भर्खरै :

सबैको लागि स्वास्थ्य क्षेत्रमा खोज अनुसन्धान

कोभिड–१९ नियन्त्रणको क्रममा धेरै नयाँ प्राविधिक उपलब्धिहरू हासिल भए पनि सन् २०२० को तुलनामा सन् २०२१ मा भाइरसको कारण मर्ने मानिसको सङ्ख्या दोब्बर पुग्यो । कोभिडको खोप महामारी अन्त्य गर्न पहिलो कदममात्र हुनसक्ने कुरा ओमिक्रोन भेरियन्टले स्मरण गराएको छ । हामीले व्यापक मात्रामा खोप उत्पादन गर्ने र जहाँ त्यसको खाँचो छ, त्यहीँ वितरण गर्ने प्रक्रिया स्थापित नगर्दासम्म हामीले कोभिड वा कुनै पनि भविष्यमा आउने महामारीलाई सामूहिक हिसाबले नियन्त्रण गर्न सक्दैनौँ ।
विश्वव्यापीरूपमा खोप वितरणमा देखिएको लज्जाजनक असमताले विश्व स्वास्थ्य सङ्गठनको ‘सबैको लागि स्वास्थ्य’ लक्ष्य पूरा गर्न हामीले साँच्चै चाहेका हौँ भने एकाधिकार पुँजी, व्यावसायिक घराना र स्वयम्सेवी प्रयासको मात्र भर पर्न नसकिने देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत महामारी पूर्वतयारी र रोकथामको लागि स्वतन्त्र प्यानलले निष्कर्ष निकालेको छ, “हामीलाई बौद्धिक सम्पत्ति (आइपी) का नियमको पालना हुने विश्वव्यापी समन्वयात्मक बहुआयामिक अनुसन्धान प्रणाली र निजी तथा सार्वजनिक क्षेत्रबीच सहकार्यलाई टेवा पु¥याउने आर्थिक नीति चाहिएको छ ।” आर्थिक लगानीको गुण र परिमाणमा संसारभर आवश्यक पर्ने साझा वस्तु (कमन गुड्स) जस्ता अत्यावश्यक स्वास्थ्य प्रविधिको आपूर्ति गर्ने प्राथमिक लक्ष्यमा आधारित पुनःसंरचना हुनुपर्छ ।
स्वास्थ्य अनुसन्धानको मूल्य अनुसन्धान प्रक्रियाका सहभागीहरू जस्तै अनुसन्धान प्रतिष्ठान, निगम, सरकार, अन्तर्राष्ट्रिय सङ्गठन, मानवतावादीहरू, वैज्ञानिक र प्रशिक्षार्थी सहभागीहरूले मिलेर तय गर्ने हुन् । सबै मिलेर गरेको यो सामूहिक श्रमको फल भने औषधि कम्पनीका हातमा मात्र जान दिनुहुन्न । औषधि कम्पनीहरूको मूल ध्येय नै आफ्ना शेयरधनीहरूलाई अधिकतम नाफा दिनु हो । यस्तो दोहनकारी ढाँचाले महामारीलाई लम्ब्याउनुका साथै आर्थिक पुनःस्थापनालाई पनि विलम्ब गर्छ ।
सामूहिकरूपमा सिर्जना गरिएको मूल्यको लाभ पनि सामूहिकरूपमै लिइनुपर्छ । धेरै विख्यात विद्वान र राजनीतिक नेताहरूले भनेजस्तै कोभिड–१९ को खोपलाई ‘जनताको खोप’ घोषणा गरिनुपर्छ । कोभिडको खोप बनाउन यसअघि कहिल्यै नभएको अनुपातमा सार्वजनिक धन खर्च भएको छ । तथापि, कोभिडको खोप अझै पनि मुख्यतः निजी एकाधिकार पुँजीकै नियन्त्रणमा छ ।
महामारीसँग जोडिएका प्रविधिमाथि बौद्धिक सम्पत्ति अधिकार हटाउन गरिएको प्रस्तावप्रति विश्व व्यापार सङ्गठनमा व्यापक समर्थन जुटेको थियो । तर, केही धनी देशहरूले विमति जनाउँदा त्यसको कार्यान्वयन सम्भव भएन । उनीहरूको त्यो विमतिले विश्व स्वास्थ्य समता र ऐक्यबद्धताजस्ता कुरा ओझेलमा पर्दै गए र औषधि कम्पनीहरूका स्वार्थलाई प्राथमिकताको विषय बनाइयो । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले सार्वजनिक गरेको ओमिक्रोन प्रजातिको आनुवंशिक क्रमागत तथ्याङ्कको आधारमा ओमिक्रोन प्रजातिविरुद्ध भविष्यमा बन्ने खोप सबैको लागि उपलब्ध गर्ने सुनिश्चित गरिनुपर्छ ।
त्यत्तिबेलासम्म हामीले कोभिड–१९ प्रविधि पहुँच केन्द्र (सी–ट्याप) वा निषेधात्मक स्वेच्छिक प्रवेशाज्ञापत्रजस्ता स्वेच्छिक सहायता संयन्त्र र चन्दाबाट मात्र बजारको असफलतालाई सुधार्न सक्ने छैनौँ । हामीले सीमान्त समस्याभन्दा माथि उठेर ‘सबैको लागि स्वास्थ्य’को अर्थतन्त्रबारे विश्व स्वास्थ्य सङ्गठनको परिषद्ले बनाएको खाकाअनुसार नयाँ स्वास्थ्य अनुसन्धान प्रणालीको विकास गर्नुपर्छ ।
त्यसको निम्ति सबभन्दा पहिला, अनुसन्धान क्षमता र पूर्वाधारमा विद्यमान विश्वव्यापी असमानताको समस्या समाधान गरिनुपर्छ । त्यसको निम्ति न्यून र मध्यम आय भएका देशहरूलाई लक्षित गरी स्थानीय र क्षेत्रीय खोजमूलक सञ्जाल र क्षमता विकास प्रयासलाई प्रवद्र्धन गर्नुपर्छ । बौद्धिक सम्पत्ति अधिकारले बनाएको पुरानो विभेद अन्त्य गर्न प्राविधिक ज्ञान र जानकारीको आदानप्रदान हुनुपर्छ । बौद्धिक सम्पत्ति अधिकारले विद्यमान प्राविधिक क्षमताबाट लाभ उठाइरहेका देशहरूकै मात्र भलो गर्छ । हामीले खुला विज्ञान, सामूहिक बौद्धिकता र सार्वजनिक स्वास्थ्य जानकारी आदानप्रदानको प्रणालीलाई प्रवद्र्धन गर्नुपर्छ । त्यस्ता सूचना दोहनकारी प्रयोजन वा कसैलाई तखतमा राख्न प्रयोग गरिनुहुन्न ।
दोस्रो, दीर्घकालीन रणनीतिक आर्थिक लगानी साझा वस्तु उपलब्ध गराउने लक्ष्यसहितको बहुआयामिक स्वास्थ्य अनुसन्धानमा निर्देशित हुुनुपर्छ । स्वास्थ्यसँग सम्बन्धित अधिकांश अनुसन्धानमा प्रत्यक्ष वा निजी लगानीको सुरक्षामार्फत सार्वजनिक सम्पत्तिबाट नै हुने गर्दछ । यसरी गरिएको सार्वजनिक लगानीबाट सार्वजनिक हित हुनुपर्छ । सार्वजनिक लगानीबाट उत्पादन हुने वस्तु सर्वसुलभ हुने, मूल्य सुपथ हुने, पारदर्शी हुने र प्रविधि आदानप्रदान हुने शर्तहरू राखिनुपर्छ । स्वास्थ्य अनुसन्धानमा निजी क्षेत्रले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकोले सरकार–निजी साझेदारीलाई प्रतीकात्मकरूपमा प्रबद्र्धन गर्न नियमन र अनुदान प्रदान गरिनुपर्छ । ‘सबैको लागि स्वास्थ्य’ लक्ष्य पूरा गर्न निजी लगानीलाई पनि सँगै लिएर जानुपर्छ ।
तेस्रो, अत्यावश्यक स्वास्थ्य प्रविधिलाई विश्वव्यापीरूपमै साझा वस्तु मानिनुपर्छ । तिनलाई निजी बौद्धिक सम्पत्तिको एकाधिकारको विषय बनाइनु हुन्न । आधारभूतरूपमै नयाँ र उपयोगी अनुसन्धानमा मात्र प्याटेन्ट अधिकार लगाइनुपर्छ । अनुसन्धान संरचना, प्रक्रिया र प्रविधिको निजीकरण हुन नदिन प्याटेन्टले समाजको तल्लो तहसम्म पुग्ने अनुसन्धानलाई प्रवद्र्धन गर्नुपर्छ । प्राविधिक जानकारी आदानप्रदानको शर्तमा मात्र उनीहरूलाई अनुमति पत्र दिइनुपर्छ । भविष्यमा थप अनुसन्धानको निम्ति उनीहरूसँग भएको प्राविधिक ज्ञान दिने शर्तको पालना गराइनुपर्छ । खासमा प्याटेन्ट अधिकारको लक्ष्य पनि यही नै हो । यस्ता परिवर्तनको निम्ति प्याटेन्ट अधिकार र त्यसको कार्यान्वयनमा समग्र परिमार्जन आवश्यक हुन्छ । विश्व व्यापार सङ्गठनमा बौद्धिक सम्पत्ति छुटसम्बन्धी चालु बहसलाई यो व्यापक सन्दर्भमा हेरिनुपर्छ ।
अन्त्यमा, औषधि कम्पनीका बोर्ड र लगानीकर्ताहरूले यो विखण्डित ढाँचामा रूपान्तरण गर्न भूमिका खेलेका छन् । लगानीकर्ताबाट जलवायु परिवर्तन रोकथामको निम्ति काम गर्न माग गरिएजस्तै औषधि कम्पनीहरूबाट पनि समतामूलक पहुँचलाई प्राथमिकतामा राख्न र बृहत् प्राविधिक आदानप्रदानलाई जोड दिन माग गर्नुपर्छ । कम्पनीहरूले शेयरधनीलाई मात्र होइन, सबै सरोकारवालालाई नै लाभ बाँड्ने न्यायपूर्ण व्यापारिक प्रणाली लागु गर्नसक्छन् । यसले सङ्कटको समयमा जनस्वास्थ्यमा जोड दिनुपर्ने र नाफालाई मात्र प्राथमिकता दिने अवस्थालाई नियन्त्रण गर्न सकिन्छ । (विशेषतः सार्वजनिक कोषबाट खोज अनुसन्धान हुने गरेका कम्पनीहरूको सन्दर्भमा) ।
हामी ढिला हुँदै छौँ । कोभिड–१९ महामारी र भविष्यका स्वास्थ्य सङ्कट रोक्न हामीले स्वास्थ्य क्षेत्रमा खोजमूलक गतिविधिको निम्ति विश्वव्यापी खोज अनुसन्धानको अवधारणा अवलम्बन गर्नुपर्छ । त्यसको लक्ष्य भनेको समयमै जनतालाई समतामूलक ढङ्गले खोप, निधानात्मक उपाय, रोगको पहिचान गर्ने तरिका र अन्य अपरिहार्य सामान सबैतिर उपलब्ध गराउनु हो, एकाधिकार पुँजीको नाफा जोगाउनु होइन ।
(मारियाना युनिभर्सिटी कलेज लन्डनमा अनुसन्धान र सार्वजनिक मूल्य अर्थतन्त्रका प्राध्यापक हुनुहुन्छ भने जयती घोष म्यासाचुसेट विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *