्छन् । गोली, बारुदसँग डर नमान्ने साहसी स्तालिनसँग पाठकको भेट हुन्छ । साम्राज्यवाद र फासिवादविरुद्ध अन्तिम दमसम्म लडेका स्तालिनको जीवन समर्पण तथा बलिदानको कथा पुस्तकमा छ । स्तालिन तथ्य तथ्याङ्कमा विश्वास गर्ने निडर नेता थिए । उनी दयामायाको आधारमा सङ्घर्षलाई अनिर्णयमा छोड्दैनथे । दोषी र गद्दारहरूलाई सजाय दिन उनी एक इन्च पनि पछि हट्दैनथे । जीवनपर्यन्त सोभियत जनताको निम्ति लडेका विश्व कम्युनिस्ट आन्दोलनका एक कुशल सारथी स्तालिनको जीवन सङ्घर्षबारे पुस्तकले उजिल्याउँछ । इतिहासको पानाबाट सधैँको लागि निर्मूल गर्न खोजिएका गरिएका स्तालिनलाई रेविनले २१ औँ शताब्दीसम्म जीवित राखेको अनुभव पुस्तकको अध्ययनबाट हुन्छ ।
किरोभ हत्याकाण्डबारे ‘गुप्त दस्तावेज’ ले मिहिन चर्चा गर्छ । तर, किरोभको हत्या किन शत्रुका निम्ति आवश्यक थियो भन्ने विवेचना ‘स्तालिनसँग’ ले गर्छ । किरोभ स्तालिनका अत्यन्त मिल्ने नजिकका व्यक्ति थिए । स्तालिनपछिको नेतृत्वको रूपमा किरोभ नै देखिएका थि ए । किरोभ पनि स्तालिनसँगै लेनिनको आदर्शमा बाँचिरहेका थिए । किरोभ क्रान्तिका अर्का उत्तराधिकारी अर्थात् क्रान्तिले जन्माएका असल व्यक्ति थिए । किरोभ बाँचेका भए स्तालिनपछि सोभियत सङ्घका संशोधनवादीहरू आउन सक्ने थिएन कि ? स्तालिनका सबैभन्दा विश्वासिला पात्रको हत्या गरी स्तालिनलाई कमजोर बनाउन खोजियो । षड्यन्त्रपूर्ण, नियोजितरुपमा किरोभको हत्या गरियो । पुस्तकमा छ –“किरोभसँग जस्तो सहकार्य र समझदारी स्तालिनका पोलिट्ब्यूरोका अरू कोही सदस्यसँग थिएन । किरोभ जत्तिको मित्र कोही थिएन ।” त्यसको आक्षेप स्तालिनमाथि थोप्न खोजियो । तर, समयसँगै सत्य बाहिरियो । केही सत्य ‘स्तालिनसँग’ भित्र सुरक्षित छन् । पुस्तकमा स्तालिनकी श्रीमतीले आपैmले आपैmलाई गोली हान्ने निर्णय किन लिइन् भन्ने कुराको रहस्योद्घाटन पुस्तकले गर्छ । श्रीमतीको मृत्युले स्तालिनलाई मर्माहत बनायो । स्तालिन हावादारी कुरा नगर्ने, हचुवा कुरा नगर्ने तर्कपूर्ण तथा तथ्यसङ्गत कुरा गर्ने व्यक्ति थिए । उनले मस्कोकै सर्वोत्कृष्ट विश्वविद्यालय लोमोनोसोभको परिकल्पना गरे । उनको अध्ययनशीलता र लेखनबाट सिक्नुपर्दछ ।
स्तालिन निकै फारोतिनो गर्ने स्वभावका थिए । लगाउनै नमिल्ने नहुञ्जेल आप्mनो लुगा टालेरै लगाउने स्वभावका थिए स्तालिन । बुट र जुत्ताको तलुवा खिइएर खुत्रुक्क नखसुञ्जेल लगाउने स्वभाव थियो । छोराछोरीलाई पनि सुखमा हुर्काएनन् । उनीहरूलाई आम जनताका छोराछोरीको जीवनसँग अभ्यस्त बनाए ।
पुस्तकभित्र सोभियत सङ्घका वीर एमएम ग्रोमोभको व्यक्तित्व चर्चा छ । म्याक्सिम गोर्कीसँग स्तालिनको सम्बन्ध उजिल्याउनुका साथै सम्बन्धका केही अध्याय पुस्तकभित्र छन् । के स्तालिन युद्धसँग डराउँथे ? के युद्ध स्तालिनको वशको कुरा थिएन ? यो असत्य किन प्रचार गरियो ? पुस्तकले सत्य बोल्छ । दोस्रो विश्वयुद्धमा नाजीवादलाई परास्त पारी संसारलाई जोगाउन र सर्वहारावर्गको सोभियत सत्ताको रक्षा गर्न लड्ने योद्धालाई युद्धसँग केको डर ? जर्मनीका युद्धक विमानहरू आकाशमा उड्दै गर्दा पनि स्तालिन मस्कोका सडकमा खुलारूपमा नियमित हिँडिरहनुहुन्थ्यो । जनता र देशको निम्ति मर्नदेखि नडराउने स्तालिनको लागि युद्ध वशको कुरा थिएन भन्नु कपोलकल्पित र मनगढन्ते थियो भन्ने पुस्टि पुस्तकले पनि गर्छ । पुस्तकमा लेखिएको छ –“मस्कोको मुखैमा शत्रु आइपुग्दा पनि स्तालिन निकै सौम्य र सन्तुलित रहनुभयो । सबैको प्रेरणा बनिरहनुभयो । युद्धको समयमा पनि देशको आर्थिक विकास र उन्नयन, अनुसन्धान र खोजमा कुनै अवरोध हुन दिइएन । जनताका आवश्यकताबारे चिन्तन भयो ।”
स्तालिन मरेका थिए या हत्या गरियो ? उनको मृत्युको रहस्योद्घाटन पनि पुस्तकले गर्छ । सञ्चो नभएका स्तालिनको कोठामा अङ्गरक्षकहरूलाई भित्र जान नदिइनु, चिकित्सक बेलैमा नबोलाइनु, अघिल्ला रात रक्सी पिलाउनु आदि घटनाहरूले स्तालिनको मृत्यु प्राकृतिक हो भन्न मिल्दैन । खु्र्रस्चेभ र बेरियाजस्ता राक्षसी मानसिकता भएकाहरूको षड्यन्त्रमा स्तालिनको हत्या भएको हो भन्न सकिन्छ । स्तालिन बाँचेका भए सोभियत सङ्घ लामोे समय बाँच्थ्यो । त्यसकारण स्तालिनमाथिको सत्तोसराप सोभियत सङ्घमाथिको प्रहार थियो ।
आजपनि साम्राज्यवादी, संशोधनवादी, अवसरवादी, फासीवादीहरू स्तालिनलाई इतिहासबाटै मिल्काउन खोज्दै छन् । स्तालिनको व्यक्तित्वमाथि झूट र असत्यको फोहोर थुपार्न तिनीहरू सक्रिय छन् । स्तालिनले भन्नुभएजस्तै समयसँगै आउने आँधीहुरीले त्यो फोहोरको डङ्गुर हटाउनेछ र साँचैको स्तालिन विश्वले देख्नेछ, चिनाउने छ । एटी रेविनको यस पुस्तकले साँचैको स्तालिन, प्रतिक्रियावादीहरूले हल्ला गरेको स्तालिनभन्दा विल्कुल फरक स्तालिनलाई चिनाउन सफल छ । नेपाली अनुवादमा पुस्तक प्रकाशनको निम्ति पत्रकार समाज नेपाल र अनुवादक बर्बरिकप्रति साधुवाद छ । अक्टोबर क्रान्ति दिवसको सेरोफेरोमा स्तालिनको अध्ययन अझ सामयिक अनुभव भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *