भर्खरै :

दिशाहीन र विचारहीन एमाले

नेपालको कम्युनिस्ट आन्दोलनलाई संशोधनवादी भासमा डुबाउने नेकपा (एमाले) को महाधिवेशनमा पार्टीले अँगीकार गर्ने सिद्धान्त र कार्यक्रमभन्दा बढी कति सङ्ख्यामा मान्छे जम्मा गर्ने भन्ने कुराको चर्चा बढ्दो छ । कति वटा गाडीमा कति सङ्ख्यामा मानिस चितवनमा भेला हुने, कति मूल्य र आकारको दबु बनाउने, कति वटा होटल रिजर्भ गर्नेजस्ता विषयले नै बढी प्राथमिकता पाइरहेको देखिन्छ । एमालेका नेताहरू पनि यस्तै विषयमा बढी चर्चा गर्नमा स्वाद मानिरहेका छन् । महाधिवेशनमा सैद्धान्तिक बहस र छलफलतिर भन्दा नेताहरूको ध्यान कुन पदमा कसरी जित्ने भन्नेमा देखिन्छ । अर्थात्, महाधिवेशनसँग जोडेर जति पनि प्रचार प्रसार र गतिविधि भइरहेका छन्, तिनले देशमा कुनै कम्युनिस्ट पार्टीको महाधिवेशन हुन लागेको कतै छनक भेटिन्न । बरू पुँजीवादी पार्टीहरूले महाधिवेशनमा यसरी नै तडकभडक र सस्तो प्रचारबाजीमा जोड दिने गर्छन् ।
रोचक कुरा त के हो भने आफूलाई माक्र्सवादी र लेनिनवादी दाबी गर्दै आएको एमालेले महाधिवेशनका कुनै पनि प्रचार सामग्री वा तयारीका गतिविधिमा माक्र्स र लेनिनको कतै पनि चर्चा गर्न आवश्यक ठानेनन् । बरू महाधिवेशनको लोगोमा गैंडाको आकृति राखेर एमालेले आफ्नो विचारहीनताको सङ्केत जनतासामू गरेको छ । जब कुनै पार्टीमा विचार गौण बन्दै जान्छ, त्यहाँ सस्तो प्रचारबाजी र अनावश्यक औपचारिकतामा बढी समय व्यतीत हुने गर्दछ ।
एमालेको महाधिवेशनलाई भारतको सत्तारूढ दल भारतीय जनता पार्टीदेखि टर्कीको सत्तारूढ दल एके पार्टीसम्मले शुभकामना दिएका छन् । भाजपाको प्रतिनिधिमण्डल त चितवन पुगिसक्यो । ‘तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको सङ्गत हेर्नु’ भन्ने उखान छ । भाजपा भारतका कामदार, अल्पसङ्ख्यक र प्रगतिशील जनतालाई दमन गर्दै आएको हिन्दू अतिवादी फासीवादी दल हो । टर्कीको सत्तारूढ दल पनि यस्तै आलोचना खेपिरहेको दल हो । टर्कीमा इर्डोगनको दलले क्रान्तिकारी लेखक र कलाकारलाई निर्ममतापूर्वक हत्या गरेको छ । यस्ता दलको शुभकामना थपेर एमालेले कुन वर्गको सेवा गर्ने योजना बनाउन खोज्दै छ ? फासीवादी दलहरूसँग मित्रताको हात मिलाउने एमाले कसरी श्रमिक वर्गीय दल हुनसक्छ ?
एमालेले आफ्नो नाममा माक्र्सवाद र लेनिनवाद झुन्ड्याएर र आफूलाई कम्युनिस्ट दाबी गरेर नेपाली जनतालाई मात्र होइन, संसारलाई झुक्याउन खोज्दै छ । भारतका कम्युनिस्टहरू आज भाजपाको हिन्दूवादको विरोधमा सङ्घर्ष गरिरहेका छन् । अनि एमालेले भने भाजपा र भारतीय कम्युनिस्ट पार्टीलाई एकै दबुमा राखेर कुन सिद्धान्तको अनुशरण गर्न लागेको हो ? कम्युनिस्ट आन्दोलनको लागि देखिएको पुँजीवादी विचारभन्दा संशोधनवादको आवरणभित्र लुकेको पुँजीवादी विचार अझ बढी खतरनाक हुन्छ । तालको छेउमा देखिएको गोहीभन्दा घाँसभित्र लुकेको हरियो सर्प अझ खतरनाक हुन्छ । एमाले नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा रातोझन्डाको आवरणभित्र लुकेको पुँजीवादी पार्टी हो । संसारको कम्युनिस्ट आन्दोलनको इतिहासलाई फर्केर हेर्दा संशोधनवादीहरूले पनि लाखौँ लाख मानिस जम्मा गरेर सभा सम्मेलन गरे पनि उनीहरूलाई सानो बतासले नै गल्र्यामगुर्लुम ढालेका उदाहरण धेरै छन् । पूर्वी युरोपका धेरै देशहरूमा त्यहाँका ‘रेडस्क्वाएर’हरूमा आयोजना गरिएका परेडहरू हेर्दा के संसारले चिताएको थियो, कुनै दिन ती सबै तासका महलजस्तै भत्किने कुरा ! उनीहरू किन ढले ? त्यहाँको संशोधनवादी नेतृत्वले विचारलाई गौण वा आफूखुसी व्याख्या गरेर सत्तालाई दीर्घजीवी बनाउन खोज्दा न पार्टी रह्यो न सत्ता नै । त्यसको कहर आज पनि त्यहाँका जनताले भोगिरहेका छन् । एमालेको विचारहीनता, दिशाहीनता र संशोधवादी बाटोबारे समयमै सचेत हुनु र देशमा सिद्धान्तनिष्ठ कम्युनिस्ट आन्दोलन अघि बढाउनु नै व्यापक श्रमजीवी नेपाली जनताको हितमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *