भर्खरै :

कार्ल रडेक र चीनको क्रान्ति

कहिलेकाहीँ सैद्धान्तिक कृति व्यवस्थित पुस्तकमा भन्दा प्रवचनको रूपमा हाम्रोबीच आउने गर्छ । चिनियाँ क्रान्तिबारे कार्ल रडेकका प्रवचन त्यसको उदाहरण हुनसक्छ । हालै हिस्टोरिकल मेटरिलज्म पुस्तक शृङ्खलाले ती प्रवचन प्रकाशित गरेको छ । श्रमिक वर्गको कम्युनिस्ट विश्वविद्यालयमा रडेकले दिएको प्रवचनको लिथोप्रति सोभियत अभिलेखालयबाट अलेक्सान्द्र पन्तसोभले भेटाए । वाम प्रतिपक्षी (लेफ्ट अपोजिसन) सँग रडेकको संलग्नताको कारण ९० वर्षभन्दा लामो समयदेखि ती दस्तावेज गोप्य राखिएको थियो । वाम प्रतिपक्षीहरूले चिनियाँ क्रान्तिलाई कसरी लिन्थे भन्ने कुरा बुझ्न वाङ फाङ्सीको ‘माओ त्सेतुङ विचारधारा’ र कार्ल रडेकको चीनसम्बन्धी विचार महत्वपूर्ण दस्तावेज हुन् ।
कार्ल रडेक अन चाइना पुस्तकको भूमिका अलेक्सान्द्र पन्तसोभले लेखेका छन् । उनी ‘द वोल्शेविक्स एन्ड द चाइनिज रिभोल्युसन’ पुस्तकका लेखक हुन् । उनको भूमिकाले पनि यो पुस्तक पढ्न सजिलो बनाएको छ । सन् १९२५ मा रडेक चीनको सन यात सेन श्रमिक विश्वविद्यालयमा प्रमुख नियुक्त भए । माक्र्सवादी राजनीतिक शिक्षा दिन चिनियाँ कम्युनिस्टहरूले त्यो विश्वविद्यालय स्थापना गरेका थिए । प्रस्तुत पुस्तकमा सन् १९२५–२६ मा रडेकले दिएका प्रवचन सङ्कलन गरिएको छ । आफ्ना प्रवचनमा उनले चिनियाँ विद्यार्थीहरूलाई चीनको आधारभूत वर्गीय अन्तरविरोधको पहिचान गर्न चीनको इतिहासमा माक्र्सवादी सिद्धान्त कसरी लागु गर्ने भन्ने विषयमा सिकाएका छन् । आफ्ना प्रवचनमार्फत रडेकले हामीलाई आफूलाई चिनियाँ भाषा नआउने र आफ्नो लक्ष्य चिनियाँ इतिहासको मूल प्रवृत्ति पहिचान गरी चिनियाँ क्रान्तिकारीहरूलाई प्रस्ट राजनीतिक रणनीतिक बनाउन सैद्धान्तिक हतियार प्रदान गर्नुभएको बताएका छन् ।
रडेकले आफ्ना प्रवचनमा चीनमा किन पुँजीवादको विकास हुन सकेन र त्यसो हुनुको कारण सन् १९२० को दशकमा भएको सामन्तवादी सामाजिक संरचना हो कि भन्ने आधारभूत प्रश्नमा चर्चा गरेका छन् । धेरै गम्भीर माक्र्सवादीहरू चीनलाई प्राच्य (ओरियन्टालिस्ट) दृष्टिकोणले हेर्ने गर्छन् । रडेक यो दृष्टिकोणसँग असहमत छन् किनभने त्यसले सामाजिक सम्बन्धलाई रहस्यात्मक बनाउँथ्यो । उदाहरणको लागि युगेन भार्गा चीनको राज्यसत्ता शोषणमूलक नभएको सोच्थे । बरु ‘पानीको नियमित आपूर्तिको आवश्यकता, बाढीबाट सुरक्षा र भूमिमा सिँचाइको सुनिश्चितताको निम्ति’ चीनमा राज्य सत्ताको विकास भएको विचार राख्थे । चीनको राज्य सत्तामा दमनकारी चरित्र नभएको हुनाले नै चिनियाँ शासक वर्ग पुँजीवाद स्थापना गर्न असफल भएको र सामन्तवादी उत्पादन सम्बन्धकै टाँसिएर बसेको युगेनको भनाइ थियो । कोमिन्टर्नमा समेत यस्तो खोटो दृष्टिकोण हाबी थियो । कोमिन्टर्नले कतिबेला चीनमा पुँजीवादी क्रान्ति गर्न पुरानो सामन्ती सम्बन्धविरुद्ध क्रान्तिकारी आन्दोलन भएको दाबी गरेको थियो ।
रडेकले यो दृष्टिकोणप्रति विमति राख्दै सामन्तवाद स्थापना गर्न किसानहरूमाथि दमन गर्न प्राचीन सामन्ती राजारजौटाहरूले चिनियाँ राज्यसत्ताको विकास गरेको बताएका थिए । त्यत्तिबेला हाबी रहेको विचारभन्दा फरक रडेकले ईसापूर्वको तेस्रो शताब्दीमै सामन्तवाद उन्मूलन भएको र त्यसको ठाउँमा भूमिमा निजी स्वामित्व हुने र व्यापारीले वस्तु बजारमा बेच्ने उत्पादन सम्बन्ध स्थापना भएको बताएका थिए । मङ्गोल साम्राज्यको पतनको कारण चौधौँ शताब्दीमा चीन एक्लो भयो । त्यही कारण चीनमा पुँजीवादको विकास हुन सकेन ।

एक्लिएको चीनका व्यापारीहरू चीनमै सीमित भए र सबै विदेशी बजारबाट उनीहरूको सम्बन्ध तोडियो । चौधौँ शताब्दीमा चिनियाँ उत्पादन निकै विकसित भए पनि एक्लिएको चीनले थप विकास गर्न सकेन न त चीन उपनिवेशवादी बिस्तारमै लाग्न सक्यो । चीनका ग्रामीण क्षेत्रमा सामन्तवादी अभ्यास चालु रहे पनि किसानहरूले आफ्नो श्रमको उत्पादन आफै प्रयोग गर्थे र आफ्ना उत्पादन बजारमा वस्तुको रूपमा बिक्री गर्थे । निजी भूमि स्वामित्व वस्तु बजार सम्बन्धसँग जोडिंदा चिनियाँ पुँजीवादको भ्रुण तयार भयो । उन्नाइसौँ शताब्दीमा भएको नानकिङ सन्धिले साम्राज्यवादी उत्पीडनको लागि चीनको ढोका खुला भएपछि मात्र चिनियाँ पुँजीवादको त्यो भ्रुणले मूर्तता पायो ।
रडेकले चिनियाँ पुँजीपति वर्गको उदयबारे गम्भीर अध्ययन गरेका छन् । छिङ वंशको पालामा व्यापारिक पुँजी, सरकारी कर्मचारीतन्त्र र कर सङ्कलकहरूसँग सम्बन्ध भएका ठूला सामन्तहरू भएको उनले देखे । उन्नाइसौँ शताब्दीमा बेलायतजस्ता साम्राज्यवादी शक्तिहरू चीनमा संलग्न हुँदा त्यहाँ फरक खालको व्यापारिक पुँजीपति वर्गको उदय भएको रडेकले दाबी गरे । चीनको बजारमा पहुँच विस्तार गर्न साम्राज्यवादीहरू चीनका व्यापारीहरूसँग मिले । चीनका व्यापारीहरू पुँजीवादी उत्पादन सम्बन्धमा डुबिसकेका थिए र ठूलो परिमाणमा भूमिमाथि उनीहरूको स्वामित्व थियो । यी नयाँ चिनियाँ दलाल पुँजीपति वर्गले विदेशी पुँजीपति वर्ग र चिनियाँ बजारबीच पुलको काम गरे । यो वर्गले सरकारी अधिकारीहरूलाई हातमा लिएर चिनियाँ सत्तामा साम्राज्यवादी हितको वकालत गरे । रडेकले चीनका दलाल पुँजीपति वर्ग प्रायशः ठूलो पुँजीवादी कम्पनीहरूको ‘कनिष्ठ साझेदार’ थिए । उनीहरूका आफ्नै कार्यालय थिए । व्यापारिक निर्णयमा केही स्वायत्तताको पनि उपभोग गर्थे । सबैजसो ठूलठूला कारोबारका उनीहरू नै हर्ताकर्ता हुन्थे । बेलायत, जर्मनी र रुसी पुँजीपति वर्गलाई व्यापारिक ठेक्का दिलाउन चिनियाँ दलाल पुँजीपति वर्गको हात हुन्थ्यो । ती विदेशी पुँजीपति वर्गले रेलमार्ग बनाउने, चिनियाँ बन्दरगाह र सामान आयातको ठेक्का लिन्थे ।

रडेकले चिनियाँ पुँजीपति वर्गको उदयबारे गम्भीर अध्ययन गरेका छन् । छिङ वंशको पालामा व्यापारिक पुँजी, सरकारी कर्मचारीतन्त्र र कर सङ्कलकहरूसँग सम्बन्ध भएका ठूला सामन्तहरू भएको उनले देखे । उन्नाइसौँ शताब्दीमा बेलायतजस्ता साम्राज्यवादी शक्तिहरू चीनमा संलग्न हुँदा त्यहाँ फरक खालको व्यापारिक पुँजीपति वर्गको उदय भएको रडेकले दाबी गरे । चीनको बजारमा पहुँच विस्तार गर्न साम्राज्यवादीहरू चीनका व्यापारीहरूसँग मिले । चीनका व्यापारीहरू पुँजीवादी उत्पादन सम्बन्धमा डुबिसकेका थिए र ठूलो परिमाणमा भूमिमाथि उनीहरूको स्वामित्व थियो । यी नयाँ चिनियाँ दलाल पुँजीपति वर्गले विदेशी पुँजीपति वर्ग र चिनियाँ बजारबीच पुलको काम गरे ।

रडेकले बेलायत, रुस, जर्मनी र फ्रान्सजस्ता साम्राज्यवादी देशहरूले क्षेत्रीय प्रभाव फैलाउन चीनभित्र कसरी रणनीतिक स्थान ओगटेको थियो भन्ने कुराको विस्तृत अध्ययन गरे । चीनलाई एक्लोपनबाट बाहिर ल्याएर साम्राज्यवादले ‘बाँकी संसारबाट चीनलाई अलग बनाएको सामाजिक गतिरोधको पर्खाल’ भत्काउन प्रगतिशील भूमिका खेलेको भनी रडेकले विरोधाभासपूर्ण दाबी गरेका छन् । तथापि, उनले साम्राज्यवादको यो भूमिका धेरै लामो समय नटिकेको किनभने साम्राज्यवादको चीनप्रतिको आक्रामकता क्रमशः बढ्दै गएको पनि चर्चा गरेका छन् । चीनको पुँजीपति वर्गमा पनि विभाजन भई उनीहरूबीचबाट साम्राज्यवादी खेमा देखिए पनि साम्राज्यवादीहरू चीनप्रति आक्रामक बनेको थियो । कोमिन्ताङको दक्षिणपन्थी खेमाले चीनका राष्ट्रिय पुँजीपति वर्गको नेतृत्व ग¥यो र काङ योवेईजस्ता व्यक्तिको वरपर सङ्गठित बने । काङ योवेई आधुनिक पुँजीवादी व्यवस्थापिका बनाउन चाहन्थे । उनी चीनमा आधुनिक उद्योगको विकास गरी एकीकृत चीनको केन्द्रितकृत सेना बनाउन चाहन्थे ।
सन् १९२० को दशकमा चिनियाँ कम्युनिस्ट पार्टीले चीनको राष्ट्रवादी पार्टी कोमिन्ताङसँग औपचारिक मोर्चाबन्दी ग¥यो । चिनियाँ कम्युनिस्टहरूले कोमिन्ताङका वामपन्थी सदस्यहरूलाई आफूतिर तान्न खोजे । अनि पुँजीपति वर्गसँग मिलेका दक्षिणपन्थीहरूबाट अलग हुन खोजे । रडेकले लेखेका छन्,“अझै व्यापारी, जमिनदार र कारखानाका मालिकहरूको पछि लागेका निम्न पुँजीपति र किसानहरूलाई तान्न हामी त्यहाँभित्र पसेका थियौँ ।” रडेक यो रणनीतिमा सहमत भए पनि राष्ट्रिय पुँजीपति वर्गलाई टाढा पठाउने कडा माग राख्न असहज मानेका स्तालिन र बुखारिनका उनी आलोचक थिए । स्तालिन र बुखारिनहरू चार वटा वर्ग–राष्ट्रिय पुँजीपति, निम्न पुँजीपति, मजदुर र किसान वर्ग मिलेर चीनमा साम्राज्यवादविरोधी सङ्घर्ष अघि बढाउनुपर्ने मत राख्थे । त्यही कारण चिनियाँ कम्युनिस्टहरूले केही समयसम्म मजदुर हडतालको पछि लागे । कोमिन्ताङका सेनाले मजदुरहरूमाथि गोली चलाएको समाचार पनि कम्युनिस्टहरूले ढाकछोप गरे । अनि कृषि क्रान्तिको माग गर्न तयार भएनन् ।
संयुक्त मोर्चामा राष्ट्रिय पुँजीपति वर्गलाई सामेल गर्ने नीतिका रडेक निकै आलोचक थिए । किनभने चिनियाँ पुँजीपति वर्गको प्रत्यक्ष सम्बन्ध जमिनदार वर्गसँग थियो । चिनियाँ जमिनदार वर्गले किसानहरूमाथि शोषण गथ्र्यो र किसानहरूको विपन्नताको कारण पनि जमिनदार वर्ग नै थिए । त्यसकारण, चिनियाँ किसानहरूले आफ्नो मुक्तिको निम्ति पुँजीपति वर्गमा भर पर्न सक्दैनथ्यो । कदाचित राष्ट्रिय पुँजीपति वर्गलाई संयुक्त मोर्चामा सामेल गरे किसानहरूले दुःख मात्र पाउने रडेकको भनाइ थियो । सन् १९२० को दशकमा प्रस्टै देखियो, चिनियाँ पुँजीपति वर्गले कृषि क्रान्तिको विरोध गरेर ‘किसानहरूलाई अभूतपूर्व प्रतिकूल अवस्थाबाट मुक्त गर्ने राष्ट्रिय आन्दोलनविरुद्ध’ लगातार लड्यो । राष्ट्रिय पुँजीपतिको साम्राज्यवादको विरोधमा उभिए पनि त्यसको वर्गीय आधार किसानमाथि शोषणमा आधारित थियो । त्यसकारण, त्यो वर्ग भूमिसुधारको विरोधमा उभियो । आधुनिक पुँजीवादको विकाससँगै रडेकले चिनियाँ किसानहरूको मित्र शक्ति साङ्घाईजस्ता सहरहरूमा रहेका ठूला औद्योगिक केन्द्रमा काम गर्ने मजदुर वर्ग हुने विचार अघि सारे ।
साङ्घाई नरसंहार र कोमिन्ताङमा विभाजनका घटनापछि रडेकका प्रवचन र भाषण थप विवादास्पद बन्दै गयो । सोही क्रममा उनले कोमिन्टर्नको रणनीतिको कडा आलोचना गरे । सन् १९२७ मा कोमिन्ताङ पार्टी विभाजित भयो । कोमिन्ताङभित्रका वामपन्थीहरू वाङ चिङवेईको नेतृत्वमा उहानमा केन्द्रित भए । पार्टीभित्रका प्रतिक्रियावादी दक्षिणपन्थीहरू च्याङ काई शेकको नेतृत्वमा नानकिङमा केन्द्रित भए । स्तालिनले कम्युनिस्टहरूले कोमिन्ताङका वामपन्थी सदस्यहरूलाई एकजुट गरेर उहान सरकारलाई हातमा लिनुपर्ने र चिनियाँ क्रान्तिको निम्ति कोमिन्ताङलाई हतियारको रूपमा प्रयोग गर्न सकिने विचार राखेका थिए । रडेक स्तालिनको विचारप्रति सहमत थिएनन् । किनभने, उहानको कोमिन्ताङ सरकारको जमिनदार वर्गसँग बलियो सम्बन्ध थियो र उनीहरू सैन्यवादी सोच राख्थे । कोमिन्ताङको वामपन्थी नेतृत्वले पनि मजदुर र किसानहरूले आफ्ना हितका माग राख्न थालेपछि ोखा दिन सक्नेमा उनी चिन्तित थिए । त्रोत्स्की र जिनोभिएभसँग मिलेका रडेक कम्युनिस्टहरूले उहान सरकारसँग सम्बन्ध राख्न नहुने पक्षका थिए । बरु कम्युनिस्ट पार्टी स्वाधीन हुनुपर्ने, मजदुर र किसानहरूलाई सशस्त्र बनाउनुपर्ने र क्रान्तिकारी गतिविधिको समन्वयको लागि सोभियतहरू बनाउनुपर्ने विचार राख्थे । कम्युनिस्टहरूले कोमिन्ताङको नेतृत्वलाई खुइल्याउने अभियान चलाउनुपर्ने तर कोमिन्ताङका तल्लो तहका प्रगतिशील कार्यकर्ताहरूलाई आफूतिर आकर्षित गर्नुपर्ने रडेकको मत थियो । त्यसको निम्ति उनीहरूले ‘जमिनदारहरू मुर्दावाद ¤’ को नारा लगाउनुपर्ने उनको विचार थियो । मजदुर, किसान र सहरी निम्न पुँजीपति वर्गको संयुक्त मोर्चाले नै चिनियाँ क्रान्तिको विजय सुनिश्चित गर्ने रडेकको भनाइ थियो ।
श्रमिक जनताको कम्युनिस्ट विश्वविद्यालयमा आफ्नो स्थानको प्रयोग गर्दै रडेकले स्तालिनको मतको आलोचना गरे । उनले कोमिन्टर्नको रणनीतिमाथि पनि गम्भीर बहस चलाए । तर, उनको आलोचनामाथि कुनै गम्भीर बहस हुन नै नपाई रडेक विश्वविद्यालयको शिक्षक पदबाट बिदा भए । उनी कम्युनिस्ट पार्टीबाट निष्काशित भए । उनलाई साइबेरियामा निर्वासनमा पठाइयो । आफ्ना प्रवचनमा रडेकले स्तालिन र बुखारिनको आलोचना गरेका छन् । समयान्तरमा चीनको गृहयुद्धमा रडेकले भनेजस्तै चिनियाँ मजदुर, मजदुर नेता र कम्युनिस्टहरू मारिए । पछि रडेकले स्तालिनको समर्थन गरे । त्रोत्स्कीको पछि लाग्न छोडे । तथापि, चीनको क्रान्ति बुझ्न स्तालिनसँग उनको वैचारिक सङ्घर्ष ज्यादै महत्वपूर्ण मानिन्छ । त्यसकारण, चीनबारे कार्ल रडेक पुस्तकको प्रकाशनको विशेष महत्व छ । आशा गरौँ, रडेकको विचार सामाजिक कार्यकर्ता, माक्र्सवादी र चिनियाँ विद्वान्हरूले अध्ययन गर्नेछन् ।
(लेखक संरा अमेरिकाको टेक्ससको लोन स्टार कलेजअन्तर्गत दर्शनशास्त्र विभागका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः मन्थली रिभ्यु अनलाइन
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *