भर्खरै :

पार्टी नेतृत्वको निम्ति सबै सचेत होऔँ !

बेलायती क्रान्तिको १० वर्षपछि क्रामवेल बिते र क्रामवेलको ठाउँमा क्रामवेलको युवा छोरालाई सत्तामा ल्याइयो । उनी न सैनिक नेता थिए न त राजनीतिक नेता नै । एक वर्ष बित्दा नबित्दै सत्ता पल्टियो र प्रतिगामीहरू सबै मिलेर ‘गौरवपूर्ण क्रान्ति’ को नाउँमा सामन्त र पुँजीपति वर्गको शासन सत्ता स्थापित गरे ।
समाजवादको विरोधमा बोल्शेविक पार्टी र सरकारको माथिल्लो पदमा समेत देशी–विदेशी शत्रु÷एजेन्टहरू घुसिसकेका थिए । लेनिनकै पालामा तिनीहरूले लेनिनलाई रिझाएर त्रोत्स्की, कामेनेभ, जिनोभियभ, बुखारिनहरूको गुटका नेतालाई सत्तामा ल्याउन खोजेका थिए ।
भूमिगत पार्टीको बलियो तथा कमजोर पक्षबारे लेनिन जानकार र अनुभवी थिए । यसकारण, स्तालिनको ठाउँमा त्रोत्स्कीलाई ल्याउने षड्यन्त्र असफल भयो र लेनिन आफैले पार्टी महासचिवमा स्तालिनको प्रस्ताव राखेका थिए ।
लेनिनको निधनपछि समाजवाद र सोभियत सङ्घको विरोधमा पार्टीभित्र घुसेका शत्रुहरूले साम्राज्यवादीहरूसँग मिलेर देश टुक्र्याउने षड्यन्त्रहरू गरे । विदेशीको इसारामा तिनीहरू सेना र जनता, धनी किसान र अन्य जनतामा मतभेद हुने गतिविधि गर्थे ।
ती षड्यन्त्रकारीहरूले पहिले स्तालिनको हत्या नगरी स्तालिनपछि पार्टी नेतृत्वमा आउने सम्भावित व्यक्तिलाई सिध्याउने योजना बनाए । त्यसबेला किरोभ लोकप्रिय युवा नेता थिए । उनकै अङ्गरक्षकहरूको सहयोगमा षड्यन्त्रकारीहरूले विदेशीहरूसँग मिली जर्मनीबाट हतियार ल्याई किरोभको हत्या गरे र त्यस हत्याको दोष स्तालिनमाथि लगाउने असफल प्रयत्न गरे ।
त्यस कुटिल राजनीतिलाई ध्वस्त पार्न विदेशमा रहेका आफ्ना सहयोगीहरूमार्फत ती देशद्रोहीहरू जर्मनीका गुप्तचर विभागबाट सञ्चालित र विदेश भ्रमण एवम् उपचारको नामबाट विदेश जाने, पैसा लिने र षड्यन्त्रकारीहरूको बैठकहरू बस्ने गरेको अपराध खुलस्त हुँदै गयो । तिनीहरूका राजधानी समेत जर्मन गुप्तचर विभागको हातमा थियो । पछि अदालतमा अपराधीहरूले आ–आफ्ना अपराध स्वीकार गरे ।
ती सबै घटना प्रमाणित भएपछि अदालतले तिनीहरूलाई ज्यान सजायको फैसला ग¥यो । त्यस अदालती कारबाहीमा संरा अमेरिकी राष्ट्रपति रूजवेल्ट सरकारका राजदूत उपस्थित थिए । ती अपराधीहरूले स्वेच्छाले सबै अपराध स्वीकार गरेको कुरा उनले अमेरिका फर्केर भनेका थिए ।
स्तालिनलाई समेत गलत औषधी दिई, अङ्गरक्षक टोलीहरू फेर्दै चिकित्सकलाई खबरै नदिई मारेको पछिल्ला मुद्दाहरूबाट थाहा भयो । ठूलो देशको ठूलो समस्या हुनु आश्चर्यको विषय भएन । बोल्शेविक पार्टीभित्र गुप्तचर विभाग, ठूल्ठूला योजना शाखा, परराष्ट्र मन्त्रालय आदि महत्वपूर्ण ठाउँहरूमा षड्यन्त्रकारीहरू घुस्दै गए । नयाँ–नयाँ नियम बनाएर पुराना इमानदार नेताहरूलाई पजनी गर्दै गए ।
अन्तमा, ख्रुश्चेभ गुटदेखि गोर्भाचोभसम्मले साम्राज्यवादीहरूसँग मिलेर पार्टी विघटन गराए, समाजवादको बाटो त्यागे र सोभियत सङ्घ नै १५–१६ टुक्रामा विभाजित भयो । गोर्भाचोभकी पत्नीका बाजेले स्तालिनको पालामा (दोस्रो विश्वयुद्धमा) जर्मनीसँग मिलेर देशलाई घात गरेको अपराधमा ज्यान सजाय पाएका थिए । त्यसैले टर्की जाँदा एक पत्रकारलाई उत्तर दिँदै गोर्भाचोभले भने, “मेरो जीवनको उद्देश्य नै पार्टी, समाजवाद र सोभियत सङ्घलाई विश्रृङ्खलित गर्ने थियो ।” विदेशीहरूको षड्यन्त्रबाट देश धुजा–धुजा भयो ।
विश्व कम्युनिस्ट आन्दोलनमा ‘उत्तराधिकारी’ को बन्दोवस्त थिएन र पार्टी भूमिगत भए पनि निर्वाचन हुन्थ्यो । सम्भवतः यसकारण चीनमा लिन प्याउको घटना भएको होला भनी ठूलै चर्चा भएको थियो ।
केही समाजवादी देशका राजदूतहरूलाई रूसका षड्यन्त्रकारीहरूले गरेको पजनीको विरोध गर्दै ती राजदूतहरूले आ–आफ्नो पार्टी नेतृत्वलाई रुसी नेताहरूसमक्ष षड्यन्त्रबारे जानकारी गराउन सूचना गरेको पढ्न पाइन्थ्यो ।
कहिलेकाहीँ पार्टी र शासनमा युवा र महिलाहरू हुनुपर्नेबारे पश्चिमी देशका गैरसरकारी संस्थाहरूले नेपालका राजनीतिक दलहरूलाई खूब फकाउँथे । त्यसैबेला केही पक्षले ‘अहिले संसारमा सबभन्दा युवा नेता क्यास्ट्रो हुन् । नेता उमेरले होइन, विचार र अनुभवले हुन्छ’ भन्थे ।
यस्ता केही षड्यन्त्र कम्युनिस्ट पार्टी र देशहरूमा मात्र हुन्छ भन्ने प्रचार गर्थे । तर, रामायण, महाभारतमै सत्ताको निम्ति भएका सङ्घर्षका अनेक कथाहरू छन् ।
राजा बिम्बिसारको छोरो अजातशत्रुले एक भिक्षुको मन्त्रणामा आफ्नै बुबाको हत्या गरी आफू सत्तामा पुगे ।
चाणक्यले कुटिल राजनीतिकै कारण चन्द्रगुप्तलाई आफ्नै बुबाको विरोधमा सत्तामा ल्याए ।
राणा र शाहहरूको इतिहासमा पनि सत्ताको निम्ति हत्या र हिंसा हुनु नौलो कुरो थिएन ।
यसकारण, राजतन्त्रमा होस् वा दास गणतन्त्रमा, सत्ताको निम्ति अनेक षड्यन्त्र र सङ्घर्षहरू हुन्थे ।
भनिन्छ – अमेरिकी उपराष्ट्रपतिका पत्नीले सधैँ एउटा न एउटा दुर्घटनामा राष्ट्रपति मरेको सपना देख्छिन् । साथै, अमेरिकामा धेरै राष्ट्रपतिको हत्या भएको इतिहास नै छ ।
भारतमा इन्दिरा गान्धीका छोराहरू बम काण्डमा बित्नु र हवाई दुर्घटनामा मर्नुमा राजनीतिक षड्यन्त्र भएको विश्लेषकहरू शङ्का गर्छन् ।
यसकारण, नेपालजस्तो खुला सीमा भएको देशमा युवा वा महिला नेतृत्वमा ल्याउने कुरा स्वाभाविक युगको माग हो वा कसैको नियोजित कार्य हो, विचारणीय विषय हो । युवा ल्याउने र परिवारकै नयाँ पुस्ता ल्याउनेबारेमा छलफल हुन्छ । तर, त्यो उपाय नै उचित हुने भए वा इन्दिरा गान्धीको ‘भारतीय काङ्ग्रेस पार्टी’ को नेतृत्व सबल भएको भए राम्रो र प्रभावशाली प्रतिपक्षको प्रदर्शन हुने थियो – भारतमा ।
यसकारण, नयाँ नेतृत्वमा युवा वा महिला उम्मेदवारभन्दा पनि योग्य, व्यावहारिक ज्ञान भएका र अनुभवी व्यक्ति भएमा दुर्घटना कम हुने देखिन्छ । नेपालजस्तो देशमा राजनीतिक नेता र कार्यकर्ता देश र जनताप्रति इमानदार एवम् प्रतिबद्ध नभएमा एउटा विशाल देश सोभियत सङ्घ जसरी टुक्रा–टुक्रा भयो, त्यसरी नै हाम्रो देश पनि टुक्रिनेछ । हाम्रै नेपाली दाजु–भाइहरू त्यसमा प्रयोग हुनेछन् ।
गम्भीर भएर सोचौँ ! एउटा नेपाली उखान सम्झौँ – ‘त्यान्द्रोलाई पनि सर्प सम्झनुपर्छ ।’ ‘जीउभरी आँखा हुनुपर्छ ।’ देश र जनताको निम्ति आफूहरू समर्पित हुनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *