भर्खरै :

गगन थापाको प्रस्ताव–एक छलफल

शेरबहादुर देउवालाई दोस्रो पटक पार्टी सभापति चुनेर नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन सकिने क्रममा छ । काङ्ग्रेस महाधिवेशन मुख्यतः दुई कारणले चर्चामा रह्योः पहिलो, उद्घाटन समारोहमा शुभकामना दिन पुगेका राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको ‘नेताहरूलाई गाउँतिर आउँदा जनताले कुन चोर आएछ भन्छन्’ भन्ने अभिव्यक्ति र त्यो अभिव्यक्तिको एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूको प्रत्युत्तर । दोस्रो, नेतृत्व परिवर्तनको हल्लाखल्लादेखि अन्ततः पार्टी सभापतिमा देउवाकै निरन्तरतासम्मको चुनावी प्रक्रिया । नेकाको लागि तोकिएको अवधिमा महाधिवेशन हुनु पनि ठूलो उपलब्धि मानिन्छ । त्यसकारण महाधिवेशनको नाममा जे भयो, त्यत्तिमै सन्तुष्ट हुने काङ्ग्रेसीहरू पनि कम छैनन् । नेपालीमा एउटा भनाइ छ – बिहेको अलमलमा केटी माग्न बिस्र्यो । नेतृत्व छान्ने चुनावको चटारोमा काङ्ग्रेस महाधिवेशनमा कुनै पनि खालको वैचारिक छलफल भएको देखिएन । जब कि महाधिवेशन भनेको मुख्यतः वैचारिक मन्थनको थलो हुने गर्छ । त्यसकारण, नेकाकै नेताहरूले महाधिवेशनमा वैचारिक खडेरी लागेको सार्वजनिकरूपमा बोलेका छन् । काङ्ग्रेस महाधिवेशनमा कुनै बन्द बैठक भन्ने प्रक्रिया नै नहुने कुरा धेरैको लागि आश्चर्यको विषय बन्नसक्छ । महाधिवेशनमा न अघिल्लो कार्यसमितिले गरेका कामको समीक्षा भयो न त्यो कार्य समितिले आफ्ना उपलब्धि पेश गर्न नै आवश्यक ठान्यो । पत्रपत्रिकामा प्रकाशित हुने केही दर्जन लेखमै काङ्ग्रेसको वैचारिक छलफल सीमित रह्यो । अखबारमा त्यस्ता लेख लेख्नेहरूमध्ये पनि पार्टीका नेताहरू कम छन्, अधिकांश काङ्ग्रेसबाहिरका पत्रकार र स्तम्भकार अथवा पूर्वकाङ्ग्रेसहरू छन् ।
काङ्ग्रेसले चौधौँ महाधिवेशनमा नेतृत्व चुनेर त्यही नेतृत्वले लगत्तै नीति अधिवेशन गर्ने र त्यस अधिवेशनमा नेतृत्वले आगामी चार वर्षको लागि नीति–कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । तर, त्यो नीति अधिवेशनइतर ‘विचार समूह’ को संस्थापनसँगको मागमा मात्र सीमित हुनसक्ने सम्भावनालाई भने नकार्न सकिन्न । त्यसको अर्थ वैचारिक बहसलाई काङ्ग्रेसको पद्धतिमा कहीँ कतै ठाउँ छैन ।
यस्तो वैचारिक खडेरीको समयमा काङ्ग्रेस नेता गगन थापाले भने महाधिवेशनको पूर्वसन्ध्यामा नेपाल प्रज्ञा प्रतिष्ठानको खचाखच भरिएको प्रेक्षालयमा महामन्त्रीमा उम्मेदवारीका साथै आफ्नो राजनीतिक र वैचारिक प्रस्ताव सार्वजनिक गरे । पार्टी सभापति देउवाले गगनले जस्तै त्यस्तो कुनै दस्तावेज निकाल्न आवश्यक ठानेनन् । वैचारिक खडेरीको समयमा गगनको सो कार्यक्रम पानीको थोपा सिद्ध भयो । यद्यपि, उनको त्यो प्रस्तावबारे कुनै औपचारिक छलफल, बहस वा अन्तरक्रिया महाधिवेशनअन्तर्गत भएन । काङ्ग्रेसको महाधिवेशनमा त्यस्तो कुनै प्रक्रिया र पद्धति नै नहुने रहेछ ।
यो लेखको मूल उद्देश्य भने गगन थापाको सोही प्रस्तावबारे केही चर्चा गर्नु हो । राम्रो वक्ताको छवि बनाएका गगन थापाको प्रस्तावको भाषा पनि त्यत्तिकै सुन्दर र सलिल सरह छ । उनले आफ्नो प्रस्तावलाई चुनावी घोषणापत्र भनेका छैनन् । प्रस्ताव चुनावी घोषणापत्रजस्तो पनि छैन । प्रस्तावमा धेरै विषय समेटिएका छन् । काङ्ग्रेस रूपान्तरणदेखि देशको राजनीतिको समीक्षा हुँदै भूराजनीति र वातावरण संरक्षणसम्मका कुरा प्रस्तावमा प्रस्टरूपमा उठाइएको छ । गगनले सामाजिक लोकतन्त्रलाई आफ्नो प्रस्तावको मूल मुद्दा बनाएर त्यसको स्पष्ट व्याख्या गरेका छन् । ‘सामाजिक लोकतन्त्र उदार लोकतन्त्र र पुँजीवादी अर्थव्यवस्थाको विवेकपूर्ण सम्मिश्रणबाट बनेको सैद्धान्तिक अवधारणा हो’, प्रस्तावमा लेखिएको छ । अर्थात्, गगन आफू र नेका कुन वर्गको सेवा गर्न बनेको पार्टी हो भन्ने कुरामा प्रस्ट छन् । उनले यो कुरा लुकाएका छैनन् । कम्युनिस्ट साहित्यको प्रभाव र कम्युनिस्ट सिद्धान्तप्रतिको व्यापक जनसमर्थनको कारण कतिबेला नेका र अन्य कम्युनिस्टइत्तर राजनीतिक दलहरू आफू कुन वर्गको सेवामा बनेको पार्टी हो भन्ने कुरा बिर्सन्छन् र पुँजीवादी पार्टीभन्दा चित्त दुखाउँछन् । तर, नेका पुँजीवादी पार्टी भएकोमा गगन स्पष्ट छन् । यो वैचारिक स्पष्टता राम्रो कुरा हो । आफूलाई पुँजीवादी पार्टी भन्दै गर्दा गगन पुँजीवादी प्रजातन्त्रभित्र अहिले संसारभर मौलाइरहेको विकृतिबारे पनि सजग देखिएका छन् ।
प्रस्तावमा उनले लेखेका छन्, “उदार लोकतन्त्रले प्रदान गरेको स्वतन्त्रताको भरपुर उपयोग गरेर विभिन्न अतिवादी त्रास देखाउँदै, बहुसङ्ख्यक र अल्पसङ्ख्यक जनतालाई विभाजन गरेर, अतिवादी कोणबाट धर्म, जाति, भाषाका आधारमा मान्छेको ध्रुवीकरण गरेर, परिवर्तनको कारण आफ्नो भविष्यप्रति उद्विग्न मानिसको आदिम भावना र भयको चरम दुरूपयोग गर्दै उदारवादी निर्वाचन प्रणालीकै माध्यमबाट अनुदार पार्टी र जनउत्तेजक शासकहरू निर्वाचित भएर आउने र उदार लोकतन्त्रलाई नै कमजोर बनाउँदै सत्तामा आफ्नो उपस्थितिलाई झन्झन् सुदृढ गर्ने विश्वव्यापी प्रवृत्तिबाट हामी धेरै समय अछुतो रहन सम्भव छैन ।” उनको यो विश्लेषण विशेषतः संरा अमेरिकाको ट्रम्प सरकार, भारतको मोदी सरकार र टर्कीको इर्डोगन सरकारप्रति लक्षित देखिन्छ । उनले उदार लोकतन्त्रमा विचलन आए निराश जनताले ‘पपुलिस्ट’ दक्षिणपन्थी जनरञ्जन रोज्न सक्ने सम्भावनाबारे सजग बनाउन खोजेका छन् । भारतीय जनताले आज त्यही अवस्था भोगिरहेका छन् । संसारका विभिन्न देशमा चुनावबाट आएका यस्ता शासकहरूका उदाहरण प्रस्तुत गर्दै उनले आवधिक चुनाव नै मात्र लोकतन्त्रको आधार हुन नसक्ने लेखेका छन् ।
सामाजिक लोकतन्त्रको मूल लक्ष्य व्यक्तिलाई लोकतन्त्र र संविधानको पूर्ण उपभोग गर्न सक्ने सक्षम नागरिक बनाउनु र त्यस्ता नागरिक बनाउन राज्यले बिनाभेदभाव नागरिकलाई अवसर दिइने उनको विचार छ ।
समृद्धिको परिभाषा भौतिक निर्माण गर्नुमात्र होइन, बरू भौतिक निर्माण जनताको दिगो खुसीसँग जोडिनुपर्ने गगनले लेखेका छन् । त्यो दिगो खुसीलाई उनले वातावरण संरक्षणसँग जोडेका छन् । जलवायु परिवर्तनबारे विश्वव्यापी चिन्तालाई गगनले आफ्नो दस्तावेजमा समावेश गरेका छन् । उनले नेपाललाई अन्तर्राष्ट्रिय दबुमा समुन्नत बनाउने र नेपालीलाई सम्मानित गर्ने विचार अघि सारेका छन् ।
गगनका प्रस्ताव मूलतः दुई खण्डमा विभाजित छ । दोस्रो खण्ड नेकाभित्र सुधार र रूपान्तरणको विषयमा केन्द्रित छ । यो लेखमा भने हामी मुख्य प्रस्तावको पहिलो खण्डमा केन्द्रित रहनेछौँ । पहिलो खण्डमा गगनले विशेषतः देशको राजनीतिबारे समीक्षा गर्दै नेकाका दार्शनिक र राजनीतिक मान्यता र दर्शनबारे चर्चा गरेका छन् ।
गगनको प्रस्तावले नेकालाई उदार लोकतन्त्रवादी दलको रूपमा देखाउन खोजेको छ । उनी पुँजीवादभित्रको अनुदारताको पनि विपक्षमा छन् र वैज्ञानिक समाजवाद अर्थात् कम्युनिस्टहरूका सिद्धान्तबाट पनि अलग छन् । सामाजिक लोकतन्त्र नाम दिइएको त्यो व्यवस्थाको उदय युरोपमा भएको थियो । औद्योगिक क्रान्तिपछिको युरोपमा बढ्दो वर्गसङ्घर्षको उत्कर्षमा समाजलाई कुन दिशामा लाने बहसकै सिलसिलामा उदारवादी लोकतन्त्र अथवा सामाजिक लोकतन्त्रको चिन्तन विकास भएको थियो । सामाजिक लोकतन्त्र गगनले प्रस्ट भनेजस्तै पुँजीवादी व्यवस्था नै हो । अनुदार पँुजीवादभन्दा सामाजिक लोकतन्त्रले श्रमिक जनतालाई केही सहुलियतसम्म दिने गर्छ । तर, पँुजीवादले श्रमिक जनतामाथि गर्ने शोषण अथवा मानिसले मानिसमाथि गर्ने शोषणलाई सामाजिक लोकतन्त्रले निषेध गर्नसक्दैन । खासमा पुँजीवादी व्यवस्था शोषणमै आधारित व्यवस्था हो । शोषण नगरे पुँजीपति वर्गले नाफा कमाउन सक्दैन । नाफा नकमाए पुँजीवाद टिक्न सक्दैन । पुँजीवादको प्राणवायु नै नाफा हो । पुँजीपति वर्ग नाफामै जन्मन्छन् र नाफामा नै मर्छन् । यो वास्तविकता गगनजस्ता बौद्धिक नेताले नबुझ्ने कुरै भएन । तथापि उनी आफ्नो सुन्दर प्रस्तावमा कहीँ पनि वर्ग र वर्गसङ्घर्षको कुरा उठाउँदैनन् । उनी नेपाली समाजमा विद्यमान अन्य विभेदका कुरा उठाउँछन् । तर, शोषक र शोषित वर्गबीचको विभाजनबारे कुरा गर्दैनन् । काङ्ग्रेसका कतिपय मानिसलाई वर्ग र वर्गसङ्घर्षको कुरा गर्नु कम्युनिस्टको कामजस्तो पनि लाग्छ । तर, संसारमा कम्युनिस्टहरू जन्मनुअघि नै वर्ग र वर्गसङ्घर्षको सिद्धान्त प्रतिपादन भइसकेको थियो । त्यसकारण वर्ग र वर्गसङ्घर्षको कुरा कम्युनिस्टको वैचारिक सिर्जना होइन ।
यो कुरा गगनहरूलाई थाहा छ । तथापि, यो विषयमा उनीहरू किन बोल्न चाहँदैनन् ? किनभने वर्गको कुरा गर्दा पुँजीपति वर्गले श्रमिक वर्गमाथि गर्ने शोषण, नाफाको स्रोतका कुरा पनि गर्नुपर्ने हुन्छ । ती विषयको चर्चा गर्दा नेका कुन वर्गको सेवा गर्ने पार्टी हो भन्ने कुरा पनि बोल्नुपर्ने हुन्छ । जसले नेपालका किसान र श्रमिकबीचको आफ्नो जनाधार पनि भत्किने सम्भावनालाई उनीहरूले राम्ररी बुझेका छन् ।
गगनले व्यक्तिगत सम्पत्ति, व्यवसायको अधिकारजस्ता आर्थिक अधिकारलाई पुँजीवादी अर्थव्यवस्थाको आधारशिला भनेका छन् । तर, उनले फेरि पनि नाफाको कुरा गरेका छैनन् । मुनाफामा चल्ने पुँजीवादले शोषण जन्माउँछ र शोषणमूलक समाजमा सामाजिक न्यायको कुरा भ्रममात्र हो । आर्थिक समानताले मात्र सामाजिक न्याय जन्माउन सक्छ । शोषणले समाजमा गर्ने विभाजनको खाडल पुर्ने औजार गगनहरूसँग छैन ।
गगनले सामाजिक लोकतन्त्रको कुरा गर्दै गर्दा नेकाले २०४६ सालयता नेपाललाई नवउदारवादी दिशातिर उन्मुख गराइसकेको वास्तविकतालाई भुल्न सकिन्न । विश्व बैङ्कले तयार गरेका नेकाका अर्थमन्त्रीहरू नेपालमा नवउदारवादी नीतिका सुरूका प्रवर्तक हुन् । समयान्तरमा एमालेभित्र घुसेका विश्व पुँजीवादका विद्यार्थीहरूले यो क्रमलाई अझै सघन बनाए । आज नेपालमा विकास हुँदै गरेको पुँजीवाद उत्पादनमूलक पुँजीवाद होइन, बरू विश्व पुँजी बजारबाट झरेको फल टिपेर खाने दलाल पुँजीवाद हो । नेपालमा यस्तो नवउदारवादी आर्थिक व्यवस्था स्थापना गर्न नेकाले नै नेतृत्व गरेको छ । त्यसकारण, गगनको प्रस्तावमा उल्लेखित मीठा र आदर्शका कुरा पढ्दा उनी कोठाभित्र हिटर तापेर हिमालको विषयमा कविता लेख्दै गरेको अनुभव हुन्छ ।
चुनावी प्रणालीबारे उनले प्रस्तावमा धेरै कुरा लेखेका छन् । उनले ‘चुनावदेखि चुनावसम्म’, ‘चुनाव जित्नकै लागि बनेको पार्टी’ जस्ता चुनावबारे नेकामा झाङ्गिएको विकृतिबारे लेखेका छन् । उनले यसमा धेरै कुरा थप्न सक्थे । आजका हरेक तहका चुनाव र नेकाभित्रकै आन्तरिक चुनाव जित्न पनि पैसा, आश्वासन, पोर्क व्यारेलिङ, गेरिस्लान्डरिङ, गुण्डा, ठेक्कापट्टा, सामान वितरणजस्ता अनैतिक उपाय प्रयोग भएको यथार्थको साक्षी त गगनहरू नै हुन् । नेपाली राजनीतिमा यस्ता विकृतिका जरा कहाँ जोडिएको छ ? यस्ता विकृतिको सुरूवात कहाँबाट भयो भन्ने विषयमा धेरै कुरा हुनसक्छ । तर, यसलाई मलजल गरेर हुर्काउने काम नेका र गगनहरूले नै गरेका हुन् । यसको पनि समीक्षा वा आत्मालोचना हुनुपर्छ वा पर्दैन ? आत्मालोचना गरेर के आगामी दिनमा यस्ता विकृति नदोहो¥याउने प्रतिबद्धता गगनहरूले गर्न सक्छन् ? कदाचित उनले प्रतिबद्धता जनाएर व्यवहारमा लागु गरे गगनलाई चुनाव जित्न गा¥है पर्ला ।
गगनले प्रस्तावमा विशेषतः २०६२÷६३ सालयताको राजनीतिक घटनाक्रमयता समीक्षा गरेका छन् । उनको तर्कको सार २०६२÷६३ को जनआन्दोलनदेखि यता सबै राजनीतिक प्रक्रियाको नेतृत्व नेकाले गरेको हो, संविधान पनि नेकाकै नेतृत्वमा बन्यो, त्यसकारण अब संविधानअनुसार देशको नेतृत्व नेकाले गरेमात्र देश अघि बढ्छ । संविधान घोषणापछिको चुनावमा नेकाले हार्दा देशमा जनताले निराशा हुने अवस्था आयो । जनता आक्रोशित छन् । संविधानमाथि हमला भयो । तर, सत्य के हो भने २०६२÷६३ सालको जनआन्दोलनपछि पनि नेकाले पटक–पटक सरकारको नेतृत्व गरिसकेको छ । नेकाको सरकारहरू आजको अवस्थाको निम्ति दोषी होइनन् ? सबैतिरको विकृतिको जग बसाल्न नेका जिम्मेवार होइन र ? संविधान नयाँ हो । तर, राजनीतिका पात्रहरू त पुरानै हुन् ।
नेपाली समाज के जनआन्दोलनमा व्यक्त जनताको भावनाअनुसार चलेको छ ? गगनकै शब्दमा छैन । किनभने, चलेको भए उनकै शब्द आज जनता निराश र आक्रोश हुनुपर्ने थिएनन् । उनले प्रस्तावमा जनताको निराशाबारे राजेन्द्र लिङ्देनले भन्दा प्रस्ट शब्दमा पटक पटक बोलेका छन् । जनताको यो निराशाले अतिवादी शक्तिहरूले टाउको उठाउन थालेको र यस्तै बेला पपुलिस्ट नेतृत्वले नेपाली समाजलाई संविधानको धारभन्दा विपरीत अर्थात् ‘रिग्रेसन’ र ‘पपुलिज्म’ तिर डो¥याउन सक्ने लेखेका छन् । यो अवस्थाको निम्ति नेका दोषी हो वा होइन ? कदाचित नेका २०६२÷६३ मा मात्र स्थापना भएको र त्यसअघि कहिल्यै पनि सरकारमा नगएको दल हुँदो हो त गगनले भनेका कुरालाई विश्वास गर्न कर लाग्थ्यो । तर, २००७ साल पछि २०१७ सालसम्मको कुरा अहिले नगरौँ । २०४६ सालको जनआन्दोलनपछि नेकाको सत्तारोहण र त्यसअवधिमा भएका गतिविधिको समीक्षा गर्दा के वास्तवमै नेकाले नेपाली जनताको भावनाअनुरूप शासन चलाएको थियो ? देशका सम्पत्ति निजीकरणको नाममा कौडीको मोलमा बेच्दै असफल बनाएको कुरा वामपन्थीहरूको काङ्ग्रेसविरूद्ध प्रचारबाजी र गालीमात्र हो ?
२०७२ सालमा संविधान बनिसकेपछि बनेको ओली सरकारलाई सबै दोष थोपरेर काङ्ग्रेस साखुल्ले बन्ने छुट नेका र गगनजीहरूलाई पक्कै छैन किनभने लोकतन्त्रको एउटा महत्वपूर्ण हिस्सा प्रतिपक्ष खेमा पनि हो । लामो समय सत्तामा बसेकोले नेकासँग प्रतिपक्षको भूमिका खेल्ने अनुभव नहुँदा संसद् फितलोमात्र (प्रस्तावमा गगन आफैले स्वीकारेका छन्) भएन । बरू प्रमुख प्रतिपक्षले समेत सत्तामा भाग खोज्दा र विगतको भागबन्डाको गलत परम्परालाई निरन्तरता दिँदा संविधान र लोकतान्त्रिक परिपाटीकै मानमर्दन भयो । गगनजीले संसद्मा खेलेको भूमिका प्रभावकारी भएकोमा कुनै सन्देह छैन । तर, दलको रूपमा नेकाको भूमिका अर्को चुनावको कल्पना गर्दै टोलाउनेबाहेक के रह्यो र ?
इतिहासको वस्तुगत समीक्षाको नाममा विगतका आफ्ना कमजोरी छोपेर भविष्यको बाटो कोर्दा थप गल्ती हुनेछ । वैचारिक मन्थनको खडेरी भएको बेला गगनको प्रस्ट र सुन्दर भाषा शैलीमा आएको दस्तावेज कदरयोग्य हुँदा हुँदै पनि नेका जुन वर्गीय आधारमा उभिएको छ, उसले बारम्बार सरकार त चलाउला, धेरै जनालाई प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री त बनाउला । तर, खासमा देशमा जनताको भावनाअनुसारको आमूल परिवर्तन भने नेकाबाट सम्भव छैन । शोषणमा आधारित व्यवस्थाले नेपाली समाजमा विद्यमान विभेदको फोहोर कसरी फाल्छ ? सामाजिक न्यायको नाममा धनी र गरिब, शोषक र शोषितबीच एउटै फिताबाट कसरी न्याय दिन सकिन्छ ? शोषणमा आधारित समाजमा नेपाली जनता कसरी सम्मानित हुनेछन् ? नेका नै त्यो पार्टी हो जसले नेपाली युवाहरूलाई विदेशमा रोजगारीको नाममा निर्यात गरेको थियो । कुवेत, साउदी अरबमा नेपाली युवाहरूलाई सस्तो ज्यामी बनाएर नेपाली स्वाभिमानको अपमान किन गरियो भन्ने प्रश्नको उत्तर नदिँदासम्म कसरी गगनको सम्मानित नेपालीको नारालाई विश्वास गर्ने ?
तर, यति भन्दै गर्दा कम्तीमा गगनले छलफल र बहसमा आउने अग्रसरता लिनु भने कदरयोग्य छ । बहस र छलफललाई निषेध गरेपछि त्यो समाज र पार्टी यथास्थितिमै शिथिल बन्दै जान्छ । समाजसँग घनीभूत वैचारिक छलफलले कुनै पनि विचारलाई परिपक्व, परिमार्जित र जीवन्त बनाउँछ । नेकाका नेता हुनुको नाताले गगनले जवाफ दिनुपर्ने प्रश्न धेरै छन् । तर, कम्तीमा गगनले प्रश्नको सामना गर्ने हिम्मत गरे जो नेकाका देउवाजस्ता नेताहरूले गरिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *