भर्खरै :

क्युवाली क्रान्तिको ६३ वर्ष

शनिबार समाजवादी देश क्युवाका जनताले नयाँ वर्षको स्वागतसँगै ६३ औँ क्युवाली क्रान्ति दिवस मनाए । क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले नेतृत्व गरेका सशस्त्र विद्रोहीहरू सन् १९५९ को जनवरी १ को दिन क्युवाको राजधानी हवाना प्रवेश गरेका थिए । बाटिस्टाको तानाशाही र साम्राज्यवादको कठपुतली सरकार अपदस्थ गरी क्रान्तिकारी युग सुरूवात भएको त्यो दिनलाई नै क्युवाली क्रान्ति दिवसको रूपमा मनाइँदै आएको छ । भौगोलिक र जनसङ्ख्या दुवै कोणबाट सानो संरा अमेरिकाको नाकैमुनिको देश क्युवालाई समाजवादको रक्षा गर्न पक्कै सहज थिएन । अझै पनि साम्राज्यवादी शक्तिले क्युवामाथि थोपरेको अमानवीय नाकाबन्दी कायम नै छ । संयुक्त राष्ट्र सङ्घका अत्याधिक बहुमत सदस्यले नाकाबन्दीको विरोध गरे पनि क्युवामाथिको नाकाबन्दी अझ निर्मम बन्दै गएको छ । तर, भोक लाग्दैमा बाघले घाँस खाँदैन भनेजस्तै संरा अमेरिकी नेतृत्वको साम्राज्यवादी मोर्चाले थोपरेको कहरसामु क्युवाली समाजवाद र क्युवाली जनता कहिल्यै झुकेका छैनन् ।
यो वर्षको क्युवाली स्वतन्त्रता दिवसमा क्युवाका राष्ट्रपति तथा क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव मिगुएल डाएज कानलले क्युवाका विभिन्न वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रहरूको भ्रमण गरे । कोभिड–१९ महामारी र जलवायु सङ्कट सघन बन्दै गएको अवस्थामा उनको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ । सानो र विकासशील देश भएर पनि क्युवाले विज्ञान र प्रविधि क्षेत्रमा हासिल गरेको उपलब्धि संसारभर प्रशंसनीय छ । कोभिड–१९ महामारी प्रतिरोधको निम्ति संसारका अधिकांश देश विकसित देश र अन्तर्राष्ट्रिय सङ्गठनको भर पर्दा क्युवाली वैज्ञानिकहरूले आफ्नै बलबुत्तामा पाँच थरी खोपको विकास गरेका छन् । तीमध्ये तीन थरी खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको छ । नाकाबन्दीको कारण क्युवाले प्रशस्त मात्रामा खोप उत्पादन गर्न सकेको छैन । यदि संरा अमेरिकी नाकाबन्दी हट्ने हो र क्युवाले पुग्दो परिमाणमा कच्चा पदार्थ पाउने हो भने क्युवाले कम्तीमा ल्याटिन अमेरिका र अफ्रिकी देशहरूको लागि खोप दिन सक्ने थियो । तर, साम्राज्यवादको अमानवीय चरित्रको कारण महामारीको समयमा क्युवाविरूद्धको नाकाबन्दी खुकुलो बनाइएन, बरू अझ कडाइ गरियो ।
इटालीमा कोभिडको महामारी डढेलोसरि फैलिएको समयमा क्युवाली हेनरी रिभ अन्तर्राष्ट्रिय चिकित्सक बिग्रेडका चिकित्सकहरू गएर इटालीका जनताको सेवा गरेका थिए । युरोप, अफ्रिका, ल्याटिन अमेरिकाका धेरै देशमा ब्रिगेडका चिकित्सक पुगेर महामारी नियन्त्रणमा सहयोग गरेका थिए । कोभिड–१९ विरूद्ध विश्वव्यापी अभियानमा क्युवाले उल्लेखनीय योगदान गरेको छ ।
सिङ्गो विश्व र मानव जातिको हितमा क्युवाले यसरी व्यापक योगदान गर्न सक्नुको एउटै कारण क्युवाली समाजवाद र क्रान्ति नै हो । साम्राज्यवादले हजार उपाय लगाएर समाजवादको फूल उखेल्न खोजे पनि क्युवाली समाजवाद ओइलाएको छैन । क्युवाली समाजवाद आज पनि संसारका साम्राज्यवादविरोधी जनताको लागि उदाहरण र आदर्श बनेको छ । साम्राज्यवाद सैनिक र आर्थिक रूपमा जतिसुकै शक्तिशाली भए पनि क्रान्तिकारी जनताको भावना र विचारसामू पराजित हुने उदाहरण हो क्युवाली समाजवाद ।
साम्राज्यवादले थोपरेको नाकाबन्दीबीच क्युवाली समाजवाद युवा, जुझारू र परिपक्व नेतृत्वका साथ अघि बढिरहेको छ । क्यास्ट्रो दाजुभाइले नेतृत्व त्यागेपछि क्युवाली समाजवाद पनि समाप्त हुने पुँजीपति वर्गको पूर्वानुमान आज मिगुएल डाएजको नेतृत्वले विफल बनाएको छ । समाजवादी सङ्घर्षले हुर्काएको पुस्ताले क्युवाली समाजवादलाई अझ समृद्ध र व्यापक बनाउँदै लगेको छ । क्युवाली क्रान्तिको अदम्य साहसबाट नेपाली क्रान्तिकारीहरूले पनि सिक्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *