भर्खरै :

भक्तपुर नगरका प्रत्येक वडामा स्वास्थ्यसेवा केन्द्र

भक्तपुर, १६ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका १ नं. वडा नःपली सृजनानगरको आधारभूत स्वास्थ्य सेवा केन्द्र बिहीबार एक समारोहबीच सेवा शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिशुस्याहारदेखि कलेज तहसम्मका शैक्षिक संस्थाहरू सञ्चालन गरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने देशकै एकमात्र स्थानीय तह रहेको बताउनुभयो ।
मंसिर १६ गतेबाट भक्तपुर नगरपालिकाका सबै वडाहरूबाट आधारभूत स्वास्थ्य सेवाहरू शुभारम्भ हुने उद्घोष गदै उहाँले नेमकिपाका जनप्रतिनिधिहरूले नपाअन्तर्गत सामुदायिक शिक्षण संस्थाहरू खोलेर हजारौँ जनताका छोराछोरीहरूलाई उच्च शिक्षा पढ्ने अवसर दिइरहेका छन् भन्नुभयो ।
सस्तो र गुणस्तरीय शिक्षाका कारण अहिलेसम्म भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप सर्कलबाट उत्पादित जनशक्तिले रोजगार पाइरहेको उल्लेख गर्दै उहाँले समाजवादमा शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यको हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै नगरमा घरदैलो नर्सिङ सेवा पनि सुरु गर्ने योजना रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न शैक्षिक संस्था र स्वास्थ्य केन्द्रहरू सञ्चालन गर्दै आइरहेको चर्चा गर्दै आधुनिक सुविधायुक्त ख्वप अस्पताल सञ्चालनमा जोड दिँदै आइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नःपलीमा अवस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा डाक्टरसहितको मातृत्व, बालरोग, सर्ने तथा नसर्नेलगायतका स्वास्थ्य सेवा उपलब्ध हुने बताउँदै स्वास्थ्य सेवाको भवन निर्माणमा श्रमदान गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले २०३० सालबाट भक्तपुर नपाले स्वास्थ्य सेवा शुभारम्भ गर्दै आएको बताउँदै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बिहान ७ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान हुने बताउनुभयो ।
कार्यक्रममा नःपली सृजनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमी, नःपली सिर्जना सेवा समाजका अध्यक्ष राममणि पोखरेल र वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिलाई स्वास्थ्य सेवा केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सम्झना प्रेमीलाई भवनको साँचो हस्तान्तरण गर्नुभएको थियो भने प्रमुख प्रजापतिले त्यसै सेवा केन्द्रका डा. विभेद न्यौपानेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन असोज २१ गते उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *