भर्खरै :

ओमिकर्न प्रजातिको सम्भावित सङ्क्रमणबाट संसारभर सजगता

काठमाडौँ, ११ मङ्सिर । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेपछि संसारभरका जनस्वास्थ्यविज्ञ र वैज्ञानिकहरूले कोभिड महामारीको नयाँ लहरको सम्भावनाबारे सचेत रहन सरकारहरूलाई आग्रह गरेका छन् । वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकामा पहिचान भएको भाइरस यसअघि भारतमा पहिलो पटक भेटिएको डेल्टा भेरिएन्टभन्दा बढी घातक छ । बी.१.१.५२९ नाम दिइएको नयाँ भाइरसलाई चलनचल्तीमा ‘ओमिकर्न’ भनिएको छ ।
कोभिड–१९ महामारी फैलिएयता सार्स–कोभ–२ नामको भाइरसका विभिन्न प्रजातिको उत्परिवर्तन भएका छन् । तीमध्ये कति प्रजातिले निकै कम वा शून्य प्रभाव पार्ने गरेको छ । तथापि, कतिपय प्रजाति भने निकै चाँडै फैलिने र प्रभाव पनि व्यापक हुने गरेको छ । तर, हालसम्म भेटिएका प्रजातिलाई वैज्ञानिकहरूले विकास गरेका खोपले नियन्त्रण गर्ने क्षमता राख्दछ ।
तर, दक्षिण अफ्रिकामा भेटिएको पछिल्लो भाइरस भने ती सबैभन्दा खतरनाक भएको र मानिसको शरीरका कोषमा सजिलै प्रवेश गर्नसक्ने वैज्ञानिकहरूले बताएका छन् ।
यसअघि घातक भनिएको डेल्टा प्रजातिभन्दा यो भाइरस दोब्बर गुणाले घातक पाइएको छ । ओमिकर्नमा ३० भन्दा बढी प्रोटिन उत्परिवर्तन भेटिएको वैज्ञानिकहरूले जानकारी दिएका छन् । सन् २०१९ मा सुरुमा देखिएको कोभिड–१९ भाइरसभन्दा यो मूलभूतरूपमै फरक खालको भाइरस बताइएको छ ।
दक्षिण अफ्रिकी वैज्ञानिकहरूले यो भाइरसले शरीरको प्रतिरोधी तत्वलाई निस्क्रिय बनाउनुका साथै सङ्क्रामकता पनि बढी रहेको बताएका छन् । यो प्रजातिबारे थप अध्ययन चालु रहेकोले अझै धेरै कुरा प्रस्ट भइनसकेको उनीहरूले बताएका छन् ।
बेलायतका स्वास्थ्य सुरक्षा एजेन्सीका प्रमुख चिकित्सकीय सल्लाहकार डा.सुसन होप्किन्सले यस्तो खालको उत्परिवर्तित भाइरस यसअघि नदेखिएको हुनाले यसले कस्तो प्रतिक्रिया जनाउने हो, भनिहाल्न नसकिने बताएका छन् । त्यसकारण, यो प्रजातिलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि जटिल बनेको उनले बताए ।
भेरिएन्टबारे थप जानकारी पाउन केही जाँच आवश्यक हुने र त्यसको निम्ति केही साता लाग्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । हाल लगाइएको कोभिडको खोपले यो प्रजातिको प्रतिरोध गर्ने–नगर्ने कुरा अझै पनि निश्चय नभएको वैज्ञानिकहरूले बताएका छन् ।
ओमिकर्नको सङ्क्रमणमा हालसम्म कुनै अस्वाभाविक लक्षण पहिचान नभएको स्रोतले बताएको छ ।
सम्भावित जोखिम रोकथामको निम्ति युरोपेली सङ्घ, बेलायत र भारतले आफ्नो सीमा र हवाई सेवामा कडाइ गरेको छ ।
हालसम्म यो प्रजातिको कोरोना भाइरस दक्षिण अफ्रिका, बेल्जियम, बोत्सवाना, हङकङ, जर्मनी र इजरायलमा देखिएको समाचार स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *