भर्खरै :

विचारहीन महाधिवेशन

शासक दलहरूको महाधिवेशन र अधिवेशनको भिडमा यतिबेला नेपाली काङ्ग्रेसको महाधिवेशन चालु छ । सामान्यतः राजनीतिक दलको महाधिवेशनहरूमा पार्टीको राजनीतिक दिशाबारे बहस र छलफल हुने गर्दछ । पटक–पटक सरकार चलाइसकेको नेकाले महाधिवेशनबाट पारित वा प्रस्तुत गर्ने दस्तावेजमा देशको आगामी भविष्य प्रतिबिम्बित हुने अपेक्षा गरिन्छ । तर, नेकाको महाधिवेशनमा यस्ता वैचारिक दिशा र सिद्धान्तबारे कम, बरु नेतृत्वबारे आवश्यकताभन्दा बढी प्रचारबाजी र चर्चा भएको सुनिन्छ । कुन गुटको नेता कुन गुटमा मिल्यो, कुन कुन गुट मिल्दा पार्टीमा कसको जीत वा हार हुन्छ आदि विषयको चर्चा र अड्कलबाजी व्यापक छ । महाधिवेशन चालु रहेको राजधानीको प्रदर्शनीमार्गमा यतिबेला ठूलै मेला लागेको छ । सबै नेताहरूले आफ्ना प्रचारसामग्रीसहित प्रचार र नाराबाजी गरिरहेका छन् । एकाध नेताले वैचारिक दिशाबारे बोले पनि अधिकांश नेता र कार्यकर्ताले यस्ता विषय केही पढैया नेताहरूकै जिम्मामा छोडेका छन् । उनीहरूलाई वैचारिक विषयमा कुराकानी गर्न न फुर्सद छ न आवश्यकता नै ।
राजनीतिक दल भनेको समान वैचारिक मान्यता र लक्ष्य बोकेका मानिसहरूको सङ्गठित समूह हो । जब कुनै राजनीतिक दलभित्र विचारबारे बहस र छलफल हुँदैन, त्यो राजनीतिक दल मर्दै जान्छ । राजनीतिक विचारमाथि अन्तरक्रिया कम हुँदै गएपछि नेता र कार्यकर्ताहरू नेतृत्व, सुविधा र प्रचारबाजीमा बढी ध्यान दिन पुग्छन् । नेका आज त्यही राजनीतिक उमेरमा पुगेको छ । नेकाभित्र पार्टीको मूल्यमान्यता र वैचारिकीबारे बहस र छलफल गर्ने मानिस कम, साम–दाम–दण्ड–भेद प्रयोग गरेर नेतृत्व हत्याउने विषयमा दिलोज्यान लगाउने मानिसको सङ्ख्या बढी देखिन्छ । महाधिवेशनको उद्घाटनमा नेका सभापति शेरबहादुर देउवाको मन्तव्य सुन्दा पनि त्यो दल वैचारिकरूपमा मृत भइसकेको बुझ्न सकिन्छ । देउवा उद्घाटन कार्यक्रममा सहभागी जनतासामु आफूलाई सभापति पदमा जिताउन याचना गरिरहेका थिए । उनी कार्यकर्तालाई आश्वासन दिइरहेका थिए । उनको भाषण कुनै चुनावी भाषणभन्दा कुनै पनि कोणबाट पृथक थिएन । जब नेतालाई नै महाधिवेशनमा जीत र हारको मात्र चासो छ, पार्टी कुन दिशामा अघि बढिरहेको छ, नयाँ परिस्थितिमा पार्टीको विचारमा के कस्ता परिमार्जन र प्रबलीकरणको आवश्यकता छ भन्नेमा चासो छैन भने त्यो पार्टीलाई विचारको समूह कसरी भन्ने ? बरु सत्तामा जाने दल हुनुको नाताले सुविधा, सहुलियत र सत्तासुखको लोभमा मात्र कार्यकर्ता यो दलमा झुमिएको बुझ्न कति पनि गल्ती गर्नुहुन्न ।
भाँडभैलो र राजनीतिक दलबीच पक्कै अन्तर हुन्छ । तर, प्रदर्शनीमार्गमा शुक्रबारदेखि लागेको मेला हेर्दा नेका राजनीतिक दल कम, भाँडभैलो बढी देखिन्छ । त्यो अनुशासनहीन र मर्यादारहित भिडले देशमा परिवर्तनको अपेक्षा गर्न सकिन्न । अनुशासित र सिद्धान्तनिष्ठ राजनीतिक शक्तिले मात्र देशलाई ठूलो परिवर्तनको नेतृत्व गर्नसक्छ । नेकासँग आज त्यो ल्याकत देखिन्न । नेकाले देशलाई यथास्थितिमै अलमलाउनुबाहेक अग्रगति दिने कुरामा अविश्वास गर्ने आधार त उसको महाधिवेशन बनेको छ ।
नेका विचारहीन पार्टी पक्कै थिएन । विचार नभएको राजनीतिक दल हुनैसक्दैन । तर, इतिहासमा बाबु र बाजेले खाएको घिउ र भातको सुगन्धमा मख्ख परेर आज पेट भर्न सकिन्न । नेकाले नेताहरूले हिजो आफ्नो वर्गको हितमा प्रस्तुत गरेको राजनीतिक कार्यक्रमको विषयमा पनि छलफल र बहस आवश्यक ठानेको छैन । देशका शासक दल जब वैचारिक हिसाबले कमजोर हुन्छ, तब वैचारिक पराधीनता व्याप्त हुन्छ । नेकाको वैचारिक मरणले आकारमा जतिसुकै ठूलो भए पनि त्यसले दिने नतिजा भने फेरि पनि देश र नेपाली जनताको हितमा हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *