भर्खरै :

‘मन्त्रीहरू नै भ्रष्टाचारी’

भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सरकारमा गएका पार्टीहरू नै भ्रष्टाचारमा डुबेको हुँदा देशमा भ्रष्टाचार बढ्दै आएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिद्वारा सोमबार आयोजित २०२५ साउन २ को भ्रष्टाचारविरोधी आन्दोलनको सम्झनामा भएको प्रवचन कार्यक्रममा सचिव सुवालले सरकारमा गएका पार्टीहरूले जनआन्दोलन दबाएका लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन सिफारिस गरेको र आफ्नै नेता, मन्त्री र सांसदहरूविरूद्ध भ्रष्टाचारको कारबाही गर्न लागेपछि एमाले र माओवादी संयुक्त भएर कार्कीविरूद्ध महाभियोग राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भ्रष्टाचारीहरूमाथि कारबाही अघि बढाएका तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीविरूद्ध नेका र माओवादीले महाभियोग प्रस्ताव दर्ता गराए ।
सचिव सुवालले भ्रष्टाचारीहरू भारतीय राजदूतावासको दीवाभोजमा पुगेर शरण मागेको उल्लेख गर्दै नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप बढ्दै गएको बताउनुभयो ।
मन्त्रीहरूले कमिसन नखाएका भए भ्रष्टाचार नियन्त्रण गर्न सहज हुने चर्चा गर्दै सचिव सुवालले ती पार्टीहरूले स्थानीय तहको चुनावमा चामल बाँडेको, नक्कली जग्गा धनी प्रमाणपुर्जा बाँडेको र भोजभतेर खुवाएको समाचार प्रकाशित भएको उल्लेख गर्नुभयो ।
उहाँले सरकारमा गएका पार्टीहरूकै मिलेमतोमा एनसेलको ६१ अर्ब कर मिनाहाको जालसाजी भइरहेको उल्लेख गर्दै कर फछ्र्यौट आयोगको नाममा उद्योगी र व्यापारीहरूलाई अर्बौं रूपैयाँ कर मिनाहा गर्ने र भ्याट फिर्ता दिने काम भएको बताउनुभयो ।
नेपालको कर्मचारी प्रशासन सञ्चालनको लागि रू. १ खर्ब बजेट नपुगेको उल्लेख गदै सचिव सुवालले नेपालमा कर्मचारी पूँजीवाद अर्थात् नयाँ खान्दानी वर्गको रूपमा कर्मचारीहरू विकास भइरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईंले पूँजीवादी राज्य व्यवस्थामा भ्रष्टाचारलाई निर्मूल पार्नसक्ने अवस्था छैन, भ्रष्टाचार उन्मूलन गर्ने देशमा समाजवादी राज्य व्यवस्था स्थापना गर्नुपर्छ भन्नुभयो ।
राजनीतिलाई पैसा कमाउने पेशा सम्झनु गलत हो, राजनीति देश र जनताको निःस्वार्थ भई सेवा गर्नु हो, उहाँले भन्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव विकल प्रजापतिले किसान आन्दोलनकै जगमा नेमकिपा स्थापना भएको बताउनुभयो ।
कार्यक्रम नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *