भर्खरै :

यस्ता छन् हाम्रा मन्त्रीहरू

यतिबेला अर्थशास्त्र पढेका व्यक्ति मुलुकको परराष्ट्रमन्त्री छन् । केही दिनअघि उनले त्रिविअन्तर्गतको सिनासको कार्यक्रममा नेपालसँग सन् १८१६ को सुगौली सन्धि छैन भनेर राष्ट्रिय लज्जा प्रदर्शन गरे र मुलुकको शिर झुकाए । कूटनीतिभन्दा अर्थनीति बढी बुझेका उनले सुगौली सन्धि छैन भन्ने नै भए ।
यसअघि एसएलसी कि दस पास गरेका प्रावि शिक्षक परराष्ट्रमन्त्री थिए, उनले पनि सुगौली सन्धि छैन भनेर संसदीय समितिमा बोलेका थिए । राजदूतमा आफूजत्तिकै शैक्षिक योग्यता भएकाहरूलाई पठाउने गरी निर्देशिका बनाउँदै थिए, आफैँ गइहाले ।
२०७२ को लिपुलेक प्रकरणको बेला परराष्ट्रमन्त्री रहेका अङ्ग्रेजीका प्रोफेसरले कालापानी महेन्द्रले दुई बाकस सुनसँग साटिएको बताएका थिए, जबकि कालापानीबारे नेपाल सरकारको आधिकारिक धारणा भारतलाई कुनै सन्धि–सम्झौता गरेर दिइएको छैन भन्ने थियो र छ । मन्त्री महोदयले उक्त सरकारी भनाइमा टेकेर बोल्नुपर्नेमा मनोगत धारणा राखेका थिए ।
सुगौली सन्धिको सवालमा, नेपाल र तत्कालीन इष्ट इन्डिया कम्पनीबीच हस्ताक्षरित उक्त सन्धि नेपाल, बेलायत र बेलायतको विरासत थामेको भारतसँग छ । तर, यस्ता गम्भीर र संवेदनशील विषयमा सरकारका परराष्ट्रमन्त्री भने गैरजिम्मेवारपूर्ण टिप्पणी गर्दै हिँडेका छन्, जुन कुरा खेदजनक र दुःखद छ ।
बरु, यस्ता संवेदनशील विषयमा के बोल्ने के नबोल्ने कुराको आचारसंहिता बनाइनुपर्छ । सरकार परिवर्तनसँगै सपथ खाने मन्त्रीलाई ब्रिफिङ्गसहित सचेत गराइनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *