भर्खरै :

शासक दलको महाधिवेशन र नेतृत्व

कुनै राजनीतिक दल जब विचारभन्दा सत्तास्वार्थको निम्ति चल्छ, तब तिनका महाधिवेशन, सम्मेलन र बैठकमा विचारभन्दा नेतृत्व र अन्य झिलिमिलीका चर्चा बढी हुनु स्वाभाविक हो ।
राजनीतिक दलहरू निश्चित सामाजिक वर्गको हितको निम्ति स्थापना हुन्छन् । त्यसको निम्ति उनीहरूले उपयुक्त सिद्धान्त प्रतिपादन र अँगीकार गरेका हुन्छन् । राजा–महाराजा र सामन्तहरूका वर्गीय स्वार्थ पूरा गर्न खुलेका राजनीतिक दलले शोषणमा आधारित अनुदार समाज व्यवस्थालाई नै बलियो बनाउन चाहेका हुन्छन् । उनीहरूले अलौकिकता र धर्मान्धतालाई बढावा दिएर शोषित पीडित जनतालाई बाँधेको शोषणको सिक्रीलाई अझ बलियो बनाउन खोज्छन् । सामन्तवादकै गर्भमा हुर्केको पुँजीपति वर्गले सामन्तवादी समाजको अनुदार व्यवस्थाभित्र परिवर्तनको इच्छा राख्छ । सामन्तवादी उत्पादन सम्बन्ध पुँजीपति वर्गको प्रगतिको बाटोको निम्ति तगारो बनेको हुन्छ । त्यसकारण, सामन्तवाद फाल्न पुँजीपति वर्गले पनि आफ्नो हितअनुकूलको राजनीतिक पार्टी स्थापना गरेको हुन्छ । सामन्तवादी समाजमा सामन्त वर्गको शोषणबाट किसान र पुँजीवादको विकासपछि श्रमिक वर्ग भने शोषक वर्गको शोषणको लगातार शिकार बनेका हुन्छन् । उत्पादन सम्बन्धमा सबभन्दा अपरिहार्य वर्ग भएर पनि श्रमिक वर्ग भने मानिसको जीवन बाँच्नबाट वञ्चित बनाइएको हुन्छ । समयक्रममा श्रमिक वर्गमा विकास भएको राजनीतिक र वर्गीय चेतनाले उनीहरूलाई पनि श्रमिक वर्गीय राजनीतिक दल स्थापना गर्ने चरणमा पु¥याउँछ । श्रमिक वर्गको वर्गीय हितको निम्ति स्थापना भएका पार्टीलाई मजदुर–किसान पार्टी वा कम्युनिस्ट पार्टी भनिन्छ । यो सरल व्याख्याभित्र अनेकन बाङ्गाटिङ्गा नागबेली बाटा छन् । तर, सारमा भन्दा राजनीतिक पार्टीहरू वर्गीय हितको निम्ति स्थापना भएका विचारवान शक्ति हुन् ।
नेपालमा हालै दुई वटा शासक दलहरू–एमाले र राप्रपाका महाधिवेशन भए । चाँडै नेपालमा लामो समय शासन गरेको नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदै छ । देशका शासक दलहरूको महाधिवेशन हुँदा सञ्चारमाध्यमले तिनलाई प्राथमिकता दिनु स्वाभाविक हो । तर, सञ्चारमाध्यममा प्रकाशित समाचार र लेखहरूको विश्लेषण गर्दा ती दलका महाधिवेशनलाई तिनका विचार र वर्गीय आधारमा विश्लेषण वा बहस गरिएको कमैमात्र सुनिन्छ । सञ्चारमाध्यमहरूको ध्यान पनि नेतृत्व छनौटकै वरपरमात्र घुमेको देखिन्छ । नेपालको सञ्चार क्षेत्र आफै पनि राजनीतिकरूपमा विभाजित वा सञ्चारमाध्यमहरूको वैचारिक अवस्था नै यस्तो हुँदा यो अवस्था आएको हुनसक्छ । यो अलगै छलफलको विषय हुनसक्छ । तर, राजनीतिक दलमा व्यक्तिको छनौटलाई नै प्रधानता दिनु भने विषयको मूल जरो समात्न नसक्नुको परिणाम हुनसक्छ ।
राप्रपा, एमाले, काङ्ग्रेस, माओवादी आदि शासक दलको नेतृत्वमा हुने परिवर्तनले नेपाली समाजमा पार्ने प्रभाव, अझ विशेषतः ती दलहरूले प्रतिनिधित्व गरेका वर्गहरूको अवस्थामा आउने परिवर्तनबारे बहस सीमितमात्र हुने गरेको छ । यसले नेपालको बौद्धिक वृत्तको कमजोरी पनि कुनै न कुनै हिसाबले उजागर गरेको छ । राजतन्त्र समाप्त भएको दशक बितिसक्दा पनि नेपाली चेतनामा अझै पनि व्याप्त व्यक्तिलाई पुज्ने सामन्तवादी चिन्तनकै कारण यस्तो समस्या आएको हुनसक्छ । सामन्ती समाजमा कुन व्यक्तिले के भन्यो भन्दा पनि महत्वपूर्ण कुरा ऊ को हो र उसको पद के हो भन्ने कुराले महत्व राख्छ । सामन्तवादी र पुँजीवादी समाजमा पदलाई नै योग्यता मान्ने गलत चिन्तन हाबी हुन्छ । उदाहरणको लागि सामन्तवादी समाजमा राजपरिवारमा जन्मनु नै राजा बन्ने योग्यता हुन्छ भने पुँजीवादी व्यवस्थामा पैसा हुनु नै योग्यता हुन्छ । व्यक्ति र नेतृत्वबारे यो बुझाइ भ्रमपूर्ण हो । सामन्तवाद र पुँजीवादभन्दा अघि बढेको समाजवादी संस्कृतिमा जनताको सेवा गर्नु नै नेतृत्वको खास योग्यता हुने गर्छ ।
राजनीतिक दलको नेतृत्वको लागि यो कोणबाट पनि बहस हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *