भर्खरै :

प्रधानमन्त्रीलाई खुलापत्र

-कृतिका प्रजापति
चौथोपटक प्रधानमन्त्री हुनुभएका प्रधानमन्त्री शेरबहादुरज्यू,
न्यायप्रेमी र विकासप्रेमी जनताको तर्फबाट तपाईंलाई गुनासोसहित अभिवादन ! देश र जनताको लागि न्यायोचित काम गर्नुभएको भए तपाईंलाई हाम्रोतर्फबाट श्रद्धा, आदार र नमन हुने थियो तर मलाई लाग्छ, तपाईं त्यसको हकदार नै हुनुहुन्न ।
तपाईं यसको हकदार नहुनुका कारण के हुन् त ? किन तपाईंप्रति नेपाली जनता वाक्कदिक्क छन् । सरकार हुनु र नहुनुमा केही फरक भएन, हाम्रो देशमा । भ्रष्टाचार, महँगी, कालोबजारी र घेसखोरी र विदेशी पिछलग्गुकै कारण आज देशको स्थिति झन् झन् दयनीय बन्दै गएको छ ।
अस्ति म आफ्नो साथीहरूसँग भलाकुसारी गर्दै थिएँ । नेपाल टेलिभिजनद्वारा प्रसारित साझा सवाल कार्यक्रममा तपाईंकै अन्तरवार्ताबारे टिकाटिप्पणीहरू हुँदै थियो । एउटी साथीले भनिन् – ‘प्रधानमन्त्रीको अन्तरवार्ता त हेर्न लायकको थियो । प्रमको अन्तरवार्ता भन्दा पनि त्यो कार्यक्रम एउटा हास्यव्यङ्ग्य कार्यक्रम जस्तो पो छ । अर्कोले साथीले थपिन् – ‘म त त्यो अन्तरवार्ता हेरेर कति हाँसें । प्रधामन्त्रीको उत्तर दिने शैली देख्दा कसैले पनि उहाँ प्रम बन्न लायकको व्यक्ति नै भन्दैन । फेरि अर्को साथीले भनिन् – ‘कसरी भए होलान् है यस्ता मान्छे प्रधानमन्त्री । न विषयवस्तुमा जानकारी छ, न उत्तर दिने ढंग छ, प्रम भन्न लायकको न त केही विशेषता नै छ ।’
अर्को दिन म आफ्नो कार्यालय जाँदा त्यहाँ एउटा भाइ कम्प्युटर हेर्दै एक्लै यत्तिकै हाँस्दै थियो । के भएको होला यो भाईलाई भनी उसको सामुन्न जाँदा ऊ पनि प्रधानमन्त्रीकै भाषण दोहो¥याई–तेह¥याई हेरिरहेको थियो । भाईले भन्यो – ‘तपाईंले हेर्नुभयो हाम्रो प्रधानमन्त्रीको भाषण, यो भाषण त जति हेरे पनि पुग्दैन । अल्छी लाग्ने समयमा यो अन्तरवार्ता हेरेर हाँसिरहन्छु ।’

पद भने प्रधानमन्त्री तर पात्र भने हास्यव्यङ्ग्यको कलाकार जस्तो । अनि कसरी सम्भव हुन्छ नेपालको समृद्धिको यात्रा !

माथिको उदाहरण मैले यसकारण पनि दिन चाहें किनभने हाम्रो देशको प्रधानमन्त्रीमा कुनै गाम्भीर्यता देखिएन । माथिका टिप्पणीहरू सुन्दा तपाईं त प्रधानमन्त्री भन्दा पनि नेपालको एक हाँसोको पात्र मात्र बन्नुभएको छ कि जस्तो लाग्न थालेको छ । शेरबहादुर देउवाले यो–यो राम्रो कुरा गरेका छन् भन्ने कुरा आजसम्म सुन्न पाएकी छैन । उस्तै तपाईंकै पालामा देशको नदी–नाला भारतलाई बेचेको, राष्ट्रघाती सन्धी भएको, निर्दोष व्यक्तिलाई गलत महाअभियोग लगाइएको, भ्रष्टाचार र ठगहरूको बिगबिगी भएको आदि मात्र सुन्नमा आउँछ । सजिलो प्रश्नोत्तरको जवाफ त दिन नसक्ने प्रधानमन्त्री विदेशीको अगाडि कसरी प्रस्तुत भए होलान् भन्ने गम्भीर प्रश्न मनमा उठिरह्यो । पद भने प्रधानमन्त्री तर पात्र भने हास्यव्यङ्ग्यको कलाकार जस्तो । अनि कसरी सम्भव हुन्छ नेपालको समृद्धिको यात्रा !
प्रधानमन्त्रीज्यू, तपाईं त जनताको बहुमत पाएर प्रधानमन्त्री हुनुभएको व्यक्ति, आफू चाहिं दिनदहाडै हतियारधारी सशस्त्र प्रहरीको हुलसँगै चिल्लो गाडीमा हुइँकिने, अनि जनतालाई खाल्डाखुल्डी भएका अव्यवस्थित, असुरक्षित सडकमा हिंड्न बाध्य पार्ने ? तपाईं एकजनाको सुरक्षामा २ सय ६५ जनाभन्दा बढी प्रहरी परिचालित (नेपाल राष्ट्रिय साप्ताहिक, २५ असार २०७४) भएको समाचार पत्रिकामा आयो तर खोई जनतालाई दिएको सुरक्षा ? वर्षात्को पानीले राजधानीकै सडकमा एउटा स्कुलबाट फर्कंदै गरेकी बालिका नालामा डुबिन् र कतै सवारीसाधन । नालीले बगाएर राजधानीमै एउटी बालिकाले ज्यानसम्म गुमाउनुपर्यो । विचरी त्यो नानीले अनाहकमा आफ्नो ज्यान गुमाउनु पर्यो । आफ्नो देशको सडक सुरक्षित नभएर एउटी बालिकाले बाँच्न पाउने अधिकारबाट सदाको लागि बञ्चित भएकी छिन् । मानिसको मृत्यु हुँदासम्म उक्त घटनाको जिम्मेवारी कसैले लिएनन् । सरकार र सम्बन्धित निकाय यसको प्रमुख दोषी हो । यसमा पनि प्रधानमन्त्रीज्यूको ध्यान पुगोस् !
सडकभरि खाल्डाखुल्डी अनि त्यसमा जमेको बर्खाको पानीमा हिंड्ने, फोहरै–फोहर थुप्रिएको सडक, घण्टौंको जाममा यात्रा गर्ने जनताको जीवनचर्या जस्तै भइसकेको छ । काठमाडौं महानगरपालिकाका सडकहरू त यति अव्यवस्थित र भत्किएका छन् भने अनुमान गर्नुस् ती दुर्गम गाउँ पुग्ने बाटा कस्तो होलान् ? राजधानीजस्तो ठाउँमा हिंड्डुल गर्दा यति असहज र जोखिमपूर्ण हुन्छ भन्ने अनुमान गर्नुस्, ती भीरपाखामा बस गुडाउँदा के हालत भयो होला ?
यस्ता समस्या समाधानको लागि जनताले तपाईंलाई मतदान गरेको हुन् । आखिरमा तपाईं सरकारमा गएर के चाहिं गरिरहनुभएको छ । देशको मुटु राजधानीलाई व्यवस्थित गर्ने कहिले हो ? आफ्नो घोषणापत्रमा ‘स्मार्ट सिटी’ को कल्पना गर्ने, काम–कारबाही भने ‘झुर सिटी’ अनुसार चल्ने ? यो कुरा नेपाली जनतालाई हजम भएन प्रधानमन्त्रीज्यू ।
हाम्रोजस्तै सानोे र गरिब देशले विकास र समृद्धिमा कति प्रगति गरिसकेका छन् । विश्वमा नेपाललाई बुद्धको शान्तिभूमि, सगरमाथा भएको देश,कला–संस्कृतिको भण्डारकै रुपमा मात्र चिनाउने हो र ! नेपाली जनताले तपाईंलाई भविष्यमा सम्झनलायक केही काम त गरेर देखाउनुपर्यो नि, होइन र प्रधानमन्त्रीज्यू! यसमा सरकार र प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण होस् भन्ने चाहन्छु ।

एक जना नेपाली छोरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *