भर्खरै :

एल साल्भाडोरमा संरा अमेरिकी आतङ्क

आजभन्दा चालिस वर्षअघि सन् १९८१ को डिसेम्बर ११ मा ल्याटिन अमेरिकाको आधुनिक इतिहासमै सबभन्दा खराब नरसंहार एल साल्भाडोरको इल मोजोटे गाउँ र वरपरका क्षेत्रमा भएको थियो । संरा अमेरिकाबाट तालिम, आर्थिक सहायता र हातहतियार प्राप्त गरेको साल्भाडोर सेनाको अट्लाकाल्ट बटालियनले केही दिनभित्र झन्डै एक हजार सर्वसाधारणको हत्या गरेको थियो । हत्या गरिएकामध्ये अधिकांश महिला र बालबालिका थिए ।
नरसंहार भएको ३५ वर्ष पुगेको सन्दर्भमा ज्याकोबिन पत्रिकाले त्यत्तिबेलाको केही कारुणिक दृश्य प्रकाशित गरेको थियो ।
“सिपाहीहरू घरभित्र प्रवेश गरेर खुँडाले भकाभक केटाकेटीलाई मुला काटेजस्तै काट्न थाले । राइफलको कुन्डाले उनीहरूका टाउका फोड्न थाले । पीडाले उनीहरू छटपटाउँदै प्राण त्याग्थे । सबभन्दा कम उमेरका केटाकेटीलाई गिर्जा घरको मठमा कोचिएको थियो । सिपाहीहरू आएर राइफलले ती बालबालिकालाई गोलीले भुट्थे ।”
सन् १९८० देखि १९९२ सम्म भएको एल साल्भाडोरको गृहयुद्धको क्रममा भएको रक्तपातमा ७५ हजारभन्दा बढी मानिस मारिएका थिए । अर्धसैनिक सङ्गठन र हत्यारा दलसँग मिलेर दक्षिणपन्थी सरकारले एल साल्भाडोरका जनतामाथि निर्मम अत्याचार गरेको थियो ।
संसारमा पुँजीवादलाई सुरक्षित गर्ने अस्तित्वको लडाईँ लड्ने क्रममा शीतयुद्धकालीन महाशक्ति संरा अमेरिकाले संसारका धेरै मानिसहरूलाई मारेको छ ।
सन् १९८० देखि १९८२ सम्ममा मात्र संरा अमेरिकाले एल साल्भाडोरलाई ६० लाख देखि ८ करोड २० लाख अमेरिकी डलर सहायता गरेको थियो । पछि उसको सहायोग दैनिक १० लाख अमेरिकी डलरभन्दा बढी पुगेको थियो ।
इल मोजोटेमा जस्तै एल साल्भाडोरमा अन्यत्र भएका राज्य आतङ्क छोप्न रोनाल्ड रेगन नेतृत्वको अमेरिकी सरकारका अधिकारीहरूले निर्लज्जतापूर्वक लगातार एल साल्भाडोर सरकारलाई पैसा दिइरह्यो ।
रेगन सरकारले एल साल्भाडोरको सत्यबारे संसारलाई जानकारी दिन खोजिरहेका केही पत्रकारहरू जस्तै न्यु योर्क टाइम्सका पूर्व संवाददाता रेमन्ड बोनरलाई समेत दुःख दिएको थियो । बोनर ‘कमजोरी र धोखेबाजीः अमेरिका र एल साल्भाडोरको फोहोरी युद्ध’ पुस्तकका लेखक हुन् ।
‘एल साल्भाडोरमा नरसंहार’ शीर्षकको नयाँ वृत्तचित्रमा बोनर र फोटोग्राफर सुसन मेसालेसले एल मोजोटे घटनाको सिङ्गो घिनलाग्दो घटनाक्रमबारे प्रष्ट पारेका छन् । उनीहरू सन् १९८२ को जनवरीमा घटना भइसकेपछि त्यो ‘भूताहा सहर’ मा पुगेका थिए । गाउँमा नरसंहारमा मारिनबाट जोगिएकी एक जना महिला रुफिना अमाया मात्र थिइन् । उनी निकै सन्त्रस्त अवस्थामा थिइन् ।
अमायाका नेत्रहीन श्रीमान र तीन जना छोरीहरू (पाँच वर्ष, तीन वर्ष र आठ महिना) नरसंहारमा काटिएका थिए । उनले अट्लाकाल्ट बटालियनका सिपाहीहरूबीच भएको कुराकानी स्मरण गर्दै सुनाएकी थिइन् ।
“लेफिट्नेन्ट, एक जना सिपाही केटाकेटीलाई मार्न मानिरहेको छैन ।”
“को हो त्यो र…को छोरा ?” लेफ्टिनेन्टले सोधे,“म त्यसको छाला काढ्छु ।”
‘एल साल्भाडोरको नरसंहार’ वृत्तचित्रको सुरुमा राष्ट्रपति रेगन (उनी कुनै बेला हलिउड चलचित्रका अभिनेता थिए) ले वास्तविकतालाई भन्दा चलचित्रको पर्दाको निम्ति सुहाउने वाक्य विध्वंसकारी भावमा बोल्दै गरेको देखाइन्छ, “कुरा सरल छ । गुरिल्लाहरू एल साल्भाडोरका जनतामाथि माक्र्सवादी–लेनिनवादी तानाशाही थोपर्ने प्रयास गरिरहेका छन् ।”
एल साल्भाडोरका एक हजार सर्वसाधारणको निर्मम हत्या गर्नु उनीहरूलाई साम्यवादको भूतबाट जोगाउने उपाय पक्कै थिएन । ज्यादै निर्मम शासकको तानाशाही शासनबाट लामो समयदेखि पीडित देशमा न्याय र समानताको केही छनक दिने व्यवस्थाको लागि गुरिल्लाहरूले गरेका खतरनाक प्रयासबाट एल साल्भाडोरका जनतालाई मुक्त गर्ने तरिका त्यहाँका जनताको हत्या गर्नु पक्कै थिएन ।
एल साल्भाडोरका दक्षिणपन्थी तानाशाहीहरूले संरा अमेरिकी स्वार्थ र कमाउँदै आएको नाफामा कुनै क्षति नगर्दासम्म उनीहरूसँग संरा अमेरिकाको कुनै समस्या थिएन ।
इल मोजोटे घटनाको चार दसकपछि र औपचारिक रूपमा गृहयुद्ध समाप्त भएको झन्डै तीन दसकपछि साल्भाडोरका पछिल्ला तानाशाह राष्ट्रपति तथा ट्वीटर स्टार नयिब बुकेलेले त्यो देशमा न्याय पाउने कुरा सधैँ भ्रामक भएको कुरा पुष्टि गर्ने खालका काम गरिरहेका छन् । बुकेले आफै आफूलाई ‘संसारकै मस्त तानाशाह’ भन्छन् ।
एल साल्भाडोरलाई फकाइ फुलाइ बिटकोइन भ्रान्तिलोकमा पु¥याउनुका साथै बुकेलेले त्यहाँको सर्वोच्च अदालतका पाँच जना न्यायाधीश र महान्यायाधीशवक्तालाई यो वर्षको सुरुमा पदबाट अपदस्थ गरेर एक जना तानशााहले गर्ने काम गरिरहेका छन् ।
त्यस्तै उनले सन् २०१६ देखि इल मोजोटे घटनाबारे अनुसन्धान गरिरहेका न्यायाधीश जर्ज गुजमानलाई पनि पदच्युत गरे । सन् २०१६ मा गृहयुद्ध पछिको आममाफीको निर्णय उल्ट्याउने निर्णय भएको थियो । आममाफी उल्टाउने निर्णयले नरसंहारका दोषीलाई अपराधको सजाय दिने सम्भावना बढेको थियो । नरसंहारमा आफ्नो परिवारका २४ जना सदस्य गुमाएका मारिया रोजारियोजस्ता व्यक्तिको जीवन अघि बढाउन आवश्यक पर्ने सबै भावना नै मरिसकेको हुनुपर्छ ।
इल मोजोटे घटनाको निम्ति जिम्मेवार त्यो गाउँ र वरपरका मानिसलाई काट्ने र टाउको गिडाउने अट्लाकाल्ट बटालियनका सिपाहीमात्र होइनन् । बरु त्यसको सम्बन्ध निकै माथि माथिसम्म रहेको छ ।
एल साल्भाडोर र संसारका अरू धेरै भूभागमा राज्य आतङ्कका अन्य शिलशिलाको निम्ति संरा अमेरिका प्रत्यक्ष रूपमा जिम्मेवार छ ।
साम्राज्यवादीहरूले केही बहाना पाउने बित्तिक्कै यस्ता घटनालाई ओझेलमा पार्छन् । ९÷११ को घटना भएपछि एल साल्भाडोरमा भएका जस्ता घटनाको इतिहास र जवाफदेहिताबाट संरा अमेरिका पन्छिन खोज्दैछ । तर, इतिहासको त्यो घटनालाई संसारका जनताले भने कदापि पनि भुल्ने छैनन् ।
सन् १९८१ मा रेगनको मानवअधिकार र मानवीय मामिला सहायक मन्त्रीमा नियुक्त भएका बदमास इलियट अब्राह्म्सले इल मोजोटे नरसंहारको कुरा हावामा उड्यो भनी त्यसप्रतिको आफ्नो जिम्मेवारी अस्वीकार ग¥यो । त्यसो गरेर उसले संरा अमेरिकी संस्करणको ‘मानवअधिकार’ लाई बढावा दियो । वर्षौं पछि उसैले एल साल्भाडोरमा रेगन सरकारले ‘आकर्षक उपलब्धि’ को वैधता पाएको भनी बोलेको थियो ।
तर, दण्डहिनताको चालिस वर्षमा हातमा लाग्यो शून्यबाहेक केही भएन ।
(लेखक ज्याकोबिन पत्रिकाका पत्रकार हुनुहुन्छ ।)
स्रोतः अल जजिरा
नेपाली अनुवादः सुमन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *