भर्खरै :

वागीश्वरीमा बधाई तथा मार्गनिर्देशन

भक्तपुर, ६ पुस । वागीश्वरी माध्यमिक विद्यालयबाट विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा सङ्कायमा कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई मङ्गलबार बधाई एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवं वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले विश्वविद्यालय शिक्षाको प्रवेशद्वारमा पुगेका विद्यार्थीहरूले समाजको योगदानको निम्ति उद्देश्य, भावी योजना तय गर्न सकियो भने विषय छनोट गर्न सजिलो हुन्छ भन्नुभयो ।
आर्थिकरुपले सम्पन्न विद्यार्थीहरूले मात्र पढ्न पाउने नवउदारवादी शिक्षा नीतिबारे प्रस्ट पार्दै उहाँले हालै निर्वाचित चिलीका नवउदारवादविरोधी ३५ वर्षीय वामपन्थी नेता ग्राबिएल बोरिकजस्तै विद्यार्थीहरूले व्यक्ति, परिवार, समाज र देशको हितमा निर्णय गर्न सक्ने तहको रूपमा स्नातक तहलाई बुझ्न र संवेदनशील हुन उहाँले अनुरोध गर्नुभयो ।
एमसीसीबारे विश्वविद्यालय तहमा पुग्ने विद्यार्थीहरूले जानकारी राखिएन भने देशले पछुताउनुपर्ने बताउँदै उहाँले नेपालको संविधानभन्दा माथि हुने, नेपालमा योजना लागू गर्न भारतको अनुमति चाहिने, योजनामा विवाद भए अमेरिकी अदालतको निर्णय लागू हुनेजस्ता शर्तहरू भएको एमसीसी सम्झौता नेपाल र नेपाली जनताको हितमा नरहेको स्पष्ट पार्नुभयो ।
ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले प्राविधिक शिक्षाको महत्वबारे प्रस्ट पार्दै विद्यार्थीहरूले लक्ष्य लिएर अध्ययनलाई अगाडि बढाउन सकेको खण्डमा सफलता हासिल गर्न सकिने बताउनुभयो ।
गुणस्तरीय शिक्षा भक्तपुरको पहिचान भएको स्पष्ट पार्दै उहाँले शिक्षामा महिलाहरूको प्रस्तुति तथा उपस्थिति उत्कृष्ट र अनुकरणीय छ भन्नुभयो ।
अतिथि वागीश्वरी माविका +२ संयोजक ज्ञानसागर प्रजापतिले कागजमा पाएको योग्यतालाई व्यवहारमा उतार्न सकेनौँ भने योग्यता कागजको खोस्टा सावित हुने बताउनुभयो ।
अग्रजहरूको पौरख र स्वाभिमानले गौरव अनुभूति गराएको यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू पनि स्वाभिमानी हुनुपर्ने उहाँले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका सहायक प्रधानाध्यापकद्वय कृष्णप्रसाद कर्माचार्य, उकेश सुवाल, इन्चार्जहरू ग्याहेन्द्रप्रसाद दाहाल, भानुभक्त हुमागाई, निरु ताल्चाभडेलले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयबाट बीबीएसमा नेपाल प्रथम हुन सफल वागीश्वरी कलेजका विद्यार्थी बबिता ग्वाछालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *