भर्खरै :

उपाध्यक्ष रावलको आफ्नै प्रतिबद्धता र मान्यता !

मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुने एमालेको महाधिवेशनमा पार्टीका उपाध्यक्ष भीम रावलले आइतबार पत्रकारहरूसामु अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेपछि पार्टीभित्र तरङ्ग गएको छ । पार्टीका अध्यक्ष केपी ओलीलाई सर्वसहमतिमा फेरि अध्यक्ष बनाउने गृहकार्य भइरहेको बेला उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि पार्टीभित्र तरङ्ग पैदा हुनु अस्वाभाविक होइन । पार्टीको महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिनु प्रजातान्त्रिक अधिकार भए पनि उनको उम्मेदवारी केपी ओली फेरि अध्यक्ष बनाउने पार्टीको तयारीविरुद्ध देखिएको छ । उपाध्यक्ष रावलको यो उम्मेदवारी घोषणा अध्यक्ष ओलीप्रतिको असन्तोषको सङ्केत भएको विश्लेषण पनि गरिन थालेको छ ।
केपी ओलीले अध्यक्षमा उम्मेदवारी नदिए रावलको उम्मेदवारी घोषणालाई अस्वाभाविक मानिँदैनन् । तर, महाधिवेशनको केही दिनअघि मात्र उनले किन अध्यक्ष बन्ने घोषणा गरे भन्ने प्रश्न पार्टीका नेता कार्यकर्तामाझ चर्चाको विषय बनेको छ । साँच्चै अध्यक्ष बन्ने मनसाय भएको भए पहिले नै उनी किन प्रचारमा आएनन् भन्ने प्रश्न पनि उठेको छ । हुन त महाधिवेशनमा उम्मेदवारी हुने नहुने र उम्मेदवारीहरूबीच सहमति गर्ने नगर्ने कुरा पार्टीको आन्तरिक मामिला हो । तर, उपाध्यक्ष रावलको उम्मेदवारीले पार्टीभित्र गृहकार्य नभएको या नपुगेको या भए पनि चित्त नबुझेको हो कि भन्ने गाइँगुइँ सुनिन्छ ।
निर्वाचनमा हारजीत स्वाभाविक हो । तर, ओलीको विकल्प रावल सही हो कि होइन ? गएको महानिर्वाचनमा सबभन्दा मत पाएको बखान गरेर अहिले पाउँछ कि पाउँदैन ? त्यही अनुपातमा अहिले मत पाउँछ भन्ने आधार के ? रावलहरू माधवकुमार नेपाल पक्षधरका नेताहरू भएकाले विश्वास गर्ने कि नगर्ने ? भन्ने कुरामा एमालेका नेताहरू नै दोधारमा छन् । साँच्चै के उपाध्यक्ष रावल नाम फिर्ता नलिइकन अध्यक्षमा लड्छन् ? उनले केपी ओलीले अध्यक्ष पद छाडेर आफूलाई सहयोग गर्ने आशा पनि राखेका छन् । पार्टी अध्यक्षमा उम्मेदवारी दिन उनले आफ्नो अलग प्रतिबद्धता र मान्यताहरू अघि सारे । पार्टीको आफ्नो विधान, कार्यनीति तथा मार्ग निर्देशक सिद्धान्त हुँदा हुँदै अलग्ग प्रतिबद्धता र मान्यता राख्ने उपाध्यक्ष रावलको भित्री रहस्य के हो ? यो रहस्यबारे एमालेकै नेताहरूबीच चर्चा परिचर्चा भइरहेको यदाकदा सुनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *