भर्खरै :

सक्वको म राजदास–११२ / मेरा जीवनका सुख दुःखका केही अनुभूतिहरू

हो, म बिहान १० बजेतिर काठमाडौँ कलङ्की बस स्टपबाट हिँडेको भोलिपल्ट १२ बजे सिक्किम राज्यको गान्तोक सहर पुगेँ  । गान्तोक बस स्टप पुग्दा आफू सिक्किम पुग्ला भनेर कहिल्यै सोचेको थिइनँ । मलाई गान्तोक जानुपर्ने कुनै कारण थिएन । तर, समय परिस्थितिले मैले नसोचेको ठाउँ ल्याइपु¥यायो । किन यहाँ पुगेँ भनेर आफैलाई थाहा छैन । मेरो यो यात्रा दिशाविहीन भयो । त्यहाँको बाटोको राम्रो संरचना अनि टिस्टा नदीको दायाँ बायाँको ठूल्ठूला हरिया घना जङ्गलले ढाकेका पहाडहरूको रमणीय दृश्य, गहिरो खाल्डोमा बगिरहेको टिस्टा नदीले गर्दा मलाई धेरै आनन्द दियो । बाटोभरि मेरो मनपर्ने हिन्दी चलचित्रका गायक किशोर कुमारको एक सुन्दर गीतले शान्तिको अनुभव गरेँ । म आफ्नो देश छोडेर जाने कहिल्यै सोचेको थिएन । पहिले पनि एकपटक भागेको थिएँ । म १०/११ वर्ष हुँदा एकपटक भागेको थिएँ । म त्यसबेला साँखुको सबभन्दा ठूलो भाग्योदय माध्यमिक स्कूलमा पढ्थेँ । एक र दुई कक्षामा उत्तीर्ण भए पनि तीनमा फेल भएको थिएँ । लाज र डरले फेल भएको कुरा भन्न सकेको थिएन । त्यसकारण, म घरबाट भागिरहन्थेँ, दिनभरि घरमा नबसी यताउति डुलिरहन्थेँ, कहिले गुच्चा खेल्थेँ त कहिले पाँय्चा । अनि दिउँसो साँखुका पोखरीहरूमा पौडी खेल्न जान्थेँ । एक दिन साँखुको ज्योतिलिङ्गेश्वर महादेवस्थान परिसरमा रहेको एउटा पोखरीमा पौडी खेल्दै थिएँ । हामी ८/१० जना थियौँ । त्यसमध्ये एक जना हामीभन्दा ठूलो उमेरको थियो । सबै जना एक दुई घण्टा जति पौडी खेलेर निस्किए । म पोखरीभित्रै थिएँ । मलाई पौडी खेल्न आउँदैनथ्यो । पोखरीको छेउको भित्ताको ढुङ्गामा समाउँदै निस्किँदै थिएँ । त्यसरी आउँदै गर्दा एक ठाउँमा आएर मेरो हात चिप्लियो र म पोखरीमा डुब्न थालेँ । टाउको पानी भित्र र बाहिर तीन चार पटक गर्दा घुटुघुटु पानी निलेँ । भाग्यवश पोखरी नजीक आइरहेकी एक जना महिला (जसलाई म यमी काकी भन्थेँ)ले मलाई देखिन् र चिच्याइन्—
“ए मचा पुखुली…….!!!”, ए मचा पुखुली………..!!!”
उनको चिच्याहट सुनेर हामीमध्येका सबभन्दा ठूलो दाइ पोखरीको पर्खालबाट एकैचोटि हामफालेर म भएको ठाउँमा आइपुग्नुभयो । मेरो कपाल तानेर मलाई पोखरी बाहिर निकाले । भाग्यले म बाँचे भन्नुप¥यो । एक घण्टा जति पोखरी छेउ पर्खालमा घोप्टो परेर घाममा सुतिरहेँ । सबैजना गइसकेपछि म एक्लै घरतिर लागेँ । हाम्रो घर साँखुको धुँला टोल अगाडि एउटा साँखुको प्रसिद्ध डबली छ, जहाँ कागेश्वरी अष्टमीको दिन साँखुको प्रसिद्ध देवी नाच नचाइन्छ । त्यही डबलीमा मेरो बुबा धान सुकाइरहेका थिए । मैले टाढैबाट बुबालाई देखेँ । बुबा मतिर रिसाएर हेरिरहनुभएको थियो । मैले आफू स्कूलमा फेल भएको कुरा घरमा नभने पनि बुबाले थाहा पाइसक्नुभएको थियो । तर, मलाई केही भन्नुभएन । आफू भने मनमनै रिसाइरहनुभएको थियो होला । त्यसमाथि आजको पोखरीमा डुबेको कुरा थाहा पाउनुभयो भने मलाई कुट्नुहुन्छ होला भन्ने डरले म घरतिर नगइकन काठमाडौँ हिँडे ।
काठमाडौँ कहाँ छ, कति टाढा छ, कहिले पुग्ने, कसरी पुग्ने, पुग्यो भने कहाँ बस्ने, के खाने कहाँ सुत्ने केही मनमा सुझेको थिएन । जिउमा एकजोर कमीज सुरुवालमात्र थियो । तापनि, म साँखुबाट बाहिर निस्केँ र हिँडिरहेँ । मलाई भोक, प्यासले सताएन । हिँड्दा हिँड्दै म खुमलटारतिर आइपुगेँ । त्यहाँसम्म पुग्दा साँझ पर्न थाल्यो ।
जे होला जहाँ पुग्ला भन्दै निन्याउरो मुख लिएर हिँडिरहेँ । त्यसबेला साँखुबाट काठमाडौँ प्रायः मानिसहरू हिँड्दै जान्थे । बस व्यवस्था केही थिएन । साँखुमा दुई तीन वटा मालवाहक ट्रकहरू थिए । त्यही ट्रकले साँखुबाट दाउरा, धान, चामल, आलु आदि बोकेर काठमाडौँ लान्थ्यो र बेलुकी काठमाडौँबाट नुन, चिनी, तेल, मसला, कपडा, मट्टीतेल आदि दैनिक आवश्यक सामानहरू बोकेर साँखु आउँथ्यो । अनि मालवाहक ट्रकमा मानिसहरू कोहीँकोहीँ काठमाडौँ जाने आउने गर्थे । साँखुबाट काठमाडौँ पुग्न हिँडेर जाँदा झन्डै चार घण्टा लाग्थ्यो । ट्रकमा चढेर जाँदा एक घण्टामै पुगिन्थ्यो । यदि हिँड्न सक्यो भने राति १०/११ बजेतिर म काठमाडौँ पुग्थेँ हुँला । तैपनि, केही चिन्ता नलिइकन म हिँडिरहेँ ।
खुमलटारको पुल पुग्नुअगाडि मैले अलि परबाट एक जना दाजु साइकल गुडाउँदै हिन्दी गीत गाउँदै आएको देखेँ । ‘सुहाना सफर और ए मौसम हँसी’ गीत गाउँदै आकाशतिर हेर्दै साइकल दौडाउँदै एक जल्दोबल्दो युवक मेरो नजिक पुग्दा रोक्नुभयो र मतिर हेरेर भन्नुभयो, “ए छ गन वने त्यनागु” भनेर सोध्नुभयो । म टाउको निहुराएर चुप लागेर बसेँ ।
“गन वने त्यनागु थुइले धा… ” भनेर फेरि सोध्नुभयो । मलाई साइकलमा राखेर फेरि गीत गाउँदै उहाँ साँखुतिर लाग्नुभयो । भाग्योदय माध्यमिक विद्यालयको दैवमेहेर श्रेष्ठ मेरो गुरु हुनुहुन्थ्यो । जहाँ म केही दिनअघि फेल भएको थिएँ । सायद म घरबाट भागेर आएको भनेर उहाँले अड्कल लगाउनुभयो होला । साँखु पुगेर उहाँले आफ्नो घरमा नरोकिकन मेरो घरसम्म पु¥याउनुभयो । मेरो घर आउनुभन्दा पहिले उहाँको घर आउँथ्यो । मलाई घरमा पु¥याएर उहाँ मेरो बुबालाई जिम्मा दिएर घर जानुभयो । बुबाले पिट्नुहोला भनेर दिउँसो म घर छोडेर भागेको तर साँझ घर फर्किदा केही गाली गर्नुभएन र पिट्नुभएन । मेरो लागि पिटाइबाट बच्नु नै ठूलो खुसीको कुरा भयो । प्रायः मलाई बेलुकी आमाको कुरा सुनेर बुबा पिट्नुहुन्थ्यो । कहिले दिनभरि भाइहरू नहेरिकन कता हरायो भनी घरमा गुनासो गर्नुहुन्थ्यो भने कहिले घरमा पैसा चोरेर लग्यो भनी उजुरी गर्नुहुन्थ्यो ।
हो, म साथीहरूसँग पाँय्चा र गुच्चा खेल्न अनि कहिलेकाहीँ तास खेल्न घरमा पैसा चोरेर लान्थेँ । धुकुबाट मोहर सुका चोरेर लान्थेँ । मलाई पैसा कहाँ लुकाई राख्थ्यो भन्ने थाहा थियो । हाम्रो धुकु कोठाको च्युरा चामल राख्ने तेपः (घ्याम्पो) भित्र, सानो ठेकी राखेर ठेकीभित्र सानो काठको भाँडो राखेर मोहर, सुकी, बीस पैसे, पाँच पैसे, प्वाल परेको चार पैसे, एक पैसे, दुई पैसे ढ्याकहरू एक दुई माना जति पैसा राखिएको हुन्थ्यो । दैनिकी खर्चको लागि त्यहाँ पैसा राखिएको हुन्थ्यो । घरमा कोहीँ नभएको बेलामा म त्यहाँ गएर ठेकीभित्र हात घुसाई एक सुका एक मोहर जति पैसा चोरेर खेल्न जान्थेँ । एक मोहरभन्दा बढी कहिले लाने गर्दिनथेँ । एकचोटि पैसा निकाल्दा केही इन्डियन पैसा निस्कियो । अशोक स्तम्भ भएको सानो–सानो इन्डियन पैसा । मेरो बुबा त्यसबेला वर्षको ३/४ महिना मधेस तराई गएर सुर्ती व्यापार गर्न जानुहुन्थ्यो । त्यहाँबाट सुर्ती ल्याएर काठमाडौँ, भक्तपुर (ठिमी) र साँखुमा तमाखु बेच्ने पसलहरूलाई सुर्ती बेच्नुहुन्थ्यो । त्यसकारण, हाम्रो घरमा केही इन्डियन सिक्काहरू पनि हुन्थ्यो । ठेकीबाट पैसा निकाल्दा इन्डियन पैसा हातमा आयो भने म ती सिक्काहरू त्यहीँ धुकुमा फाल्दिन्थेँ । एकदिन आमाले धुकु जाँदा एउटा इन्डियन सिक्का भुइँमा भेट्टाउनुभयो र बेलुकी खाना खाइसकेपछि बुबालाई सुनाउनुभयो । त्यस दिन घर बाहिर ढलमा तानेर चिसो पानीमा डुबाएर पिट्नुभयो ।
त्यसबेलादेखि मैले घरमा पैसा चोर्ने काम बन्द गरेको थिएँ र मलाई दैव मेहेर दाइले काठमाडौँ हिँडिरहेको बाटोबाट समातेर ल्याइदिँदा भने बुबाले किन हो मलाई पिट्नुभएन । भोलिपल्ट बिहान मलाई हात समातेर एक जना साँखुमा आएर बस्नुभएका संस्कृत पाठशालाका गुरु पण्डित खुरनाथकहाँ लानुभयो र भन्नुभयो, “बाजे यसलाई संस्कृत पढाइ दिनुप¥यो ।…. ”

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *